०८ साउन २०८३, शुक्रबार
कांग्रेसमा महाधिवेशनको किचलो

कांग्रेस संस्थापन भन्छ– विशेष होइन, चुनावपछि वडाबाटै अधिवेशन हुन्छ'

पुस १६, २०८२
काठमाडौं
कांग्रेस संस्थापन भन्छ– विशेष होइन, चुनावपछि वडाबाटै अधिवेशन हुन्छ'

नेपाली कांग्रेसको संस्थापन पक्षले २१ फागुनको निर्वाचनपश्चात मात्र पार्टी महाधिवेशन हुने स्पष्ट पारेको छ । 

पार्टी प्रवक्ता प्रकाशशरण महतले लोकान्तरसँग कुरा गर्दै चुनावअघि कुनै पनि हालतमा पार्टीको १५ औं महाधिवेशन नहुने बताए ।

उनले शुरूआतमै असम्भव कार्यतालिका ल्याएको भन्दै क्रियाशील सदस्यता नटुँगिँदै कसरी महाधिवेशन हुन्छ भनेर प्रश्न गरे ।

‘तालिका नै सम्भव नहुनेगरी आएको थियो, अनि कसरी आज वडा अधिवेशन हुन्छ त?,’ महतले भने । 

कहिले हुन्छ त महाधिवेशन भन्ने प्रश्नमा उनले थपे- ‘आमनिर्वाचनपश्चात मात्र वडादेखि अधिवेशन हुन्छ ।’

उनले पार्टी निरन्तर क्रियाशील सदस्यता टुंगो लगाउने दिशामा अघि बढ्ने पनि बताए ।

नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्ने तयारीमा महामन्त्रीहरू जुटेका छन् नि ? भन्ने प्रश्नमा उनले विशेष महाधिवेशन हुनै नसक्ने बताए ।

‘कताबाट विशेष भनेको? आमनिर्वाचनमा जाने कि विशेष अधिवेशन लडेर बस्ने ?,’ महतको थप प्रश्न थियो, ‘अव्यावहारिक कुरा हुन्छ? पार्टी चल्छ?’

उनले निर्वाचनको तयारीमा जुट्दा विशेष महाधिवेशन भनेर केन्द्रमा को आउने भन्दै थप प्रतिप्रश्न गरे । 

त्यसो त मंगलबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले पनि विशेष महाधिवेशन नहुने बताएका थिए ।

उनले निर्वाचनअघि महाधिवेशन हुँदा पार्टी समस्यामा पर्ने, तल्लो तहसम्म फ्र्याक्सन हुने र त्यसको असर निर्वाचनमा पर्ने भन्दै तत्काल महाधिवेशन नहुने स्पष्ट पारेका थिए । 

यता, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशन बोलाउने तयारीमा छन् । थापाले आज सामाजिक सञ्जालमा लेख्दै विशेष महाधिवेशनको बाटोमा पार्टी अघि बढेको बताएका छन् । 

‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौं । सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ महामन्त्री थापाले भने ।

पार्टीको १५ मंसिरमा सम्पन्न केन्द्रीय समिति बैठकले पुस १६ मा वडा अधिवेशन र पुस २६ देखि २८ सम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि ११ पुससम्म क्रियाशीलका सम्पूर्ण काम सम्पन्न गर्ने तयारी कांग्रेसको थियो । २३ र २४ भदौको जेनजी आन्दोलनपश्चात एक महिना लामो केन्द्रीय समिति बैठक गरेर सहमति गर्दै उक्त महाधिवेशन कार्यतालिका बनाइएको थियो । तर, महाधिवेशन कार्यतालिका अनुसार पार्टी अघि बढ्न नसकेपश्चात विशेष महाधिवेशन गर्नुपर्ने माग उठेको हो । 

लामो समय विवादमा फसेको कार्यसमिति बैठककै बीचमा विशेष महाधिवेशन गरौं भन्दै पार्टी विधानबमोजिम २ हजार ८४४ जनाले हस्ताक्षर बुझाएका थिए । गुरू घिमिरे, देवराज चालिसे लगायत नेताहरूको अग्रसरतामा विशेष महाधिवेशन पक्षधरले जुटाएको हस्ताक्षर केन्द्रीय पार्टी कार्यालयमा असोज अन्तिममा बुझाइएको थियो ।

हस्ताक्षर अभियन्ता देवराज चालिसे पनि विशेष महाधिवेशन गर्नैपर्ने बाध्यतामा पार्टी पुगेको बताउँछन् ।

यसले पार्टीमा फुट निम्त्याउँदैन ? भन्ने प्रश्नमा चालिसे भन्छन्- ‘विधान मान्दा पार्टी विभाजन हुने हो कि विधानविपरीत जाँदा पार्टी विभाजन हुने हो ?’

उनले केही दिनभित्रै महामन्त्रीद्वयको हस्ताक्षरमा पत्र जाने र विशेष महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूलाई भाग लिन आह्वान गरिने जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्