
५१ प्रतिशतभन्दा बढी प्रतिनिधिहरू उपस्थित भएर दोस्रो विशेष महाधिवेशन चलिरहँदा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समस्या समाधानका लागि तत्पर देखिएका छैनन् । कार्यकर्ताको चाहनाअनुसार निकास दिन उनी बाधक बनिरहेका हुन् ।
कांग्रेसको भर्भराउँदो पुस्ता सर्लक्क विशेष महाधिवेशनमा सहभागी भएर नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणका लागि दबाब दिइरहँदा पनि देउवा 'पार्टीमा केही भएको छैन' भन्ने जसोगरी महाराजगञ्जमा 'सुतिरहेका' छन् । पार्टी रूपान्तरण गरिछाड्ने प्रतिनिधिको हाँकलाई देउवाले कम आँकिरहेका छन् ।
आइतबार भृकुटीमण्डपमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गरेको सम्बोधन र उनीहरूप्रति कांग्रेसका नयाँ र पुराना पुस्ताले गरेको भरोसाबाट देशभर एउटा राजनीतिक तरंग सिर्जना भएको छ । गगन–विश्वले कांग्रेसलाई साँच्चिकै देशको भरोसायोग्य पार्टी बनाउँदैछन् भन्ने सन्देश प्रवाह गर्न सफल भएका छन् ।
गगन–विश्वले के भन्छन् भनेर पुसको ठण्डीको परवाह नगरी कार्यकर्ता र शुभेच्छुकहरू रातिसम्म बसे । यी दुईबाहेक कांग्रेसका अरू कोही नेता छैनन्, जसको भाषण सुन्नकै लागि मानिसहरू शीतको परवाह नगरी बसून् ।
आफैंले तोकेको नियमित १५ औं महाधिवेशन आउन ४ महिनाभन्दा कम समय रहँदा पनि देउवा पार्टी सभापति छाड्न राजी छैनन्, पदका लागि आशक्ति देखाइरहेका छन् ।

असोज २८ गते पूर्णबहादुरलाई कार्यवाहक दिएर सिंगापुर गएका देउवा एक महिनापछि स्वदेश फर्केर कांग्रेसलाई अनिर्णयको बन्दी बनाइरहेका छन् । त्यो त्रासदी बिर्सेर उनी पार्टीलाई भदौ २२ अगाडिको अवस्थामा फर्काउने कोशिशमा लागेका छन् ।
सहज ढंगले नेतृत्व हस्तान्तरण र पार्टी रूपान्तरणका लागि देउवा तयार नहुनु पछाडिको स्वार्थ फेरि शक्तिमा पुग्ने तृष्णासँग जोडिएको छ ।
विशेष महाधिवेशन शुरू हुनुभन्दा केही दिन अघिसम्म आफूलाई भेट्न आउने नेता–कार्यकर्ता र शुभेच्छुकलाई देउवाले भन्ने गरेका थिए, 'तेस्रो कार्यकालका लागि सभापति बन्न पो विधानले रोक्ला, संसदीय दलको नेता त बन्न सकिहाल्छु नि !'
भदौ २४ को त्रासदीपूर्ण घटना र आफ्नै निवासमा मरणासन्न हुने गरी कुटिएपछि धेरैले अनुमान गरेका थिए, अब देउवाले सक्रिय राजनीति गर्दैनन् । असोज २८ मा कार्यवाहक दिएर जाँदैगर्दा उनको ग्रेसफूल एक्जिट भयो भनेर प्रशंसा पनि भएको थियो ।
सिंगापुरमा के भयो, स्वदेश फर्केपछि देउवाले अदृश्य ढंगले पार्टी चलाउन थाले । कार्यवाहक दिएका पूर्णबहादुर खड्कालाई थपना मात्र बनाएर आफैँ सक्रिय बने ।
पढ्नुहोस् यो पनि:
बानेश्वरको त्यो 'खोला', गगन–विश्वको आजको वेग र भोलिको कांग्रेस
यसबीचमा आफू अन्तिमपटकका लागि चुनाव लड्ने भनेर जिल्लामा सन्देश फैलाए, जबकि ०७९ सालमा पनि उनले अन्तिमपटक भनेर 'सेन्टिमेट' बटुलेका थिए ।
अन्य दललाई समेत झस्का दिनेगरी कांग्रेसमा एउटा व्यक्ति दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव माथि छलफल हुँदैछ ।
तर, देउवाको भित्री उद्देश्य अर्कै छ । विशेष महाधिवेशनअघि उनको प्रस्ट रोडम्याप थियो- 'आफू अनुकूलको व्यक्तिलाई पार्टी सभापति बनाउने, आफू फेरि प्रधानमन्त्री बन्ने अनि पत्नी आरजु राणा देउवालाई पार्टीमा स्थापित गर्ने ।
देउवाको यो एजेन्डा कम्तीमा उनको गुटका नेताहरूलाई प्रस्ट थाहा छ । आफ्नो रोडम्यापमा कुठाराघात हुने गरी बोलाइएको विशेष महाधिवेशन उनले किन हुन दिन्थे ?
