
गौशाला प्रहरीले अहिले एउटा अनौठो अपराधको अनुसन्धान गरिरहेको छ । गत मंसिर २० गते पक्राउ परेका एक युवकको धन्दाबारे विस्तृत रहस्य खोतल्न प्रहरी लागिपरेको हो ।
दोलखाको मेलुङ गाउँपालिका– १ पवटी घर भई हाल बूढानीलकण्ठ नगरपालिका– ६ कपन बस्दै आएका ३९ वर्षीय आकाश भनिने कुलबहादुर कार्कीले काठमाडौंका होटलदेखि व्यक्तिका निजी घरसम्म युवती ‘सप्लाइ’ गर्ने गरेको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यो धन्दामा कार्की मात्रै एक्लै नभएको निष्कर्ष निकाल्दै प्रहरीले अरू समूहको खोजी शुरू गरेको छ ।
कार्कीको मोबाइल खोतल्दा विभिन्न उमेर समूहका ५० जना युवतीको फोटो फेला परेका छन् ।
आवश्यकताका आधारमा कार्कीले ती युवतीहरूलाई ग्राहकसम्म आफ्नै कार चढाएर पुर्याउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
कार्कीले युवतीलाई ग्राहकसम्म पुर्याइदिएबापत ३० देखि ४० हजार रुपैयाँसम्म असुली गर्दै आएका थिए । रकम ग्राहकबाट बुझेपछि उनैले कमिसन आफू राखेर बाँकी रकम सम्बन्धित युवतीलाई दिँदै आएका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कार्कीलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।
‘सरस्वतीनगरबाट पक्राउ परेका कार्कीले ह्वाट्सएपमा ग्राहकलाई युवतीको फोटो पठाउने र ग्राहक इच्छुक (रकम र युवतीप्रति) भएपछि आफ्नै कारमा चढाएर होटल वा व्यक्तिका घरसम्मै पुर्याइदिने गरेको देखियो,’ एसपी भट्टराईले लोकान्तरसँग भने, ‘कार्की विगत लामो समयदेखि नै यो धन्दामा रहेको देखिन्छ ।’
प्रहरीले कार्कीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
काठमाडौंमा ‘कल गर्ल’ को धन्दा अहिले पनि गोप्य रूपमा हुँदै आए पनि पुरुषले युवती उपलब्ध गराउन ग्राहकसँग मोलमोलाइ गर्ने गरेको यो नौलो धन्दा देखिन्छ ।
कार्कीले गौशाला, गोंगबु, ठमेल र सिनामंगल छेउछाउका होटलमा युवती सप्लाइ गर्दै आएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
प्रहरी अनुसन्धानमा कार्की आफैंले होटलका कामदारसँग ‘ग्राहकलाई राम्री युवती चाहिए सम्पर्क गर्नुहोला’ भन्दै सम्पर्क गर्दै आएका थिए ।
युवती खोज्ने ग्राहकलाई कार्कीले युवतीसँग कुराकानी समेत गराउँदै आएका थिए । कार्कीले अधिकांश युवती आफ्नै कार चढाएर होटल पुर्याए पनि केहीलाई भने ट्याक्सीमार्फत पठाउँदै आएका थिए ।
कार्कीको मोबाइलमा दर्जन बढी ट्याक्सी चालकका फोन नम्बर समेत भेटिएका छन् ।
कार्की मात्रै होइन, यस्तै शैलीमा धन्दा चलाउने अरू व्यक्ति पनि रहेको सूचना प्रहरीले प्राप्त गरेको छ ।
एसपी भट्टराईका अनुसार कार्कीविरुद्ध हालसम्म दुईवटा मात्रै उजुरी परेका छन् । दुई युवतीले दिएको उजुरीमा कार्कीले आफूलाई जबर्जस्ती यौन धन्दामा लगाएको उल्लेख गरेका छन् ।
प्रहरीले उजुरी दिने दुई युवतीलाई ‘रेस्क्यू’ गरेपछि मात्रै कार्कीको भूमिका खुलेको थियो ।
काठमाडौं महानरपालिका– १९ विजयचोकमा कार्की गत मंसिर १९ मा युवतीलाई ग्राहक भेटाएर फर्किएका थिए । तिनै युवतीहरूले आफ्नो इच्छाविपरित यौन धन्दामा लगाएको भन्दै पछि प्रहरीमा उजुरी दिएका थिए ।
कपनमा फ्ल्याट लिएर बस्थे कार्की
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार कार्की कपनमा फ्ल्याट लिएर बस्दै आएका थिए ।
उनले त्यही फ्ल्याटबाट होटलका कर्मचारी र ग्राहकसँग कुरा गरेर युवती सप्लाइको काम गर्दै आएका थिए ।
‘ग्राहकलाई युवतीको फोटो देखाएर गरेको च्याट लिंक नै हामीले फेला पारेका छौँ,’ एसपी भट्टराईले भने, ‘ग्राहकसँग कुरा मिलेपछि कार्की आफैँ युवती लिन पुग्थे ।’
कार्कीले युवती ओसार्न प्रयोग गरेको कार पनि प्रहरीले बरामद गरेको छ ।
ग्राहकसँग यौनसम्बन्ध कायम गरेपछि युवतीलाई कार्की आफैंले पैसा पठाउँथे । ग्राहकबाट भने उनैले क्युआरमार्फत पैसा बुझ्ने गरेको खुलेको छ ।