
आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा स्कटल्यान्डले पहिलो जित हात पारेको छ । स्कटल्यान्डले बिहीबार जिम्बाब्वेलाई पाँच विकेटले हरायो ।
जितसँगै स्कटल्यान्डले ‘सुपर–६’ चरण प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । समूह ‘बी’ मा सबै टोलीले कम्तीमा दुई खेल खेलिसक्दा नेपाल र जिम्बाब्वे मात्र अंकविहीन छन् ।
लगातार तीन जितसँगै नेदरल्यान्ड्स ६ अंकसहित उक्त समूहबाट ‘सुपर–६’ चरणमा पुगिसकेको छ । दुवै खेलमा विजयी भएको थाइल्याण्ड चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
दुई खेल खेलेको स्कटल्याण्ड दुई अंकसहित तेस्रो स्थानमा छ । नेपाल र जिम्बाब्वेले अंक जोड्न सकेका छैनन् । नेपालले दुई र जिम्बाब्वेले तीन खेल खेलिसकेका छन् ।
मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको जिम्बाब्वेले १८.४ ओभरमै अलआउट हुनुअघि एक सय एक रन बनाएको थियो ।
सामान्य विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले भने १३.४ ओभरमै पाँच विकेट गुमाएर सजिलो जित हात पार्यो ।
स्कटल्याण्डको जितमा क्याथरिन फ्रासरले ४४ रनको योगदान गरिन् । उनले केवल ३० बलमा एक छक्का र सात चौका प्रहार गरिन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पीएनजी र अमेरिका छन् ।
समूह ‘बी’ मा नेपाल, नेदरल्यान्ड्स, स्कटल्याण्ड, थाइल्याण्ड र जिम्बाब्वे रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुईवटै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् ।
‘सुपर–६’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले आगामी महिला टी–२० विश्वकपमा स्थान बनाउने छन् ।
यद्यपि, ‘सुपर–६’ चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सेमिफाइनल र फाइनल खेलका लागि पनि भिडन्त गर्नेछन् ।