फेरि सत्तामा पुग्ने र शक्तिमा टिकिराख्ने उनको महत्त्वाकांक्षामा कमी आएको छैन । त्यसका लागि उनले सम्भव हुने/नहुने सबै काम गरि नै रहेका छन् ।
सिंगापुरबाट फर्केपछि देउवाको इसारामा कांग्रेस सांसदहरू हस्ताक्षर लिएर सर्वोच्च अदालत पुगे, गगन थापाहरूको विमति हुँदा-हुँदै । सर्वोच्चमा नेकपा एमाले र अधिवक्ताहरूका कयौं रिट विचाराधीन रहेकै बेला कांग्रेस सांसदहरू जानु अर्थपूर्ण थियो ।
त्यसका पछाडि पनि एउटै उद्देश्य थियो- 'फेरि प्रधानमन्त्री बन्ने देउवाको महत्त्वाकांक्षा । हस्ताक्षरको नेतृत्व गर्नेमध्येका एक सांसदले पंक्तिकारसँग प्रस्ट भनेका छन्, 'पुन:स्थापना भयो भने धारा ७६ (३) अनुसार प्रधानमन्त्री हाम्रो सभापति नै हो ।
त्यो सम्भावना त टर्दै गएजस्तो देखिन्छ, संसद् पुन:स्थापना भइहालेमा बन्ने सर्वपक्षीय सरकारको नेतृत्व देउवाको हातमा पुग्ने छैन । जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय सरकारको नेतृत्व कोही स्वतन्त्र व्यक्तिले गर्ने गरी दलहरूबीच छलफल भएको हो । 'होल्ड'मा रहेको यो कोर्सले अझै पनि मूर्त रूप लिन सक्छ ।
तर, संसद् पुन:स्थापना भएपनि देउवा फेरि प्रधानमन्त्री बन्न सक्दैनन् । कुनै तिकडम गरेर देउवा प्रधानमन्त्री बने भने त्यसै दिन काठमाडौंमा सानो/ठूलो विद्रोह हुनेछ ।
पढ्नुहोस् यो पनि :
यसकारण सफल हुनुपर्छ कांग्रेसको विशेष महाधिवेशन
नेतृत्व फेर्न गगन–विश्वलाई दबाब
आफैंलाई सभापति चुनेका बहुमत प्रतिनिधि उपस्थित भएको विशेष महाधिवेशनलाई ललकारेर केही होइन भन्दा-भन्दै देउवा केन्द्रीय समिति बैठक बोलाउन बाध्य भएका छन् ।
विगतमा संस्थापन रहेका गिरिजाप्रसाद र सुशील कोइरालालाई टक्कर दिएको बिर्सेर पार्टीमा सुधार र रुपान्तरण चाहनेलाई देउवाले विभाजनकारीको आरोप थोपरिदिन्छन्, जसले उनी स्वयंको विगतलाई पनि गिज्याइरहेको छ ।
लामो समय संस्थापनविरुद्ध लडेका देउवा कालान्तरमा जसका विरुद्ध लडे, उनैको अवतार बनेर प्रकट भएका छन् । बहुमत केन्द्रीय सदस्य आफूसँग छन् भनेर उनले नेतृत्व परिवर्तनको प्रयास गरेकालाई रोक्न कोशिश गरिरहेका छन् ।
तिकडम सफल भयो भने केही हप्ता पार्टीको नेतृत्वमा रहलान् तर, देउवाको राजनीतिक वैधता सकिइसकेको छ । आज होइन, पटक-पटक उनको औचित्य र उपादेयता सकिएको छ ।

देउवासँग अहिले रहेको शक्ति भनेको ०७८ सालमा चुनिएका प्रतिनिधिको बलमा आफू बहुमतमा छु भन्ने भ्रम मात्र हो । त्यसलाई देउवाले त्याग्नु उपयुक्त हुन्छ । गोपालमान श्रेष्ठ, देवेन्द्रराज कँडेल र भरत शाहजस्ता हितैषी नेताले देउवाको साथ छाडेर विशेषतिर लाग्नुपर्ने अवस्था सिर्जना भएको छ ।
यतिबेला कांग्रेसको 'क्रिम' भृकुटीमण्डपमा संघर्ष गरिरहेको छ भने चोकर र छोक्रा महाराजगञ्जमा आशीर्वाद थाप्न धाइरहेको छ । भृकुटीमण्डपमा देखिएका अनुहार नै भोलिका कांग्रेस हुन् ।
देउवाले गगन–विश्वको वेगलाई बुझ्न सकेनन् भने कांग्रेस जनताबाट टाढिँदै जानेछ । गगन–विश्व व्यक्तिभन्दा पनि परिवर्तनको विम्ब बनेर उभिएका छन् ।
र, गगन–विश्वले पनि भृकुटीमण्डपमा आएका महाधिवेशन प्रतिनिधिलाई उधारो आश्वासन र रित्तो हात घर पठाउन सक्ने छैनन् ।
महाधिवेशन प्रतिनिधिको मनोविज्ञान रित्तै फर्किने खालको देखिँदैन । नीति र नेतृत्व फेरेर मात्र काठमाडौंबाट फर्किने प्रतिनिधिहरूको प्रतिज्ञा मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा निर्भर हुनेछ ।
ढिलो त धेरै भइसक्यो, अब पनि देउवाले अर्घेल्याइँ नगरून्, किनभने कांग्रेस पार्टी भनेको जयवीर (देउवा) का बुवाको निजी कम्पनी होइन ।