
एनसेलले जेनजी आन्दोलनका क्रममा क्षति भोगेको नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) उपकरण सहयोग स्वरूप प्रदान गरेको छ ।
कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत सोमबार यी उपकरण हस्तान्तरण गरेको हो ।
भदौ २३ र २४ गतेको जेनजी युवा समूहको विरोध प्रदर्शनका कारण उत्पन्न भएको तोडफोड र आगजनीका कारण नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको भौतिक संरचना, कार्यालयका जिन्सी सामग्रीदेखि अभिलेख कागजात समेतमा अत्यधिक क्षति भएको थियो । यो सहयोगले कार्यालयका दैनिक कार्य सञ्चालनमा सहयोग पुग्ने भएको छ ।

एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ, कानून प्रबन्धक कैलाश प्रसाद न्यौपानेलगायतका प्रतिनिधिहरूले नेपाल बार एसोसिएसनका अध्यक्ष प्राडा एवं वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्रलाई ल्यापटप २ थान, डेस्कटप १ थान र प्रिन्टर २ थान र सर्वोच्च अदालत बार एशोसिएसनका कार्यवाहक अध्यक्ष अम्बरबहादुर राउतलाई १ थान ल्यापटप, २ थान डेस्कटप र १ थान प्रिन्टर हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै मिश्रले एनसेलले प्रदान गरेको सामग्रीले बारको कार्य सञ्चालनमा सहयोग पुग्ने र आगामी दिनमा समेत कम्पनी र बारकाबीच सहकार्य गर्न बार तत्पर रहेको बताउँदै कम्पनीलाई धन्यवाद दिए ।
त्यसैगरी, राउतले सर्वोच्च अदालत बारले करिब ५० लाखको क्षति बेहोर्नुपरेको र केही माइन्युटबाहेक केही बाँकी नरहेको अवस्थामा एनसेलले गरेको यस्तो सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।