
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा एउटा फोटो पोस्ट गर्दै आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।
पोस्टमा ट्रम्पको आधिकारिक तस्वीर र क्याप्शन, 'कार्यवाहक राष्ट्रपति, भेनेजुएला, हालको कार्यकाल जनवरी २०२६' रहेको उल्लेख छ।
भेनेजुएलाको अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज हुन्। यो महिनाको शुरूमा, अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो स्तरको आक्रमण शुरू गरेर देशका नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो । मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई न्यूयोर्क लगिएको थियो, जहाँ उनीहरूलाई लागूपदार्थ-आतंकवाद षड्यन्त्रको आरोप लागेको छ।
आइतबार पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भेनेजुएलाबाट संयुक्त राज्य अमेरिकाका लागि छुट्याइएको ५ करोड ब्यारेल तेल आउँदै गरेको पनि बताए, जसको मूल्य लगभग ४.२ अर्ब डलर बराबर छ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले गत हप्ता औपचारिक रूपमा देशको अन्तरिम राष्ट्रपतिको रूपमा शपथ लिएकी थिइन्। यसअघि, ट्रम्पले भेनेजुएलाको अन्तरिम सरकारले ५ करोड ब्यारेल उच्च गुणस्तरको, प्रतिबन्धित तेल संयुक्त राज्य अमेरिकालाई हस्तान्तरण गर्ने बताएका थिए ।
भेनेजुएलामा अनुमानित ३०३ अर्ब ब्यारेल तेल छ, जुन विश्वको सबैभन्दा ठूलो तेल भण्डार मानिन्छ। यद्यपि, देशको तेल उत्पादन २००० देखि निरन्तर घट्दै गएको छ।