२९ असार २०८३, सोमबार
१६५ मध्ये ३ क्षेत्रमा मात्र उम्मेदवार

मोरङका तीन क्षेत्रमै खुम्चियो योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी

माघ ८, २०८२
विराटनगर
मोरङका तीन क्षेत्रमै खुम्चियो योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी

गत भदौको जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा वैकल्पिक शक्तिको नारा दिएर नयाँ दलहरू खुल्ने बहार आयो । आगामी चुनावअघि धेरै दल निर्वाचन आयोगमा दर्ता भए । यही भिडमा आएको थियो ‘राष्ट्रिय ऊर्जाशील पार्टी नेपाल’ पनि ।

तर, प्रतिनिधि सभा निर्वाचनमा भने पाटीले खासै ऊर्जा देखाउन सकेन । नाम ‘राष्ट्रिय’ राखिए पनि यो पार्टीले देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये जम्मा ३ मा मात्र उम्मेदवार उठाएको छ । बाँकी १६२ क्षेत्रमा उम्मेदवार नै नपाएको ऊर्जाशीलकै नेताहरू बताउँछन् ।

यो पार्टीको मुख्य शक्ति र आधार क्षेत्र मोरङ हो । पार्टीका केन्द्रीय अध्यक्ष योगेन्द्र मण्डल आफैँ मैदानमा छन् ।  २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा मण्डलले मोरङ क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारका रूपमा सनसनीपूर्ण जीत निकालेका थिए । त्यतिबेला नेकपा एमाले र जसपाको गठबन्धनका कारण आफ्नो टिकट खोसिएपछि उनले ‘चापाकल’ चुनाव चिन्ह लिएर बागी उम्मेदवारी दिएका थिए ।

उनले २१ हजार ८२० मत ल्याएर तत्कालीन सत्ता र प्रतिपक्षी दुवै गठबन्धनका उम्मेदवारलाई स्तब्ध पारेका थिए । त्यतिबेला उनले माओवादीका शिवकुमार मण्डल र जसपाका राजकुमार यादवजस्ता हस्तीहरूलाई पराजित गरेका थिए ।

अहिले उनै मण्डलले आफ्नो स्वतन्त्र पहिचानलाई त्यागेर राष्ट्रिय ऊर्जाशील पार्टी गठन गरेका छन् र निर्वाचन आयोगबाट पुरानै चुनाव चिन्ह ‘चापाकल’ प्राप्त गरेका छन् ।

तर, आफ्नै नेतृत्वमा पार्टी बनाएर मैदानमा होमिँदा मण्डलले सोचेजस्तो साथ र समर्थन जुटाउन सकेको देखिँदैन । पार्टीले मोरङका तीन क्षेत्रबाहेक अन्यत्र कतै पनि उम्मेदवार खडा गर्न सकेन ।

मोरङ क्षेत्र नम्बर २ मा उम्मेदवार बनाइएका मनोजकुमार राजवंशी अध्यक्ष मण्डलकै कर्मचारी हुन् । उनी मण्डलद्वारा सञ्चालित जीवन विकास सामुदायिक अस्पतालमा मार्केटिङ विभागमा कार्यरत थिए । पार्टीमा बाहिरबाट कोही पनि सक्षम उम्मेदवार नआएपछि मण्डलले आफ्नै कर्मचारीलाई राजीनामा दिन लगाएर चुनावी मैदानमा उतारेको चर्चा मोरङको राजनीतिक वृत्तमा व्याप्त छ ।

null

पूर्वमाओवादी पृष्ठभूमिका राजवंशीलाई ‘डमी’ उम्मेदवारका रूपमा खडा गरिएको आरोप विपक्षीहरूले लगाउन थालेका छन् । त्यस्तै, मोरङ क्षेत्र नम्बर ३ बाट पार्टीले भुवनकुमार वाग्लेलाई उम्मेदवार बनाएको छ । वाग्ले पनि पूर्वमाओवादी कार्यकर्ता हुन् ।  ऊर्जाशील पार्टीमा नयाँ र ऊर्जावान् युवाहरूभन्दा पनि अध्यक्ष मण्डलको व्यक्तिगत प्रभावमा रहेका व्यक्तिहरू र अन्य दलका असन्तुष्ट पुराना अनुहारहरूको मात्रै बाहुल्यता देखिएको छ ।

देशभरि आफ्नो सङ्गठन विस्तार गर्ने दाबी गरेको पार्टीले आफ्नै जिल्लाका ६ वटा क्षेत्रमध्ये पनि जम्मा ३ वटामा मात्रै उम्मेदवारी दिएको छ ।

अध्यक्ष मण्डलको भने आफ्नै तर्क छ । उनी पार्टी गठन भएको छोटो समय भएकाले सबैतिर उम्मेदवारी दिन नसकिएको दाबी गर्छन् । उनी भन्छन्, ‘हामीले पार्टी दर्ता गरेर काम शुरू गरेको जम्मा दुई–अढाइ महिना मात्र भएको छ । यति छोटो अवधिमा देशभरका सबै क्षेत्रमा योग्य उम्मेदवार छनोट गर्न र सङ्गठन निर्माण गर्न सम्भव भएन । त्यसैले हामीले योपटक हाम्रो पकड बलियो भएका क्षेत्रमा मात्रै केन्द्रित हुने निर्णय गरेका हौँ ।’

मण्डल जीवन विकास लघुवित्तका सञ्चालकसमेत हुन् ।  जीवन विकास लघुवित्तका सञ्जाल मोरङमा निकै बलियो छ । उनले यही व्यावसायिक सञ्जाललाई राजनीतिक शक्तिमा बदल्ने प्रयास गरिरहेका छन् ।

मोरङ ५ मा यसपटक १ लाख १० हजार १७७ मतदाता रहेका छन । अघिल्लोपटक स्वतन्त्र उठ्दा मण्डललाई गठबन्धनप्रति असन्तुष्ट रहेका एमाले र अन्य दलका कार्यकर्ताको ठूलो साथ मिलेको थियो । तर, यसपटक परिस्थिति फेरिएको छ । अहिले उनी आफ्नै पार्टीको चिन्ह लिएर मैदानमा छन् र सबै दलहरूले पनि आ–आफ्ना उम्मेदवार उठाएका छन्  ।

कमेन्ट गर्नुहोस्