२८ असार २०८३, आइतबार
रवि-बालेन एकता

रास्वपामा बालेनलाई दोस्रो वरीयता, अहिलेसम्म पदाधिकारीमा छैन कसैको दाबी

पुस १३, २०८२
काठमाडौं
रास्वपामा बालेनलाई दोस्रो वरीयता, अहिलेसम्म पदाधिकारीमा छैन कसैको दाबी

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह 'बालेन'लाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दोस्रो वरीयताको नेता बनाउने भएको छ।

बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।

सहमतिको बुँदा नम्बर ४ मा रास्वपा सभापति रवि लामिछाने रहने र २१ फागुनको प्रतिनिधिसभा निर्वाचनपश्चात बालेन शाहलाई संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ।

यो सहमतिपश्चात बालेन रास्वपामा समाहित हुँदैछन् । बालेन र उनको समूहलाई पार्टीमा जोड्न अहोरात्र मेहनत गरेको रास्वपा स्रोतका अनुसार अब बस्ने पार्टी केन्द्रीय समिति बैठकले बालेन र रास्वपाबीच भएको सहमति अनुमोदन गर्नेछ। उनलाई केन्द्रीय सदस्यको रूपमा औपचारिक रूपमा पार्टीमा प्रवेश गराउने छ।

यति भनिरहँदा पार्टीमा बालेनको पोजिसन के हुन्छ भन्ने प्रश्न स्वभाविक छ। उक्त स्रोतका अनुसार बालेनलाई रास्वपाले दोस्रो वरीयताको नेताको दर्जा दिने तयारी भएको छ।

दोस्रो वरीयता भनेपछि उपसभापति बनाउने हो ? भन्ने प्रश्नमा भने स्रोतले कुनै पनि पद नदिइने बतायो। बालेनलाई सभापतिपश्चात दोस्रो वरीयताको वरिष्ठ नेता मान्ने तयारी रास्वपाको छ।

बालेन आफैंले पनि यो वा त्यो पद तथा वरीयताको कुरा नगरेको स्रोतले बतायो । बालेनले आफू केन्द्रीय सदस्य मात्र बस्न तयार भएको भनेर शनिबार रातिको छलफलमा पनि प्रस्ट बताएको छलफल र सहमतिमा सहभागी स्रोतले जानकारी दियो ।

‘उहाँले पार्टीको केन्द्रीय सदस्य मात्रै बस्ने बताउनुभएको छ। तर, हाम्रो हिसाबले पार्टीले यो सम्झौता पहिला अनुमोदन गर्नुपर्छ र अनुमोदनसँगै उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुपर्छ,’ स्रोतले भन्यो, ‘वरीयताका हिसाबले उहाँलाई दोस्रो स्थानमा राख्ने प्रस्ताव छ। यो कुनै औपचारिक पद (सभापति, उपसभापति आदि) होइन, सम्मानका आधारमा हुने व्यवस्था हो; भावी संसदीय दलको नेता र प्रधानमन्त्रीको रूपमा।’

हाल पार्टी वरीयतामा डोलप्रसाद अर्याल दोस्रो र डा. स्वर्णिम वाग्ले तेस्रोमा छन्। अर्याल र वाग्ले पद एक तह घट्दै तेस्रो र चौथो वरीयतामा आउने भएका छन् । जसमा अर्याल र वाग्ले पनि सहमत रहेको स्रोतको दाबी छ।

‘यो सबै आन्तरिक सहमतिका कुरा हुन्, उहाँ (बालेन)हरूले माग गरेको होइन। हामीले दायित्व ठानेर अघि सारेको प्रस्ताव हो,’ स्रोतले भन्यो।

रास्वपाले बालेन समूहबाट आउने अन्य व्यक्तिहरूलाई केन्द्रीय समिति र पदाधिकारी पदमा मनोनीत गर्नेगरी तयारी गरेको छ। सहमहामन्त्री, सह–प्रवक्तालगायत अन्य पदहरू खाली नै छन् । ती पदहरूमा बालेनको टीमबाट आउनेलाई अवसर दिने तयारी पार्टीले गरेको ती नेता बताउँछन्।

‘उहाँको टीमबाट पदाधिकारीमा कोही नआउने बुझाइ छ। कुमार (बेन)जीहरू त नआउने भनिएको छ, अरू आए भने पछि थाहा होला,’ स्रोतले थप्यो ।

सहमतिको पाँच नम्बर बुँदामा पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समायोजन गर्ने र जिम्मेवारी दिँदा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख छ।

यसरी जुट्यो सहमति

बालेन र रवि समूहबीच आइतबार बिहान भएको सहमतिमा २३ र २४ भदौको जेनजी विद्रोहको अपनत्व लिने उल्लेख छ।

