
नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापाको उम्मेदवारीका कारण सिंगो देशको ध्यान अहिले सर्लाही- ४ मा केन्द्रित भएको छ ।
एकातर्फ गगन र अर्कातर्फ सो क्षेत्रबाट लगातार चुनाव जित्दै आएका अमरेश कुमार सिंह (हाल रास्वपा)को प्रतिस्पर्धाले सबैको ध्यान सर्लाही ४ तर्फ केन्द्रित भएको हो ।
उक्त क्षेत्रमा विष्णु गाउँपालिकाको ४ वटा, गोडैता नगरपालिकाको १२ वटा, बलरा नगरपालिकाको ११ वटा, रामनगर गाउँपालिकाको ७ वटा, धनकौल गाउँपालिकाको ७ वटा, बसबरिया गाउँपालिकाको ३ वटा र बरहथवा नगरपालिकाको ७ वटा गरी कुल ५१ वटा वडा पर्छन् ।
२०७९ सालको स्थानीय चुनावमा विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव कांग्रेसबाट निर्वाचित भएका थिए । गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादव पूर्व लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबाट निर्वाचित भएर हाल जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध छन् ।
बलरा नगरपालिकाका प्रमुख रामशंकरप्रसाद कुशवाहा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर हाल नेपाली कम्युनिष्ट पार्टीमा आबद्ध छन् ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव पूर्व सांसद शिवपूजन यादवका छोरा हुन् ।
शिवपूजनकै अर्का छोरा अमनिशकुमार यादव नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार छन् ।
धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह नेपाली कांग्रेसबाट जितेका हुन् । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय जसपामा आबद्ध छन् । बरहथवा नगरपालिकाका नगर प्रमुख कल्पनाकुमारी कटुवालले एमालेबाट चुनाव जितेकी हुन् ।
त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट मधेश प्रदेश सभा सदस्य तथा कांग्रेसका मधेश प्रदेश उपसभापति समेत रहेका वीरेन्द्र सिंह उम्मेदवार हुन खोजेका थिए । तर, पार्टी सभापति थापा नै उठ्ने भएपछि उनी र उनका दाजु सुरेन्द्रप्रसाद सिंहले थापाको चुनावी कमान्डर भएर प्रचार–प्रसारको अगुवाइ गरिरहेका छन् ।

सुरेन्द्र सिंह कांग्रेस सर्लाहीका सभापति थिए । उनी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएपछि उनले केही महिनाअघि मात्र जिल्ला सभापति पदबाट राजीनामा दिएका छन् ।
मधेश प्रदेश सांसद वीरेन्द्र सिंह आफैं त्यस क्षेत्रबाट २०७४ र २०७९ मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पहिलेदेखिकै कांग्रेसको संगठनात्मक भोट र पछिल्लो समय पार्टी प्रवेश गरिसकेका विभिन्न वडाका उम्मेदवारहरूका कारण गगनले जित्ने दाबी उनले गरे । केही दिनभित्रै अन्य पार्टीबाट थुप्रे नेता/कार्यकर्ता प्रवेश गर्ने उनले बताए ।
बलरा नगरपालिकाका ११ वटा वडामध्ये ६ जना वडाध्यक्ष कांग्रेसकै रहेको उनले बताए ।
त्यसैगरी, गोडैता नगरपालिकामा वडा नम्बर ६ र वडा नम्बर ९ गरी २ वटा वडाको वडाध्यक्ष कांग्रेसबाट निर्वाचित छन् ।
त्यसमा वडा नम्बर १–२ मा माओवादीबाट र ११ मा एमालेबाट चुनाव जितेका वडाध्यक्षहरू कांग्रेस प्रवेश गरिसकेको उनले बताए ।
त्यसैगरी, बलरा ७ र ८ का वडाध्यक्ष (जसपा)का उम्मेदवार तथा वडा नम्बर ४ मा एमालेबाट प्रतिस्पर्धी रहेका उम्मेदवार कांग्रेस प्रवेश गर्ने तयारी भएको उनले बताए ।
