
देविका बन्दना संगीत क्षेत्रमा लामो उडान भरिसकेकी गायिका हुन् । उनले कयौँ नेपाली र हिन्दी ‘सुपरहिट’ गीतमा आवाज भरिसकेकी छन् ।
तर, केही वर्षअघि उनले जीवनको कठिन बाटोमा यात्रा गर्नुपर्यो र उनले सफलतापूर्वक त्यो कठिनाइ पार गरिन् । तीन दशकभन्दा बढी समय गायनमा चर्चित देविका साहस, आत्मबल र सकारात्मक सोचले क्यान्सरजस्तो गम्भीर रोगलाई जितेर प्रेरणाको प्रतीक बनेकी छन् ।
कोरोना महामारीको बेला प्राणघातक क्यान्सरसँग जुधेर अस्पतालमा किमोथेरापी चलिरहँदासमेत उनले ११ वटा सुमधुर गीत रेकर्ड गरिन् । किमोथेरापी चलिरहेका बेला गीत रेकर्ड गर्ने आफू पहिलो गायिका रहेको बन्दना दाबी गर्छिन् ।
‘सायद वर्ल्डमा नै छैन होला, क्यान्सर बिरामीले अस्पतालबाटै रेकर्डिङ गरेको,’ देविका भन्छिन्, ‘सुरुमा क्यान्सर भएको पुष्टि भएपछि अब मर्छु कि भन्ने लाग्थ्यो, पछि अधुरा सपना सम्झिएर साहस बढाएँ । साहस र आत्मबल बलियो बनाए जस्तोसुकै रोगलाई जितिन्छ भन्ने लाग्यो । त्यही मनोबलले गर्दा अस्पतालमै रहेको अवस्थामा गीत रेकर्ड गराएँ ।’
स्तन क्यान्सर जितेर आफूले नाफाको जीवन पाएको बताउने देविकाले हालै क्यान्सर पीडितलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यसहित ‘देविका फाउन्डेसन’ स्थापना गरेकी छन् । आफ्नो संगीतकर्म, म्युजिक साँझ र क्यान्सर भएर उपचार अभाव भएकालाई सक्दो आर्थिक सहयोग र पीडितमा सचेतना जगाउने अभियानमा लागेको उनी बताउँछिन् ।
केही वर्षअघिसम्म ‘एकछत्र’ गीत गाइरहेकी उनी कोरोना कालको पहिलो लकडाउनमा बुटवलमा थिइन् । उनलाई हल्का ‘ब्रेस्ट’ दुख्न थाल्यो । उनले त्यसलाई सामान्य रूपमा लिइन् । दुखाइ कम गर्न ‘एन्टिबायोटिक’ खाएर सञ्चो भएको महसुस गर्थिन् । त्यही बेला उनलाई काठमाडौंबाट एकल साँझमा गायनको लागि अफर आयो । उनलाई श्रीमान् महेशमान सिंहले ‘एन्टिबायोटिक खाएर मात्र हुँदैन, अस्पतालमा अलि राम्रोसँग चेकजाँच गर्नुपर्छ’ भनिरहन्थे । उनलाई दाइ रमेशमान सिंहले यस्तो समस्यालाई सामान्य रूपमा नलिनू भनेपछि उनले मेमोग्राम गरिन् । जब रिपोर्ट आयो, उनी छाँगाबाट खसेजस्तै भइन् । ‘क्यान्सर ! सुन्दा पनि डरलाग्दो शब्द,’ देविका भन्छिन्, ‘धेरैलाई क्यान्सर भएको पनि मैले देखेकी थिएँ । उनीहरूलाई गाह्रो भएको पनि देखेकी थिएँ, तर आज आफैँलाई क्यान्सर भएको सुन्दा एकदमै गाह्रो भएको थियो ।’
रोग देखिएपछि परिवारमा उपचार कहाँ गर्ने भनेर छलफल भयो । कसैले उपचारको लागि दिल्ली गए राम्रो हुन्छ भने, कसैले ‘यूएस’ जानुपर्छ भने । पछि नेपाल क्यान्सर अस्पतालमा उपचार राम्रो र सजिलो हुन्छ भन्ने सुझाव र सल्लाहपछि स्वदेशमै उपचार सुरु गर्ने निष्कर्ष निकालिन् ।
उनलाई किमो दिन थालेपछि कपाल झर्न थाल्यो । उनले शारीरिक रूपमा बिरामी भए पनि मानसिक रूपमा कहिल्यै बिरामी भएको महसुस गरिनन् । ‘किमो चढाउँदा पनि मैले गीत गाउन छाडेकी थिइनँ,’ देविका ती दिन सम्झिन्छिन्, ‘त्यो बेला मैले अस्पतालकै बेडमा गाएका गीतहरू टिकटकमा अझै पनि छन् । भोलिलाई कसले पो देख्या छ, आज राम्रो साइतै जुर्या छ जस्ता गीत गाइरहेकी थिएँ ।’
उपचारकै क्रममा देविकाले ११ वटा गीत रेकर्ड पनि गरिन् । ‘ओम श्री गणेशाय नम:’, ‘ह्याप्पी दसैँ’, ‘ह्याप्पी तिहार’, ‘टिकटिक टिकटिक लैवरी लै’ सँगै कुमार सानुसँगको ‘तिम्रो मायाको गीत’ एकदमै लोकप्रिय बन्यो । ‘बनैमा शीतलु छायाले हो, मनैमा शीतलु मायाले हो’ भन्ने गीत पनि लोकप्रिय रह्यो ।
