०२ साउन २०८३, शनिबार

नेपाली टोलीको लगातार दोस्रो हार, अमेरिकापछि स्कटल्यान्डसँग पनि पराजित

पुस २५, २०८२
काठमाडौं
नेपाली टोलीको लगातार दोस्रो हार, अमेरिकापछि स्कटल्यान्डसँग पनि पराजित

आईसीसी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाली टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ ।

शुक्रबार काठमाडौंको मूलपानी क्रिकेट मैदानमा खेलिएको आफ्नो दोस्रो अभ्यास खेलमा नेपाली टोली स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । नेपाली टोली पहिलो अभ्यास खेलमा अमेरिकासँग आठ विकेटले पराजित भएको थियो ।

शुक्रबारको खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रनमात्र बनाउन सक्यो ।

विशाल लक्ष्य पछ्याएको नेपाली टोलीका लागि ओपनर सम्झना खड्काले अर्धशतकीय पाली खेलिन् । उनले अविजित ५२ रन बनाइन् । यसक्रममा उनले ४३ बलको सामना गरी सात चौका हिर्काइन् ।

इन्दु बर्मा २८ रन बनाउँदै आउट भइन् । उनले १९ बलमा दुई छक्का र दुई चौका प्रहार गरिन् । कविता जोशीले १२ बलमा एक छक्का र तीन चौकाको मद्दतले २२ रन बनाइन् ।

ओपनर बिन्दू रावल पाँच रन बनाउँदै पेभेलियन फर्किइन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी काजोल श्रेष्ठ पनि पाँच रनभन्दा अगाडि बढ्न सकिनन् ।

पूजा महतो पनि दुई रनमै आउट भइन् । रुविना क्षेत्रीले खातासम्म खोल्न सकिनन् । कविता कुँवरले अविजित २९ रन बटुलिन् । उनले केवल १४ बलमा एक छक्का र चार चौका प्रहार गरिन् ।

स्कटल्यान्डकी बलर डार्सी कार्टरले तीन विकेट लिइन् । त्यसअघि, स्कटल्यान्डका लागि क्याथरिन ब्राइसले ६२ रन बनाएकी थिइन् । उनले केवल २८ बलमा एक छक्का र १२ चौका हिर्काएकी थिइन् ।

प्रियान्ज चटर्जीले पनि टोलीको खातामा ४० रन थपिन् । उनले केवल २५ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन् । ओपनर डार्सी कार्टर र पिप्पा स्प्रोलले २१/२१ रन बनाए ।

नेपाली टोलीका बलर कविता कुँवर र रुविना क्षेत्रीले दुई/दुई विकेट लिए । रिया शर्मा र रचनाकुमारी चौधरीले पनि एक/एक विकेट हात पारे । नेपालले तेस्रो अभ्यास खेल आइतबार जिम्बाब्वेसँग खेल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्