
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारी दिने तय भएका ७ मध्ये ४ सीटमा देउवा पक्षका उम्मेदवार रहने भएका छन् ।
कांग्रेस स्रोतका अनुसार आन्तरिक भागबण्डामा ४ सीट संस्थापन र ३ सीट इतर पक्षलाई दिने सहमति भएको हो ।
'कांग्रेसका ७ मध्ये ४ जना संस्थापन पक्षबाट समेटिनुहुन्छ । ३ सीट इतर पक्षको भागमा परेको छ । त्यसमध्ये २ शेखर कोइराला र १ गगन थापा समूहबाट आउन सक्नुहुन्छ,' कांग्रेस स्रोतले लोकान्तरसँग भन्यो ।
यसअघि कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जसपा नेपालबीच सीट बाँडफाँड भएको थियो ।
निर्वाचन हुने १८ मध्ये ७/७ सीट कांग्रेस-एमाले, ३ सीट नेकपा र १ सीट जसपा नेपालले लिने समझदारी भएको स्रोतको दाबी छ ।
दलीय भागबण्डा टुंगिएपछि कांग्रेसले आन्तरिक भागबण्डा गर्न लागेको हो ।
यस विषयमा निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको थियो ।
बैठक बीचमा रोकिएपछि प्रवक्ता प्रकाशशरण महत पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्ज पुगेका छन् ।
आजै अर्को बैठक बसेर उम्मेदवारको अन्तिम टुंगो लगाउने कांग्रेसको तयारी छ ।
राष्ट्रिय सभाको निर्वाचन आउँदो माघ ११ गते हुँदैछ । त्यसका लागि बुधबार उम्मेवारी मनोनयनको समय छुट्ट्याइएको छ ।