रामनगर गाउँपालिकामा शिवपूजन यादवका छोरा गाउँपालिका अध्यक्ष भएपनि स्थानीय तहको चुनावमा डा. अमरेश कुमार सिंहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका राहुल बर्माको नेतृत्वमा थुप्रै कार्यकर्ताहरू कांग्रेस प्रवेश गरिसकेको उनले बताए ।
स्थानीय तहमा अमरेश कुमार सिंहको तर्फबाट समेत उम्मेदवार बन्दा झन्डै २ हजार जति कार्यकर्ता विभाजित भएकोमा अहिले धेरैजसो कांग्रेसमा फर्किसकेको उनको कथन छ ।
धनकौल गाउँपालिकाको अध्यक्ष नै कांग्रेसको भएकाले त्यस गाउँपालिकामा कांग्रेसको अवस्था बलियो नै रहेको उनी बताउँछन् । बलरा नगरपालिकामा वडा नम्बर १,३,४,५,७ र ८ गरी कुल ६ वटा वडाका वडाध्यक्षहरू कांग्रेसबाटै निर्वाचित भएको उनले बताए ।
त्यसबाहेक थप २ वटा वडाका वडाध्यक्ष कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको उनले खुलाए । बलरा नगरपालिकाका नगर प्रमुखका पूर्व उम्मेदवार डा. कमलेश्वर सिन्हा, पूर्व प्रमुख जिल्ला अधिकारी नागेन्द्र झा, पूर्व सांसद केदार नन्दन चौधरी, नेता केदारसिंह सहितका व्यक्तित्वहरू समेत कांग्रेस प्रवेश गरिसकेकाले बलरा नगरपालिकामा संगठनको स्थिति बलियो रहेको उनको जिकिर छ ।
विष्णु गाउँपालिकामा वडा नम्बर ३ र ४ का वडाध्यक्ष कांग्रेसले नै जितेको तथा पकरी टोलमा ४ सय जना स्थानीय हालसालै कांग्रेसमा प्रवेश गरेको उनले बताए ।
बसबरिया गाउँपालिकामा वडा नम्बर २ र ३ का वडाध्यक्ष कांग्रेसको हुनुका साथै वडा नम्बर १ मा माओवादीबाट वडाध्यक्षमा उठेका उम्मेदवार कांग्रेसमा प्रवेश गरिसकेको जिकिर उनले गरे ।
बरहथवा नगरपालिकाका २ वटा वडामा गोलाप्रथामा कांग्रेसले चुनाव हारेको तथा वडा नम्बर ३ का वडाध्यक्ष कांग्रेसबाट निर्वाचित भएका कारण तीनवटा वडामा कांग्रेस नै बलियो रहेको उनको जिकिर छ । वडा नम्बर १ बाट साविकको माओवादी केन्द्रका इन्चार्ज उद्धव न्यौपाने, नरनारायण सहनीसहितका नेताहरू कांग्रेस प्रवेश गरिसकेको उनको कथन छ ।
त्यस नगरपालिकाको वडा नम्बर २ मा कांग्रेसकै वडाध्यक्ष छन् । वडा नम्बर १४ का जसपाका वडाध्यक्षका उम्मेदवार चन्दन ठाकुर कांग्रेसमा प्रवेश गरिसकेको उनले बताए ।
कमजोर छैनन् अमरेश
अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवारी मनोनयन दर्ता गराएका डा. अमरेश कुमार सिंह भने यसपटक मधेशका छोरा बालेनको नेतृत्वमा सरकार बनाउने कुरा भएकाले आफ्नो जीत सुनिश्चित रहेको बताउँछन् ।
सिंहले २०७० (संविधानसभा), २०७४ र २०७९ मा लगातार तीनपटक चुनाव जितिसकेका छन् । २०७० र २०७४ मा कांग्रेसबाटै चुनाव जितेको भएपनि २०७९ मा कांग्रेसको बागी उम्मेदवारको रूपमा स्वतन्त्र उम्मेदवारी दिएर उनले चुनाव जितेका थिए ।
आफू लगातार त्यस क्षेत्रको जनप्रतिनिधि हुनुका साथै जनताको सुख–दु:खमा सधैं साथमा रहेकाले बाहिरबाट आएका उम्मेदवारलाई क्षेत्रका जनताले नपत्याउने उनले बताए ।
‘म यहाँ तीनपटक चुनाव जितेको जनप्रतिनिधि हो । मैले यस क्षेत्रका जनतालाई सुखदेखि दु:खसम्म साथ दिँदै आएको छु,’ सिंहले लोकान्तरसँग भने, ‘२०७९ मा त मैले कांग्रेसकै उम्मेदवारलाई हराएको हो नि ! त्यतिबेला काम नगरेको संगठनले अहिले पनि काम गर्दैन ।'

२०७९ मा सिंहले २० हजार १७ मत ल्याएर चुनाव जित्दा कांग्रेसका नागेन्द्रकुमार यादवले १८ हजार २५३, शिवपूजन यादवकी छोरी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएका थिए ।
२०७९ मा स्वतन्त्र उठेर जितेको अवस्थामा यसपटक त रास्वपा पार्टी र त्यसको संगठन सबै आफ्नो पक्षमा रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको सिंहले बताए ।
