
एन्फा राष्ट्रिय लिग फूटबल प्रतियोगिताको शनिबार सम्पन्न पहिलो खेलमा चित्लाङ फूटबल क्लब विजयी भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिएको खेलमा काठमडौंको चित्लाङ फूटबल क्लबले सिमराको नव जनजागृति युवा क्लबलाई २–१ गोलले हरायो ।
पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएपछि दोस्रो हाफमा चित्लाङ फूटबल क्लबले निर्णायक गोल गरेको थियो ।
खेल शुरू भएको २८औं मिनेटमा चित्लाङ फूटबल क्लबका लागि म्याथ्यू बाबातुन्डेले पहिलो गोल गरेका थिए । तर, चित्लाङको त्यो अग्रता लामो समय टिक्न सकेन ।
निर्धारित समयको ३६औं मिनेटमा नव जनजागृति युवा क्लबका उदितनारायणले जवाफी गोल गरेका थिए ।
खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा निर्धारित समयको ६२औं मिनेटमा चित्लाङका लागि सोलोमोन इल्सानमीले निर्णायक गोल गरेका थिए ।
काठमाडौंको चित्लाङ एफसी र सिमराको नव जनजागृति एन्फा प्रेसिडेन्ट लिगमा उत्कृष्ट प्रदर्शन गर्दै एन्फा राष्ट्रिय लिगमा छनोट भएका हुन् ।
एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा चित्लाङ फूटबल क्लबले नव जनजागृति युवा क्लबलाई पराजित गरेको थियो ।
शनिबारको दोस्रो खेल घरेलु फूटबलका दुई प्रभावशाली टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेलिने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी क्लब भिड्दैछन् । उनीहरूबीच दिउँसो २ बजेबाट शुरू भएको हो ।
यसैगरी, शनिबारको तेस्रो खेल प्लानिङ ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच खेलिने छ । यो खेल साँझ ६:३० बजे दशरथ रंगशालामा शुरू हुनेछ ।