साथै, सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अबको दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने उल्लेख छ।

यसबाहेक सहमतिअनुसार बालेन राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै नीलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा नीलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी' मा समाहित हुने उल्लेख छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न 'घण्टी' मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने,’ सहमतिमा लेखिएको छ।

यो सहमतिमा हस्ताक्षर गर्ने गरी शुक्रबार नै दिनभर वार्ता तथा संवाद भए। तर, बालेन समूहले कुलमान घिसिङ उनको पार्टी उज्यालो नेपाल र समूहलाई साथमा लिएर अघि बढ्नुपर्ने मत राखेपश्चात् सहमति हुन सकेको थिएन।

‘अस्तिको दिन सबै कुरा पूर्ण रूपमा बिग्रिएको अवस्था थिएन। त्यो दिन हामी सहमतिको खाकामै काम गरिरहेका थियौँ। त्यस क्रममा अब कस-कसलाई लिएर अगाडि बढ्ने भन्ने विषय आयो,’ स्रोत भन्छ, ‘त्यही सहमतिको खाकामै तीनजना उपसभापतिको अवधारणा पनि निस्कियो । अहिले भएका दुईजना र थप एक जना सम्भावित उपसभापति।’

बैठकमा सहभागी रास्वपा स्रोतका अनुसार अर्को उपसभापति कसलाई बनाउने भन्ने विषयमा कुलमानको नाम आएको थियो ।

‘बालेनको टोली र रास्वपाको टोली बस्दा कुलमानजीलाई व्यक्तिका रूपमा लिएर सहमति गर्ने कि उहाँसँग जोडिएको 'उज्यालो पार्टीलाई पनि समेट्ने भन्ने स्पष्टता थिएन। न त कुलमानजीका प्रतिनिधि थिए, न उज्यालो पार्टीका। यस्तो अवस्थामा दुई पक्ष मात्रै बसेर सहमतिको पत्र बनाउनु तर्कसंगत देखिँदैन भन्ने हाम्रो धारणा थियो,’ स्रोत भन्छ।

शुक्रबार नै रास्वापा र बालेन दुई पक्षका कुरा टुंगिइसकेका थिए। तर, बालेन समूहले कुलमानलाई पनि सँगै लिएर जानुपर्छ भनेपश्चात् रास्वपा स्रोतले भनेको थियो, ‘हामीले पहिले दुई पक्ष बसेर कुरा टुंग्याऔँ, त्यसपछि फेरि उहाँसँग बसौँ, भोलि नै भए पनि बसौँ भन्ने प्रस्ताव गरेका थियौँ। तर उहाँहरू चाहिँ कुलमानजीलाई सँगै ल्याउनुपर्छ भन्नेमा अडिग रहनुभयो।’

त्यसपछि बालेको टीम कुलमानसँग संवादमा लाग्यो । बालेन समूहले कुलमानसँग संवाद गर्ने र मिलेपश्चात् रास्वपासँग बस्ने भनेपश्चात् शनिबार दिनभर संवाद हुन सकेन। बालेन-कुलमान समूह दिनभर बसेर सहमतिको प्रयास गरे।

‘एक्कासि साँझ अब सहमतिको ड्राफ्टमा काम गरौं भन्ने कुरा आएपश्चात् त्यसतर्फ रास्वपा लाग्यो,’ स्रोतले भन्यो।

शनिबार राति र आइतबार बिहानसम्म भएको भेटमा विषय नै कुलमानलाई के गर्ने भन्नेबाट शुरू भएको थियो।

‘कुलमानजीलाई ल्याउनैपर्छ भन्नेमा सहमति भएपछि उहाँलाई समेटेर उपसभापतिहरू सहित संयुक्त बैठक राख्ने कुरा भयो। सबै शीर्ष नेताहरू एकैचोटि बसेर टुंग्याऔं भन्ने प्रस्ताव आयो र त्यसअनुसार उपसभापतिहरू बोलाइए,’ स्रोतले भन्यो, ‘तर, त्यस क्रममा कुलमानजीसँग सम्पर्क हुन सकेन।’

अनि मात्र अब कुलमानलाई नकुरौं भन्दै दुबै पक्ष सहमतिमा हस्ताक्षर गर्न र संवाद गर्न राजी भएको स्रोतले बतायो ।

यद्यपि, कुलमानसँगको संवाद जारी नै रहेको रास्वपा स्रोत बताउँछ । 'उहाँसँग पनि हामी संवादमै छौं,' रास्वपाका एक प्रभावशाली नेताले लोकान्तरसँग भने, 'उहाँ हामीसँगै जोडिने सम्भावना बाँकी नै छ ।'

salt training

कमेन्ट गर्नुहोस्