११ साउन २०८३, सोमबार
देउवा निवासको संवाद

गगन-विश्वलाई देउवाले सोधे : तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ?

पुस ३०, २०८२
काठमाडौं
गगन-विश्वलाई देउवाले सोधे : तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई चुनाव लड्न नदिने भनेर भएको चर्चाबारे महामन्त्रीहरूसँग चासो राखेका छन् ।

आफ्नै निवास महाराजगञ्जमा बुधबार बिहान भएको वार्तामा देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग चुनावमा आफ्नो उम्मेदवारीको विषयबारे प्रश्न गरेका हुन् ।

'सभापतिज्यूले तिमीहरूले मलाई चुनावै लड्न नदिने भन्या हो ? भनेर सोध्नुभयो,' वार्तामा भएको संवाद उद्धृत गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले लोकान्तरसँग भने, 'त्यस्तो त होइन, हामीले भन्या छैनौं भन्ने महामन्त्रीहरूको कुरा थियो ।'

महामन्त्रीद्वयले देउवालाई 'छाड्नुस्' भनेर प्रस्ट भाषामा नभनेको, तर 'संरक्षक बसिदिनुस्' भन्ने हिसाबले कुरा गरेको महतले बताए ।

'महामन्त्रीज्यूहरूले तपाईंले छाड्दिनुपर्‍यो त भन्नुभएन । तर, संरक्षक बनिदिनुपर्‍यो भन्ने उहाँहरूको कुरा थियो । संरक्षक त अहिले पनि संरक्षक नै हो,' महतले थपे ।

चुनावको टिकटमा हस्ताक्षरको मात्र विषय हो भने आफू लचक हुन तयार रहेको भनेर सभापतिले भनेको महतको दाबी छ ।

'हस्ताक्षकै कुरा हो भने त्यसमा मलाई केही छैन । तर, अपर हाउस (राष्ट्रिय सभा) र समानुपातिकमा (मेरो हस्ताक्षर) गइसक्या छ । केन्द्रीय समितिबाट तपाईंहरूले नै पास गर्नुभएको हो । फेरि प्रत्यक्षमा अर्को गर्दा निर्वाचन आयोगले के भन्छ ? मलाई यसमा केही छैन भनेर सभापतिज्यूले भन्नुभएको छ,' महतले लोकान्तरसँग भने ।

देउवाले आफू उदार हिसाबले प्रस्तुत भइरहेको बताएको महतले जानकारी दिए ।

'म हिजोदेखि नै उदार भएर आइराख्या छु । किन यो किन भइराछ ? पार्टी नफुटाऊँ । पार्टी बचोस् भन्ने मेरो कुरा हो,' देउवाको भनाइ उद्धृत गर्दै महतले थपे ।

त्यसपछि महामन्त्रीद्वय कुनै निष्कर्ष नदिई 'साथीहरूसँग सल्लाह गर्छौं' भन्ने हिसाबले बाहिरिएको महतको भनाइ छ ।

बुधबार बिहान देउवा निवासमा करिब एक घण्टा वार्ता भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्