
सूर्य नेपाल गल्फ टुर २०२५–२६ को पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार साबिक विजेता एमेच्योर राहुल विश्वकर्मा पाँच स्ट्रोकको अग्रता बनाएका छन् । उनी शीर्ष स्थानमा आसीन छन् ।
राहुलले प्रोफेसनल गल्फर जयराम श्रेष्ठलाई पाँच स्ट्रोकले पछि पारेका हुन् । राहुलले बुधबार एक ओभर ७३ को स्कोर बनाए । उनले समग्रमा १० अन्डर दुई सय ६ स्कोर बनाएका छन् ।
जयरामले तेस्रो दिन चार अन्डर ६८ को स्कोर निकाले । उनले समग्रमा पाँच अन्डर दुई सय ११ स्कोर बनाएका छन् । उनी दोस्रो स्थानमा उक्लन सफल भए । भुवनकुमार रोक्काले चार ओभर ७६ मा तेस्रो दिनको खेल टुंग्याए । उनी समग्रमा इभन पार ७२ सहित तेस्रो स्थानमा झरे ।
समग्रमा दुई ओभर दुई सय १८ स्कोरसहित तोरणविक्रम शाही, शुक्रबहादुर राई र दिनेश प्रजापति संयुक्त रूपमा चौथो स्थानमा छन् । तोरणले दिनकै उत्कृष्ट ६ अन्डर ६६ को कार्ड बनाए । यो स्कोरमा तोरण १० स्थान माथि उक्लिएका हुन् ।
शुक्र र दिनेशले इभन पार ७२ मा तेस्रो दिनको खेल पूरा गरे । नेपाल नम्बर एक प्रो खेलाडी निरज तामाङ, भुवन नगरकोटी र एमेच्योर गल्फर रुबेन थापा संयुक्त रूपमा सातौं स्थानमा छन् ।
प्रतियोगिताको कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ । उपाधि विजेताले एक लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उप–विजेताले एक लाख २५ हजार रुपैयाँ, तेस्रो हुनेले एक लाख रुपैयाँ, चौथोले ८२ हजार रुपैयाँ र पाँचौं हुने खेलाडीले ७२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । कट बनाउने शीर्ष १८ खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् ।