१२ साउन २०८३, मंगलबार
माचाडो–रोड्रिगेजको शक्ति संघर्ष

भेनेजुएलाको सत्तामा पुग्न दुई महिलाको दौड, ट्रम्पलाई फकाउने दुवैको रणनीति

माघ २, २०८२
काठमाडौं
भेनेजुएलाको सत्तामा पुग्न दुई महिलाको दौड, ट्रम्पलाई फकाउने दुवैको रणनीति

लाखौँ भेनेजुएलालीहरू आफ्नो आर्थिक र राजनीतिक रूपमा ध्वस्त देशको भविष्य के हुन्छ भनेर पर्खिरहेका बेला, राष्ट्रको नियन्त्रण र अमेरिकी राष्ट्रपतिको समर्थनका लागि दुई महिला नेताहरूबीच लडाइँ शुरू भएको छ। एकातिर विपक्षी नेत्री र नोबेल पुरस्कार विजेता मारिया कोरिना माचाडो छिन्, जो पदच्युत गरिएका राष्ट्रपति निकोलस मादुरोको सामना गर्दै भेनेजुएलामा लोकतन्त्रका लागि आफ्नो दृढ सङ्घर्षका कारण चर्चामा आइन्।

भेनेजुएलाको विवादित २०२४ को राष्ट्रपति निर्वाचनपछि उनी प्रायः लुकेर बसेकी छिन्। उक्त निर्वाचनमा सरकार-नियन्त्रित निर्वाचन अधिकारीहरूले मादुरोलाई विजेता घोषित गरेका थिए र दुई हप्ताअघि अमेरिकी विशेष सेनाले कब्जा नगरेसम्म उनलाई सत्तामा टाँसिइरहने अनुमति दिएका थिए।

उनकी प्रतिद्वन्द्वी मादुरोकी उपराष्ट्रपति डेल्सी रोड्रिगेज हुन्, जो अहिले कार्यवाहक राष्ट्रपतिको नयाँ भूमिकामा छिन्। रोड्रिगेजलाई पुरानो प्रशासनको कट्टर सदस्य र मादुरोको बलियो रक्षकको रूपमा हेरिन्छ; तर उनी वासिङ्टन र मादुरो शासनका वफादारहरू दुवैलाई सन्तुष्ट पार्ने एउटा अनिश्चित प्रयासमा छिन्।

उनीहरूको सङ्घर्षको केन्द्रमा २,००० माइलभन्दा टाढा बसेका एक व्यक्तित्व छन्: राष्ट्रपति डोनाल्ड ट्रम्प। उनले नै कराकसमा घातक सैन्य छापा मार्ने आदेश दिएका थिए र आफैँलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिसमेत घोषणा गरेका थिए।

यद्यपि, ट्रम्पले अहिलेसम्म भेनेजुएलामाथि दोस्रो आक्रमण गर्नबाट रोकेका छन्, तर सैन्य हस्तक्षेपको खतरा कायमै छ। उनले हालै आफ्नो प्रशासनले समुद्रमा कथित लागूऔषध ओसार्ने डुङ्गाहरूमा महिनौँको हमलापछि अब जमिनमा रहेका लागूऔषध कार्टेलहरूलाई लक्षित गर्न शुरू गर्ने बताएका छन्। उनले क्यारिबियन क्षेत्रमा विशाल अमेरिकी सैन्य बेडाहरू (Armada) तैनाथ राखेका छन्।

सायद ट्रम्पको छनोटले नै भेनेजुएलाको नेतृत्वको भविष्य र सत्ता कसले लिन्छ भन्ने कुरा निर्धारण गर्नेछ। सतहमा ट्रम्पले रोड्रिगेजको प्रशंसा गरेका छन् तर माचाडोलाई समर्थन गर्न अस्वीकार गरेका छन्, यद्यपि उनको प्रशासनभित्र माचाडोका उच्च-शक्तिशाली समर्थकहरू छन्।

तर अन्य विश्व नेताहरूसँग ट्रम्पको छलफलले उनको विचार चाँडै परिवर्तन हुन सक्छ भन्ने देखाएको छ। प्रशंसा धम्की यसको विपरीत पनि हुन सक्छ। माचाडोले बिहीबार ह्वाइट हाउसमा गरेको भेटघाटले सबै कुरा परिवर्तन गर्न सक्छ।

