२७ असार २०८३, शनिबार
कांग्रेसभित्रको राजनीति

सूची नै बोकेर देउवा पक्ष भाग खोज्न आएपछि कांग्रेसको टिकट वितरणमा ढिलाइ

सबैलाई समेटेर लैजाऔँ भन्ने हाम्रो प्रयास छ, आज टुंग्याउँछौं : सभापति थापा
माघ ५, २०८२
काठमाडौं
सूची नै बोकेर देउवा पक्ष भाग खोज्न आएपछि कांग्रेसको टिकट वितरणमा ढिलाइ

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पनि भाग खोजेपछि नेपाली कांग्रेसको टिकट वितरणमा ढिलाइ भएको छ । सभापति गगन थापालाई भेटेरै देउवा पक्षले भाग खोजेपछि टिकट वितरणमा ढिलाइ भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । 

उनका अनुसार कांग्रेसले हिजो (आइतबार) नै हिमाली र केही पहाडी जिल्लाको टिकट फाइनल गर्ने तयारी गरेको थियो । तर, देउवा पक्षले पनि भाग खोजेपछि त्यो हुन सकेन । 

स्रोतका अनुसार हिजै राति करिब २५ जिल्लाको टिकट टुंगो लगाएर सार्वजनिक गर्ने तयारी भएको थियो । तर, नाटकीय रूपमा देउवा समूहले टिकटमा सहभागिता खोजेपछि अन्तिममा रोकिएको हो । 'रमेश लेखक र डा. मिनेन्द्र रिजाल पठाएर उहाँहरूले आफ्न‍ो हिस्सा खोज्नुभयो,' बैठकमा सहभागी एक पदाधिकारीले सोमबार बिहान लोकान्तरसँग भने ।

लेखक र रिजाल उम्मेदवारको लिस्ट नै बोकेर गएका थिए । तर, कांग्रेस नेताहरूले टिकट दिन तयार भए पनि अदालतमा दायर रिट फिर्ता लिनुपर्ने शर्त राखेका थिए । 'उहाँहरू लिस्ट नै बोकेर आउनुभयो र भाग माग्नुभयो,' ती पदाधिकारीले भने, 'हामी टिकट दिन तयार भयौं । तर, मुद्दा फिर्ता हुनुपर्छ भन्ने शर्त हामीले राखेका छौं । जवाफ आएको छैन ।' 

त्यसपश्चात सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहित संसदीय बोर्ड सदस्यले असन्तुष्ट पक्षलाई पनि टिकट दिनुपर्छ भन्दै उम्मेदवारक‍ो सूची ननिकालेको ती पदाधिकारीले बताए । 'उहाँहरूले चाहेको मनोनयनको समय बढाउनु थियो । तर, समय बढेन । अब उहाँहरूलाई पनि भाग दिनैपर्छ,' अब के हुन्छ भन्ने प्रश्नमा अर्का पदाधिकारीले लोकान्तरसित भने । 

ती पदाधिकारीले आज बिहान ११ बजेबाट जिल्लागत टिकट फाइनल गर्दै अघि बढ्ने तयारी भएको बताए । 'हिजो फाइनल भएन । समय बढाउन नसकेर उहाँहरू भाग खोज्न आएपश्चात् अब सबै पक्षलाई मिलाएर निर्वाचन क्षेत्रगत टिकट फाइनल गर्दै अघि बढ्छौं,' उनले भने ।

सभापति थापाले पनि उम्मेदवार छान्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै उनले सबैलाई मिलाएर लैजाने प्रयास भैरहेको बताएका हुन् । 

समयको चाप भए पनि नयाँ-पुराना सबैलाई मिलाएर लैजान संवाद गरिरहेको उनको भनाइ छ । 'उम्मेदवार छान्ने अन्तिम चरणमा छौं । सबैलाई समेटेर लैजाऔँ भन्ने हाम्रो प्रयास रहेको छ,' सन्देशमा उनले भनेका छन्, 'सकेसम्म नयाँ र पुरानो सन्तुलन  र सबैलाई न्याय दिने हाम्रो प्रयास छ । समयको चाप पनि छ । एकता कायम गर्न संवाद गरिरहेका छौं । हामी आज सबै टुंग्याउँछौं ।'

जसले टिकट पाए पनि रुख चिन्हको आधिकारिकता लिएर आउनेलाई सघाउन उनले नेता कार्यकर्तालाई अपिल पनि गरेका छन् । 

काठमाडौंको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनिएपछि देउवा पक्ष असन्तुष्ट छ । निर्वाचन आयोगले समेत विशेष महाधिवेशनलाई आधिकारिता दिएपछि देउवा पक्ष अदालत पुगेको छ । 

आयोगको निर्णयविरुद्ध आइतबार दायर गरिएको रिटमा माघ ६ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी मनोनयन समेत रोक्न माग गरिएको छ ।

शेरबहादुर देउवा, पूर्णबहादुर खड्कालगायत निवेदक रहेको रिटमा माघ ६ गते हुने मनोनयन स्थगित गरी अर्को मिति तोक्नुपर्ने माग गरिएको छ । देउवा समूहले दायर गरेको रिट दर्ता भएको र मंगलबारका लागि पेसी तोकिएको छ ।
 

कमेन्ट गर्नुहोस्