
नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको यात्रा अब राष्ट्रिय सभातिर सोझिएको छ । एमाले विभाजन, नेकपा एकीकृत गठन, नेकपा एसको महाधिवेशनमा पराजित र फेरि एमाले फिर्तासँगै पूर्वमन्त्री झाँक्रीको संसदीय यात्रा राष्ट्रिय सभातर्फ अघि बढ्ने देखिएको हो ।
उनलाई नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा)सहितको तालमेलमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवार बनाइएको छ । एमालेको विद्यार्थी संगठन अखिलको अध्यक्षदेखि राजनीतिमा होमिएकी उनी समानुपातिक सांसद र पार्टी विभाजनपछि शहरी विकास मन्त्रीसमेत बनेकी थिइन् ।
तीन वर्षअघि २०७९ सालको आमनिर्वाचनमा गुल्मी–२ बाट एमाले नेता तथा हालका उपाध्यक्ष गोकर्ण विष्टसँग पराजित भएकी उनले फेरि राष्ट्रिय सभाबाट संसदीय यात्राको थालनी गर्ने भएकी हुन् ।
हालै सम्पन्न एमाले महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित झाँक्रीले गुल्मीबाटै प्रत्यक्ष चुनाव लड्ने चाहना राखेकी थिइन् । तर, गृहजिल्लाबाट उपाध्यक्ष गोकर्ण विष्टको नाम एकल सिफारिश भएपछि पार्टीले उनलाई राष्ट्रिय सभामा पठाएको हो ।
लुम्बिनीमा एमाले कांग्रेसको तालमेलले झाँक्रीको राष्ट्रियसभा यात्रा लगभग निश्चितजस्तै देखिन्छ । झाँक्री स्पष्ट वक्ता, प्रगतिशील र आलोचनात्मक नेतृका रूपमा चिनिन्छिन् ।
बुधबार उम्मेदवारी दर्तापछि पत्रकारहरूसँग उनले आफू निर्वाचित भए पार्टीको विचार र सिद्धान्तअनुसार काम गर्ने बताइन् । ‘पार्टीको विचार सिद्धान्त र कार्यक्रमको आधारमा प्रभावकारी ढंगले कानून बढाउने ठाउँमा काम गर्ने हो,’ उले भनिन्, ‘विगतका नीति कार्यक्रमको मूल्याङ्कन के भइरहेको छ, त्यो हेर्ने, हाम्रा धेरै कानून भावनामा बगेका छन् । अब कानून बनाउँदा अनुसन्धान र रिभ्यू रहेर काम गर्न सक्छौं भन्ने पाटोमा आफूले सोचेकी छु ।’
पार्टीको निर्णय सुनेर आफूले ग्रहण गरेको उनले बताइन् । ‘मैले खाली कागजको टिकट बोकेर यहाँ आउदा धेरै कूरा सोचे,’ उनले थपिन्, ‘पार्टीको निर्णयलाई सुनेर ग्रहण गरी बाटो लागे । संविधान, कार्यक्रम र अहिलेकै व्यवस्थाभित्र रहेर राष्ट्रियसभालाई प्रभावकारी बनाउने छु । राष्ट्रियसभा प्रभावहीन सदन होइन, यो इफेक्टिभ संस्था हो । यसले कतिपय यस्ता कानूनमा प्रभावकारी काम गर्छन् भन्ने आफू निर्वाचित भए देखाउछु, यसलाई नयाँ अभ्यासको रूपमा शुरूआत गर्नेछौं । केही गर्न सकिन्छ कि भन्ने सोचेको छु । राष्ट्रियसभा पनि केही हो भन्ने बनाउन भन्ने सोचेकी छु ।’
लुम्बिनीमा ३ सिटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेबाट झाँक्री, कांग्रेसबाट गुल्मीका चन्द्र केसी र दाङबाट बाशुदेव जंगली घिमिरेले उम्मेदवारी दर्ता गरेका छन् । केसी खुल्ला, घिमिरे अपाङगता र झाँक्री महिलामा उम्मेदवारी दिएका हुन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट तीन जनाले नै उम्मेदवारी दर्ता गराएका छन् । अपांगता क्लस्टरमा बाँकेका सर्जन विकले उम्मेदवारी दिएका हुन् । अन्य कलस्टरबाट बृहस्पति अधिकारीले मनोनयन दर्ता गरेका छन् भने महिला कलस्टरबाट दुर्गा भण्डारीले उम्मेदवारी दिएकी छन् ।
जनमोर्चाले पनि उम्मेदवारी दर्ता गरेको छ । प्युठानका बोमबहादुर खत्री र पदमा पण्डितले उम्मेदवारी दर्ता गराएका हुन् । प्युठानको मल्लरानी गाउँपालिका– २ निवासी खत्रीले ‘अन्य’ र प्युठान नगरपालिका–८ निवासी पदमा पण्डितले ‘महिला’ क्लस्टरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८७ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१७ जना गरी कुल ३०४ जना मतदाता रहेका छन् ।
लुम्बिनी प्रदेशबाट तीनजना सदस्य पदका लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ३०५ मतदाता रहेका छन्, जसमध्ये प्रदेशसभाका ८७ जनाको ४ हजार ६११ र १०९ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २१८ जनाको ४ हजार १४२ गरी कूल मतभार ८ हजार ७५३ रहेको छ ।
‘लुम्बिनीमा तीन पदका लागि चुनाव हुनेछ,’ कुँवरले भने, ‘खुला, महिला र अपाङ्गता क्षेत्रमा १/१ पदका लागि चुनाव हुन लागेको हो ।’ लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’को पदावधि आउँदो फागुन २० मा सकिँदैछ । माघ ११ गते राष्ट्रियसभाको चुनाव हुँदैछ ।
निर्वाचन आयोगले फागुन २० गतेदेखि रिक्त हुने पदका लागि चुनाव गराउन लागेको हो । लुम्बिनी प्रदेशबाट तीनजना सदस्य पदका लागि निर्वाचन हुँदैछ । लुम्बिनीमा ३०५ मतदाता रहेका छन्, जसमध्ये प्रदेशसभाका ८७ जनाको ४ हजार ६११ र १०९ स्थानीय तहका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष गरी २१८ जनाको ४ हजार १४२ गरी कूल मतभार ८ हजार ७५३ रहेको छ । ‘लुम्बिनीमा तीन पदका लागि चुनाव हुनेछ’, उनले भने, ‘खुला, महिला र अपाङ्गता क्षेत्रमा १/१ पदका लागि चुनाव हुन लागेको हो ।’ लुम्बिनीबाट एमालेका गोपाल भट्टराई र राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे तथा माओवादीका जगप्रसाद शर्मा ‘अपार’ को पदावधि आउँदो फागुन २० मा सकिँदैछ ।