किमोथेरापी हुँदा पनि देविका कार्यक्रममा जाने गर्थिन् । त्यही बेला नै उनको ‘परदेशी–१’ को गीत ‘नोमिनेट’ मा परेको थियो । ‘किमो चढाएको चार दिन मलाई गाह्रो हुन्थ्यो । त्यसपछि म गीत रेकर्ड गर्न जान्थेँ,’ बन्दना भन्छिन्, ‘बिरामी भएको झण्डै आठ महिनामा मैले क्यान्सर जितेँ । फ्रेस बनेँ, डाक्टरले पनि तपाईं निको हुनुभएको छ भनेपछि मेरो खुसीको सीमा रहेन । कपाल पनि त्यो बेलासम्म आइसकेको थियो ।’
त्यो बेला उनलाई क्यान्सरभन्दा कोरोना भाइरस महामारीसँग बढी डर लाग्थ्यो । अहिले पूर्ण रूपमा स्वस्थ भएर पुरानै अवस्थामा फर्किएकी छन् । बेलाबेला फलोअपको लागि जानुपर्छ, अरू त पूर्ण निको भएँ । क्यान्सरलाई समयमै चिनेर उपचारको पहुँचसँगै आत्मविश्वास र दृढ आँटले जित्न सकिने देविकाको बुझाइ छ । आफू निको हुनुको पछाडि उपचारसँगै क्यान्सरलाई जित्न सकारात्मक सोच, आत्मबल, काममा व्यस्तता र इच्छाशक्ति रहेको देविकाले बताइन् ।
आफूले बनाएका पेन्टिङमा चम्किएका तस्वीरजस्तै आफ्नो जीवन पनि त्यही रूपमा पुनः चम्किएको देविकाले महसुस गरेकी छन् । क्यान्सरका बिरामीले आफूलाई कहिल्यै पनि कमजोर छु भनेर ठान्नु हुँदैन । धेरै कुरा गर्न सक्छु भन्ने आँट हुनुपर्छ । त्यो बेला उनले आफूलाई क्यान्सर भएको धेरैलाई खुलाउन चाहिनन् । आफू बिरामी हुँदा श्रीमान् र छोराबाट धेरै ‘केयर’ पाएको उनी सम्झिन्छिन् ।
आफू बिरामी हुँदाको भोगाइलाई समेटेर उनले ‘जित्नेको हाँसो’ पुस्तक लेखेकी छन् । अहिले देविकाका लागि ‘जित्नेको हाँसो’ आफ्नो जीवनको अध्याय बनेको छ । ‘जित्नेको हाँसो आत्मकथा हो,’ उनी भन्छिन्, ‘सांगीतिक क्षेत्रमा क्यान्सर रोगविरुद्ध सकारात्मक सोचका साथ लड्दै–भिड्दै आफूलाई निरन्तर क्रियाशील राख्दै आत्मबललाई अलिकति पनि खस्न नदिएर रोगलाई जित्न सफल भएको उत्प्रेरक आत्मकथा हो । यस कृतिले सूक्ष्म अनुभूतिलाई साधारणीकरण गरी मार्मिक रूपमा पस्किने प्रयास गरेको छ । पुस्तक पढ्दा पाठकले आफैँलाई देविका बन्दनाको अनुभूति गर्छन् ।’
हालसालै उनले गैरनाफामूलक सामाजिक संस्था ‘देविका बन्दना फाउन्डेसन’ खोलेकी छन् । ‘मैले क्यान्सरलाई जितेपछि तयार भएको किताब नै जित्नेको हाँसो हो,’ उनी भन्छिन्, ‘सबैले यसलाई हृदयदेखि अपनाउनुहोला भन्ने शुभेच्छा छ । सबैको माया र आशीर्वादले नै देविका बन्दना बनेकी हुँ । सबैको साथ र माया अझै पनि पाउने आशा छ ।’ क्यान्सर रोग लागेका बिरामीलाई आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यसहित फाउन्डेसनले काम गर्नेछ ।
उनले अहिलेसम्म झण्डै दुई दर्जन एल्बम र १ हजारभन्दा बढी गीतमा आवाज भरेकी छन् । ‘यस्तै रहेछ यहाँको चलन’, ‘भरे आउँछु सपनीमा’ जस्ता गीत लोकप्रिय छन् । आधुनिक १०० वटा, मैथली, भोजपुरी, राष्ट्रिय गीत र धार्मिक भजनमा पनि उनका स्वर बज्छन् ।
इलाममा जन्मिएर भारतका विभिन्न सहरमा आफ्नो बाल्यकाल बिताएकी देविकाको कर्मघर बुटवल हो । उनले आफूले गाएका गीत रेकर्ड गरिरहेकी छन् । कुन्ती मोक्तान, तारादेवीका गीत गाउँदा सबैले मन पराउँथे । त्यसपछि उनले रेडियो नेपालमा टिनएजमा भ्वाइस टेस्ट पास गरिन् । त्यसपछि ‘हे मायालु तिमीलाई धेरै–धेरै सम्झना’ भन्ने गीत गाएको उनी स्मरण गर्छिन् ।