
मकर सङ्क्रान्ति अर्थात् माघी पर्व नेपालीका लागि पनि महत्त्वपूर्ण चाड हो । थारू समुदायको नयाँ वर्ष समेत रहेको माघी आउन अब केही दिन मात्र बाँकी छ । मगर समुदायले पनि यो चाडलाई विशेष रूपले बनाउने गर्छन् ।
यो वर्षको मकर सङ्क्रान्ति आउँदो बिहीबार परेको छ । मकर सङ्क्रान्तिको दिन खिचडी खाने चलन भए पनि यस दिन खिचडीका साथै अन्य स्वादिष्ठ परिकार पनि बनाइन्छ । ती परिकारहरूमध्ये मूंग दालको पकौडा निकै विशेष मानिन्छ । यो बनाउन सजिलो मात्र छैन, खाँदा निकै स्वादिष्ठ पनि हुन्छ ।
कतिपय गृहिणीलाई मूंगको दालको पकौडा बनाउन नआउन सक्छ । त्यसैले यहाँ मूंग दालको पकौडा बनाउने सरल विधि प्रस्तुत गरिएको छ । जाडोयाममा तात्तातो पकौडा खाँदा चाडको मज्जा झन् बढ्नेछ ।
मूंग दालको पकौडा बनाउन आवश्यक सामग्री
मूंग दाल : आवश्यकता अनुसार
अदुवा: एक इन्चको टुक्रा (आवश्यकता अनुसार थप्न सक्नुहुनेछ)
हरियो खुर्सानी: २-३ वटा (स्वादअनुसार)
हरियो धनियाँ: २ चम्चा (पेस्ट बनाएको)
नुन: स्वादअनुसार
धनियाँ पाउडर: १/२ चम्चा
अजवाइन: १/४ चम्चा
चामलको पिठो: १-२ चम्चा
तेल: तार्नका लागि
बनाउने तरिका
मूंग दाललाई २-३ घण्टा पानीमा भिजाउनुस् । भिजेको दालको पानी छानेर मिक्सरमा राख्नुस् । अदुवा र हरियो खुर्सानी पनि दालसँगै मिक्सरमा राख्नुस् । अलिकति मात्र पानी हालेर बाक्लो पेस्ट बनाउनुस् ।
तयार पेस्टलाई ठूलो भाँडोमा राख्नुस्। त्यसमा हरियो धनियाँ, नुन, अजवाइन, धनियाँ पाउडर, र चामलको पिठो हाल्नुस् । मिश्रणलाई राम्रोसँग फेट्नुस् ताकि हल्का र फुल्लो बनोस् ।
कराईमा तेल तताउनुस् । तेल तातिसकेपछि सानो चम्चाको मद्दतले पकौडा तेलमा हाल्नुस् । पकौडालाई मध्यम आगोमा सुनौलो खैरो रंगको र खसखसिलो हुने गरी तार्नुस् ।
पकौडा बनाउँदा मिश्रणलाई राम्रोसँग फिट्नाले त्यसलाई हल्का र कुरकुर गर्ने बनाउँछ ।
तारिएका तातो-तातो पकौडा हरियो चटनीसँग पस्किनुस् । मकर सङ्क्रान्तिको यो विशेष परिकार घरमा बनाएर परिवारसँग आनन्दसँग खानुहोस् ।