२९ असार २०८३, सोमबार

बालेनले ओलीविरुद्ध उम्मेदवारी दिने चर्चाबीच के छ झापा– ५ को माहोल ?

माघ २, २०८२
विराटनगर
बालेनले ओलीविरुद्ध उम्मेदवारी दिने चर्चाबीच के छ झापा– ५ को माहोल ?

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उम्मेदवारी दिने चर्चा यतिबेला व्यापक बनेको छ । राजनीतिक वृत्तमा मात्र होइन, सामाजिक सञ्जालदेखि चिया पसलसम्म बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनावी मैदानमा उत्रने चर्चा चलिरहेको छ ।

बालेनले झापा– ५ मा चुनाव प्रचारका लागि सचिवालय स्थापना गर्न उपयुक्त घर खोजिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेताहरू बताउँछन् । त्यसका लागि उनले रास्वपा झापाका नेताहरूलाई घरको फोटो र भिडियो पठाउन आग्रह गरेका थिए ।

नेताहरूका अनुसार तीनवटा घरका फोटो र भिडियो बालेनलाई पठाइसकिएको छ । रास्वपा झापाका कार्यवाहक सभापति प्रकाश पाठकका अनुसार केही दिनअघि उनीसहितको टोली विशेष प्रस्ताव लिएर काठमाडौँ पुगी बालेनसँग भेटेको थियो । झापामा रास्वपाको संगठन बलियो भए पनि एमाले अध्यक्ष ओलीजस्ता ‘हेभीवेट’ नेतासँग प्रतिस्पर्धा गर्न सक्ने कदको उम्मेदवार अभाव रहेको निष्कर्ष निकाल्दै उक्त टोलीले बालेनलाई झापा–५ बाट चुनाव लड्न औपचारिक आग्रह गरेको थियो ।

चितवनपछि झापा नै रास्वपाको सबैभन्दा बलियो संगठन र जनाधार भएको जिल्ला रहेको दाबी गर्दै पाठकले सभापति रवि लामिछानेले चितवन रोजेपछि झापाको मैदान बालेनका लागि सुरक्षित र उपयुक्त हुने तर्क अघि सारेका छन् । बालेनले पनि उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिँदै यही माघको ५ वा ६ गते झापा आउने नेताहरूलाई आश्वासन दिएका छन् । ६ गते त उम्मेदवारी मनोनयनकै समय तोकिएको छ ।

यसअघि रास्वपाका प्रवक्ता मनिष झा, नेतृ सोविता गौतमसहितको टोलीले झापा क्षेत्र नम्बर ५ मा पुगेर नेता तथा कार्यकर्तासँग भेटघाट गरिसकेको थियो । बालेन रास्वपामा प्रवेश गर्नुअघि नै उनीहरू झापा पुगेका थिए । केही स्थानीय नेताहरूले सोविताको जीतको दाबीसमेत गरेका थिए । तर, बालेन पार्टीमा आएपछि उनी सोविताभन्दा ‘हेभीवेट’ उम्मेदवार हुने र ओलीको विरासतलाई चुनौती दिन सक्ने क्षमता उनैमा रहेको निष्कर्षसहित बालेनलाई अगाडि सारिएको चर्चा रास्वपा वृत्तमा छ । बालेनको पक्षमा माहोल बनाउन रास्वपाका नेताहरू उत्साहित देखिएका छन् ।

पटक-पटक प्रधानमन्त्री हुँदै आएका 'हेभीवेट' नेता ओलीसँग प्रतिस्पर्धा गर्न त्यति सहज भने छैन । यहाँ एमालेको संगठन निकै बलियो छ ।

२०७९ को निर्वाचनको तथ्याङ्कअनुसार झापा–५ मा एमालेले समानुपातिकतर्फ ३५ हजार ८७२ मत ल्याउँदै वर्चस्व कायम गरेको थियो । रास्वपा १८ हजार २०५ मतसहित दोस्रो स्थानमा थियो भने कांग्रेसले १६ हजार ८५९ र माओवादीले ८ हजार ६८० मत प्राप्त गरेका थिए ।

बालेनलाई कांग्रेससहित अन्य साना दलका मत तान्नुपर्ने चुनौती छ । राजनीतिक वृत्तमा बालेनलाई रोक्न कांग्रेस र एमालेबीच चुनावी तालमेल हुन सक्ने चर्चा पनि चलिरहेको छ । अर्कोतर्फ, बालेनको उम्मेदवारीलाई लिएर स्थानीय पाको पुस्तामा खासै उत्साह देखिएको छैन । दमक– १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारीका अनुसार यो चर्चा मुख्यतया मिडियामै सीमित छ ।

एमालेका कोशी प्रदेशसभा सदस्य तथा एमाले झापाका नेता होमबहादुर थापाले बालेनको कदमलाई रवि लामिछानेको राजनीतिक चालको रूपमा व्याख्या गरेका छन् । लामिछानेले आफ्नो राजनीतिक भविष्यमा बाधक बन्न सक्ने बुझेर बालेनलाई झापा पठाएको उनको विश्लेषण छ ।

बालेनको प्रभाव सामाजिक सञ्जालमा मात्र सीमित रहेको र झापाको धरातलीय राजनीतिमा ओलीलाई पराजित गर्न असम्भव रहेको एमालेको दाबी छ ।

केही नेताहरूले यसलाई ‘मिडिया ट्रायल’ को संज्ञा दिँदै बालेनले चर्चाका लागि मात्र यस्तो प्रचार गरेको बताएका छन् । रास्वपाका नेताहरूका अनुसार आगामी ५ गते जनकपुर जाने कार्यक्रम राखेका बालेनले सोही दिन झापाका नेताहरूसँग भेट्ने बताइएको छ । यदि बालेन साँच्चै चुनावी मैदानमा उत्रिए भने झापा–५ को प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

बालेन झापाबाट उठ्ने चर्चासँगै सामाजिक सञ्जालमा ओली आफ्नै गृह जिल्ला तेह्रथुमबाट उम्मेदवार बन्ने हल्ला पनि फैलिएको छ । तर, एमाले नेताहरूले यसलाई गलत प्रचारको संज्ञा दिन्छन् । एमाले तेह्रथुमका अध्यक्ष शिव ढुंगानाका अनुसार अध्यक्ष ओली तेह्रथुमबाट उठ्ने कुनै तयारी वा चर्चा छैन । अध्यक्ष ओलीले झापा ५ मै पहिलेजस्तै शानदार जीत हासिल गर्ने एमालेको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्