०५ साउन २०८३, मंगलबार

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा पुरस्कार प्रदान गरिने

पुस २३, २०८२
काठमाडौं
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड आज, १० विधामा पुरस्कार प्रदान गरिने

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २२औँ संस्करण बुधबार आयोजना हुँदैछ । नेपाली खेलकुदकै यो प्रतिष्ठित अवार्ड नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा प्रदान गरिँदै आएको छ । अवार्डको २२औँ संस्करण पोखरामा आयोजना हुनेछ ।

मञ्चले अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अवार्ड वितरण कार्यक्रम इतिहासमै पहिलो पटक काठमाडौँ बाहिर आयोजना हुन लागेको हो । अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको थियो ।

मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको उक्त समिटमा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू निकै उत्साही रहेको बताए ।

‘कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ । अब हामी अवार्ड कार्यक्रम शुरू हुने क्षणको ब्यग्र प्रतीक्षामा छौं । शुरूमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपर्ने लागेको थियो । तर, पोखरामा हामीले चुनौतीभन्दा पनि बढी अवसर देखेका छौं,’ उनले भने ।

मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताए । ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ,’ उनी भन्छन् ।

अवार्ड कार्यक्रममा पोखरा महानगरपालिका प्रवर्द्धकको रूपमा रहेको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको मञ्चाले जनाएको छ ।

यसपटक पनि १० विधामा अवार्ड प्रदान गरिने बताइएको छ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रहेका छन् ।

यी सबै विधाको विजेताको घोषणा अवार्ड कार्यक्रममै गरिने छ । वर्षको सर्वोत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, क्रिकेटकै कुशल भुर्तेल, उसुका विजयी सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खोका जनक चन्द परेका छन् ।

यसैगरी, वर्षको सर्वोत्कृष्ट महिलातर्फको मनोनयनमा कराँतेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, कराँतेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति बिष्ट र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।

यसैगरी, वर्षको सर्वोत्कृष्ट युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, कराँतेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका तिरुवा र फुटबलका समीर तामाङ परेका छन् ।

वर्षको उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पारा तेक्वान्दोका कविराज नेगी लामा, कराँतेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा उसुका विजय सिन्जाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबलटेनिसकी इभाना थापा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्