
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल पनि आउने भएको छ । ट्रफी जनवरीको पहिलो साता नै नेपाल टुरमा ल्याइने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
क्यानका अनुसार, टी–२० विश्वकपको ट्रफी जनवरी ५ देखि ७ (पुस २१ देखि २३ गतेसम्म) तारिखसम्म नेपाल टुरमा ल्याइने छ ।
टी–२० विश्वकपको १० औं संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
२० टोलीको सहभागिता रहने उक्त विश्वकपमा नेपालले पनि भाग लिँदैछ । नेपाल उक्त विश्वकपको समूह ‘सी’ मा परेको छ ।
नेपालको समूहमा बंगलादेश, इङ्ल्यान्ड र वेस्ट इन्डिज गरी तीनवटा टेस्ट राष्ट्र छन् । त्यसमध्ये इङ्ल्यान्ड र वेस्ट इन्डिजले हालसम्म दुई–दुईपटक टी–२० विश्वकप जितिसकेका छन् ।
इटाली पनि नेपालकै समूहमा परेको छ । टी–२० विश्वकपमा नेपालको यो समग्रमा तेस्रो र लगातार दोस्रो सहभागिता हुनेछ ।