नोबेल पुरस्कार वा बार्गेनिङ चिप?
माचाडो र रोड्रिगेज दुवैले अमेरिकी राष्ट्रपतिसँग प्रत्यक्ष कुराकानी गरिरहेका छन्। माचाडो प्रत्यक्ष भेटघाटका साथ एक कदम अगाडि बढेकी छिन्। उनले ह्वाइट हाउसमा भएको भेटका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको स्वर्ण पदक हस्तान्तरण गरेकी छिन्।

भेनेजुएलाको राजनीतिक भविष्यमा ट्रम्पको प्रभाव पार्ने प्रयासस्वरूप माचाडोले उक्त पदक ट्रम्पलाई दिएकी हुन्। ह्वाइट हाउसका एक अधिकारीले ट्रम्पले उक्त पदक आफ्नै साथमा राख्न चाहेको पुष्टि गरेको रोयटर्सले जनाएको छ।

सामाजिक सञ्जालमार्फत ट्रम्पले पदक स्वीकार गरेको सार्वजनिक गर्दै लेखेका छन्, 'मारियाले मैले गरेको कामको कदरस्वरूप मलाई उनको नोबेल शान्ति पुरस्कार प्रदान गरिन्। यो पारस्परिक सम्मानको अद्भुत इशारा हो। धन्यवाद, मारिया!'

माचाडोको यो कदम ट्रम्पले उनलाई पदच्युत राष्ट्रपति निकोलस मादुरोको विकल्पमा भेनेजुएलाको नेताका रूपमा स्वीकार नगरेपछि आएको हो। ट्रम्पले गत महिना माचाडोलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्नुअघि नै आफू पनि उक्त पुरस्कारका लागि योग्य रहेको दाबी गर्दै खुलेर अभियान चलाएका थिए।

आफूलाई पुरस्कार नदिइएको भन्दै उनले त्यसबेला असन्तुष्टि समेत व्यक्त गरेका थिए। ट्रम्पले लामो समयदेखि नोबेल शान्ति पुरस्कारप्रति रुचि देखाउँदै आएका छन् र आफ्ना विभिन्न कूटनीतिक प्रयास तथा अन्तर्राष्ट्रिय पहलहरूलाई यो पुरस्कारसँग जोड्ने गरेका छन्।

ट्रम्प र माचाडोबीचको खाजा बैठक करिब एक घण्टाभन्दा बढी चलेको थियो, जुन उनीहरूबीचको पहिलो प्रत्यक्ष भेट थियो। त्यसपछि माचाडोले क्यापिटल हिलमा रिपब्लिकन र डेमोक्रेटिक दुवै दलका दर्जनभन्दा बढी सिनेटरहरूसँग भेटघाट गरिन्, जहाँ उनले उत्साहजनक समर्थन पाइन्।

तर विपक्षी नेत्रीले प्रतिष्ठित शान्ति पुरस्कारका कारण थप कठिनाइको सामना गर्न सक्छिन्। ह्वाइट हाउसभित्र उनका केही शक्तिशाली सहयोगीहरू छन्। विदेश सचिव मार्को रुबियो तीमध्ये एक हुन्, जसले उनको कामको प्रशंसा गर्दै उनलाई २०२५ को नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका थिए। गत वर्ष ट्रम्प आफैँले पनि माचाडोलाई 'स्वतन्त्रता सेनानी' भन्दै उनी सुरक्षित र जीवित रहनुपर्ने बताएका थिए।

तर जब माचाडोले नोबेल जितिन्, ट्रम्पले भने— 'म इतिहासमा कसैलाई पनि मभन्दा बढी नोबेल पुरस्कारको हकदार देख्दिनँ। म घमण्ड गर्न चाहन्न, तर अरू कसैले युद्धहरू समाधान गरेनन्।'

मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले माचाडोलाई नेतृत्व सुम्पने कुरामा खासै समर्थन वा सम्मान देखाएका थिएनन्। माचाडोले राष्ट्रपति ट्रम्पलाई सन्तुष्ट पार्ने प्रयास गरेकी छिन्। गत अक्टोबरमा पुरस्कार जित्दा उनले आंशिक रूपमा यो पुरस्कार ट्रम्पलाई नै समर्पित गरेकी थिइन्।

यसैबीच, ट्रम्पले रोड्रिगेजसँग कुनै पनि समयमा भेट्न आफ्नो इच्छा व्यक्त गरेका छन्। रोड्रिगेज अहिले एउटा कठिन सन्तुलन कायम गर्ने प्रयासमा छिन्।

एकातिर, रोड्रिगेजले बाहिरी रूपमा अमेरिकी अपरेशनको निन्दा गरेकी छिन् र मादुरोको पक्राउलाई बर्बरता तथा भेनेजुएलाको सार्वभौमिकताको स्पष्ट उल्लङ्घन भनेकी छिन्।

तर अर्कोतिर, अमेरिकाको दबाब झेल्न रोड्रिगेजले मेलमिलापपूर्ण स्वरमा अमेरिकासँग सहयोगको एजेन्डा प्रस्ताव गरेकी छिन्। उनको सरकारले शान्ति सङ्केतको रूपमा उच्च-प्रोफाइल कैदीहरूलाई रिहा गर्न थालेको छ, जसमा धेरै अमेरिकीहरू पनि छन्।

रोड्रिगेजको अमेरिकासँग लामो समयदेखि जटिल सम्बन्ध रहँदै आएको छ। उनकी प्रतिद्वन्द्वी माचाडोले औंल्याएझैँ, कार्यवाहक राष्ट्रपति रोड्रिगेज मानव अधिकार उल्लङ्घनका लागि अमेरिकी प्रतिबन्धमा छिन्- जुन आरोप उनले बारम्बार अस्वीकार गर्दै आएकी छिन्। साथै, उनले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्न वर्षौंदेखि काम गरिरहेकी छिन्- विशेष गरी तेलका माध्यमबाट।

२०१७ मा, जब उनी विदेशमन्त्री थिइन्, भेनेजुएलाले ट्रम्पको उद्घाटन समितिलाई आफ्नो तेल सहायक कम्पनीमार्फत आधा मिलियन डलर दान गरेको थियो। कार्यवाहक राष्ट्रपति बनेदेखि उनले अमेरिकामा लाखौँ ब्यारेल तेल पठाउने प्रस्ताव गरेकी छिन् र २०१९ मा बन्द भएको कराकसस्थित अमेरिकी दूतावास पुनः खोल्ने सम्भावना खोज्न अमेरिकी 'चार्ज डी अफेयर्स' जोन म्याकनामाराको भ्रमणलाई अनुमति दिएकी छिन्।

अहिलेसम्म, ह्वाइट हाउसलाई आकर्षित गर्ने उनको प्रयास फलदायी देखिएको छ। ट्रम्प र अन्य प्रमुख प्रशासनिक अधिकारीहरूले सङ्केत गरेका छन् कि उनीहरूले रोड्रिगेजलाई एक स्थिर र व्यावहारिक विकल्पको रूपमा हेर्छन्, जोसँग अमेरिकाले काम गर्न सक्छ र जो बहुमूल्य व्यापारिक अवसरहरूका लागि खुला छिन्।

तर उनी कुनै निश्चित ग्यारेन्टीबिना धेरै गाह्रो दोहोरो खेल खेलिरहेकी छिन् भन्छन्, विदेश सम्बन्ध परिषद्का ल्याटिन अमेरिका अध्ययनका फेलो विल फ्रीम्यान।​ 'रोड्रिगेजले ट्रम्प प्रशासनलाई आफू उनीहरूको उद्देश्यका लागि सहकार्यका साथ काम गरिरहेकी छु भनेर विश्वस्त पार्नु पर्छ,' उनले सीएनएनसँग भने, 'तर उनले मादुरो शासनका कट्टरपन्थीहरू र सेनालाई पनि विश्वस्त पार्नु पर्छ। हामी हेर्नेछौँ कि उनी कति समयसम्म त्यो डोरीमा हिँड्न सक्छिन्।' सीएनएन

salt training

कमेन्ट गर्नुहोस्