!['तिमी आदेश त गर, हामी देखाइदिन्छौं, खोजी–खोजी मार्छौं भन्नेजस्ता धम्की आए– प्रधानन्यायाधीश [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Prakashman_Singh_Raut_KY3yXU6V9q.png)
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायाधीशहरूलाई खोजी-खोजी मार्छौं भन्नेजस्ता धम्की आएको बताएका छन् ।
आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानन्यायाधीश राउतले उक्त कुरा बताएका हुन् ।
‘तिमी आदेश गर त, हामी देखाइदिन्छौं, घर खोजी–खोजी मार्छौं भन्नेजस्ता धम्की आए,’ प्रधानन्यायाधीश राउतले भने, ‘न्यायाधीश डराए के हुन्छ ? कहालीलाग्दा दिन शुरू हुन्छ ।’
पछिल्लो समय सामाजिक सञ्जालमार्फत समाजमा द्वेष फैलाइएकोमा उनले चिन्ता व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जालहरूमा न्यायपालिका र न्यायाधीशलाई लक्षित गरी अराजक तथा अश्लील सामग्री प्रसारण भइरहेको भन्दै उनले चिन्ता प्रकट गरेका हुन् ।
‘तिमी आदेश त गर, तिमी फैसला त गर, हामी देखाइदिन्छौं । हामी घर खोजी–खोजी मार्छौं भनेर धम्की दिने गरिएको छ । अहिले सबैभन्दा डरलाग्दो कुरा के छ भने, घृणा र द्वेष फैलाउने, चरित्र हत्या गर्ने, गलत र भ्रामक सम्प्रेषण गर्ने, दुष्प्रचार गर्ने काम भइरहेको छ,’ उनले थपे, ‘अदालतको साइन बोर्ड देखाएर, एआई जेनरेटेड अदालतको भिडियो बनाएर यो भ्रष्टाचारको अखडा हो भन्ने, मिडिया ट्रायल गर्ने, निन्दित गर्ने, लाञ्छित गर्ने काम भैरहेको छ ।’
यी सबै हुँदा पनि आफूहरू विचलित नभएको र संयमता नगुमाएको उनले बताए । ‘यदि अदालतविरुद्ध घृणा र द्वेष फैलाउने हो, अराजक अभिव्यक्तिहरूलाई प्रश्रय दिने हो भने न्याय सम्पादनको कार्य कष्टकर र दुरूह हुन्छ,’ उनले थपे, ‘फेरि यसको असर सेवाग्राहीमा मात्र होइन, समग्र नागरिक हक प्रचलनमै हुन्छ । यो कुरा गम्भीर छ ।’
स्वस्थकर आलोचना र टिप्पणीलाई आफूहरूले स्वागत नै गरे पनि अतिरञ्जित गरेर दुष्प्रचार गरिएकोमा उनले आपत्ति जनाएका थिए ।
‘न्यायापालिका, अदालत र न्यायाधीशप्रति लक्षित गरी विशेष गरेर सुनियोजित तबरले सामाजिक सञ्जालमा अराजक अभिव्यक्तिहरू, आपत्तिजनक टिप्पणीहरू र अभद्र अस्वस्थ सामग्रीहरू सम्प्रेषण भएका छन् । न्यायाधीशहरूको उल्टो गरेर तस्वीरहरू पोस्ट गरिएका छन् । दुराशययुक्त तबरले,’ राउतले भने, ‘हाम्रो भनाई आलोचना गर्न पाइँदैन भन्ने पनि होइन, टिप्पणी गर्न पाइँदैन भने पनि होइन । हामीलाई राम्ररी थाहा छ कि लोकतन्त्रमा, खुला समाजमा र बहुलवादमा संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपयोग गर्न पाइन्छ । त्यसको हामीलाई राम्रो हेक्का छ ।’
तर, अतिरञ्जित गरेर दुष्प्रचार गर्न नहुने उनको कथन छ ।
‘स्वस्थकर आलोचना होस्, सत्य-तथ्य नै उजागर होस्, अतिरञ्जित कहिल्यै नहोस् । स्वस्थकर टिप्पणी गर्दा हामीले स्वागत नै गरेका छौं,’ उनले थपे, ‘हामीले सच्चिनुपर्ने स्थानमा सच्चिन्छौं पनि । सुध्रिनुपरे सुध्रिन्छौं पनि । तर, अभिव्यक्ति स्वतन्त्रताको नाममा स्वच्छन्द भएर अदालत न्यायाधीश र न्यायपालिकाको गरिमा र मर्यादा ध्वस्त पार्ने छुट कसैलाई हुँदैन । अदालतको हुर्मत लिने छुट पनि कसैलाई हुँदैन ।’
आफूहरूले आफ्नो काम कारबाही, कमी कमजोरीका कारण यो अवस्था व्यहोरिरहेका त छैनौं भन्ने कुराको अढाई दिन लगाएर निर्मम समीक्षा पनि गरेको उनले खुलाए ।
अदालतमाथिको शृङ्खलाबद्ध प्रहारले अदालतलाई कमजोर बनाउने अभियानमा लगेको उनको बुझाइ छ ।
‘न्यायाधीश डरायो भने के हुन्छ? नागरिक हक उपभोग हुन सक्दैन । न्यायाधीश डरायो भने राज्यको चौथो अंग पनि सुरक्षित हुँदैन । न्यायाधीश डरायो भने स्वतन्त्रताको, सम्मानको कहालीलाग्दो दिन शुरू हुन सक्छ,’ उनले थपे, ‘तर, न्यायाधीश निर्भीक भयो भने नागरिक र जनता निश्चिन्त हुन्छन् । मुलुकका नागरिकलाई निश्चिन्त बनाउनुपर्ने अवस्था छ ।’
अदालतमा जो पायो त्यो गर्न नपाइने समेत उनले बताए ।
‘हामीले धेरै बुझाउन सकेको छैनौं होला । त्यहाँ विधि-प्रक्रिया छ । खुला इजलासमा सुनुवाइ हुन्छ, फगत औपचारिकता होइन । त्यहाँ मुद्दामा तथ्य हेर्नुपर्छ, प्रमाण हेर्नुपर्छ, कानून हेर्नुपर्छ, अनि त्यसमा विवेक प्रयोग गरेर फैसला गर्नुपर्छ,’ उनले थपे, ‘जिल्लामा गल्ती भयो भने हाई कोर्टबाट करेक्सन हुन्छ, त्यहाँबाट नभए सुप्रिम कोर्टबाट करेक्सन हुन्छ । न्यायिक नेतृत्वको हिसाबमा मैले बुझाउन सकिन कि ? धेरै ढिलो पो भयो कि ?’
हेर्नुहोस्, भिडियो :