
आफ्नै खेलाडीको विषयमा अनौठो बयान दिएपछि बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का एक वरिष्ठ अधिकारी विवादमा परेका छन् ।
बीसीबीका वरिष्ठ अधिकारी एवं आर्थिक समितिका अध्यक्ष एम. नजमुल इस्लामले बंगलादेशका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तमिम इकबालको विषयमा यस्तो विवादास्पद बयान दिएका हुन् ।
पछिल्लो समय भारत र बंगलादेशबीचको राजनीतिक सम्बन्ध सुखद छैन । यी दुई राष्ट्रबीच देखिएको राजनीतिक तनावको असर यसै वर्ष आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पनि परेको छ ।
बंगलादेश क्रिकेट बोर्ड सुरक्षाको कारण देखाउँदै आफ्नो टोलीलाई विश्वकप खेल्न भारत पठाउन चाहँदैन । बीसीबी बरु विश्वकप नखेल्ने तर, आफ्नो टोलीलाई भारत नपठाउने अडानमा छ ।
यही विषयलाई लिएर पूर्वकप्तान तमिम इकबालले बंगलादेशी क्रिकेट अधिकारीहरूलाई लक्षित गर्दै खेल र राजनीति फरक विषय भएकाले बंगलादेशले विश्वकप खेल्नु पर्ने धारणा व्यक्त गरेका थिए ।
त्यसपछि एम. नजमुल इस्लामले सामाजिक सञ्जाल फेसबूकमार्फत राष्ट्रिय टोलीका पूर्वकप्तान तमिम इकबाल भारतको जासुस भएको आरोप लगाएका हुन् ।
आफ्नै खेलाडीमाथि एम. नजमुल इस्लामको यस्तो आरोप लगाएपछि बंगलादेशको खेलकुद क्षेत्र तरंगित बन्न पुगेको छ । उनको यो पोष्ट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
क्रिकेटर्स वेलफेयर एसोसिएसन अफ बंगलादेश (सीडब्लूएबी) ले त एम. नजमुल इस्लामको भनाइप्रति आपत्ति जनाउँदै बीसीबीमा उजुरी पनि दर्ता गराएको छ ।
एम. नजमुल इस्लामले तत्काल माफी माग्नु पर्ने अन्यथा उनलाई कारबाही गर्नु पर्ने सीडब्लूएबीको माग छ । यसका अतिरिक्त, बंगलादेशका वर्तमान र पूर्वखेलाडीहरूले पनि एम. नजमुल इस्लामको आलोचना गरेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हालसम्म आगामी टी–२० विश्वकपको विषयलाई लिएर भारत र बंगलादेशबीच देखिएको विवादको समाधान निकाल्न सकेको छैन ।
बीसीबी आफ्नो अडानबाट पछि नहट्ने देखिन्छ । यदि, विश्वकपका खेलहरू आफ्नो टोलीले भारतीय भूमिमै खेल्नु पर्ने स्थिति सृजना भए विश्वकप नै बहिष्कार गर्ने संकेत पनि बीसीबीले दिएको छ ।
बीसीबी अधिकारीहरूले राष्ट्रिय स्वाभिमानभन्दा ठूलो विश्वकप नभएको प्रतिक्रिया दिँदै आएका छन् । आईसीसीले विश्वकपको खेल तालिकामा परिवर्तन नगर्ने संकेत पाएपछि बीसीबी अधिकारीहरूले यस विषयमा आफ्नो सरकारसँग सल्लाह गरेका थिए ।
बंगलादेश सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुल त पत्रकार सम्मेलनमै देशको सुरक्षा, इज्जत र सम्मानभन्दा विश्वकप कुनै पनि हालतमा ठूलो हुन सक्दैन भन्ने धारणा राखेका थिए ।
बीसीबी आगामी विश्वकपको आफ्नो सबै खेल श्रीलंकामा खेल्न चाहन्छ । भारतमा आफ्ना खेलाडी र खेल पदाधिकारी सुरक्षित नरहेको बीसीबीको तर्क छ । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार बंगलादेशी टोलीको सबै खेल भारतमा परेको छ ।