‘यसपटक जेनजी आन्दोलनको बलमा सत्ताको तख्तापलट नै भएको हो । रास्वपा जेनजी आन्दोलनको एउटा स्टेक होल्डर पनि हो,’ सिंहले लोकान्तरसँग भने, ‘यसपटक बालेनको नेतृत्वमा सरकार बनाएर परिवर्तन गर्ने जनताको चाहना भएकाले गगन थापादेखि अन्य उम्मेदवार जोसुकै भए पनि मेरो जीत सुनिश्चित छ ।’
सर्लाही- ४ मै नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवको पनि चर्चा छ । उनी २०६४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपालबाट संविधान सभा सदस्यमा निर्वाचित भएका शिवपूजन यादवका छोरा हुन् ।
गत निर्वाचनमा शिवपूजनकी छोरी मधुमाला कुमारीले १४ हजार ६२२ मत ल्याएकी थिइन् । शिवपूजनका अर्का छोरा राजाबाबु यादव रामनगर गाउँपालिकाको अध्यक्ष छन् । यसपटक पनि मधुमालाले उम्मेदवारी दिएकी छिन् ।
शिवपूजनले २०७० सालमा तमसपाबाट उम्मेदवारी दिँदा कांग्रेसका उम्मेदवार अमरेश सिंहबाट पराजित भएका थिए । त्यस पछि २०७४ सालमा पनि शिवपूजनले प्रतिनिधि सभाको उम्मेदवारका लागि मनोनयन दर्ता गराएका थिए ।
तर, कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा विशेष अदालतले दोषी ठहर गरेको भन्ने उजुरीका आधारमा निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
त्यसबेला उनी वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनको उम्मेदवारी मनोनयन बदर भएपछि कांग्रेसका अमरेश कुमार सिंहले चुनाव जितेका थिए ।
२०७४ सालको निर्वाचनमा अमरेश कुमार सिंह २९ हजार ६७५ मतसहित निर्वाचित हुँदा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राकेश मिश्रले २८ हजार १३६ मत ल्याएका थिए ।
राकेश मिश्रको त्यति मत आउनुको पछाडि महन्थ ठाकुरको मतको लिगेसी थियो । २०६४ र २०७० सालमा तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष रहेका ठाकुर पहिलोपटक शिवपूजनबाट र दोस्रोपटक अमरेश कुमार सिंहबाट पराजित भएका थिए । २०७४ मा ठाकुर महोत्तरी- ३ पुग्दा उनको मतको लिगेसी मिश्रले पाएका थिए ।
यसपटक छोरा अमनिश उम्मेदवार भएकाले शिवपूजनको समेत चर्चा छ, किनभने त्यस क्षेत्रमा जातिको आधारमा हेर्दा यादव जातिको नै सबैभन्दा बढी मत छ । यादव जातिको मतमा पकड बनाएका शिवपूजन आफ्नो राजनीतिक विरासतलाई कायम राख्न पनि छोरालाई जिताउन लागिपरेका छन् ।
२०७९ सालको स्थानीय चुनावमा कान्छो छोरालाई रामनगर गाउँपालिकाको अध्यक्ष (उमेरमा देशभरिकै कान्छो) जिताएका उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा छोरी मधुमालालाई पनि जिताउन लागिपरेका थिए । सम्मानजनक मत ल्याए पनि उनले जित्न भने सकिनन् । यसपटक जेठो छोरा अमनिशलाई जिताउन उनी लागे पनि त्यस क्षेत्रमा यादव जातकै अन्य उम्मेदवार उठेका कारण त्यति सहज नहुने देखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय यादव र जसपा नेपालबाट पूर्वमन्त्री समेत रहेका रामेश्वर राय यादव समेत उम्मेदवार रहेकाले यादव जातिको जातिगत मत विभाजन हुने देखिन्छ ।
यादव जातिको मत विभाजन हुनुले आफ्नो छोरालाई केही पनि फरक नपर्ने शिवपूजन बताउँछन् । ‘२०७९ सालमा पनि यादव जातिकै नागेन्द्र कुमार कांग्रेसबाट चुनाव लड्नुभएको थियो । तर पनि मेरी छोरी मधुमालाले १५ हजार मत ल्याएकी थिइन्,’ शिवपूजनले लोकान्तरसँग भने, '१५ हजार त मेरो आफ्नै पकेटको भोट हो, जुन कुरा मेरी छोरीले ल्याएर प्रमाणित गरिसकेकी छिन् ।’
आफू दिनरात क्षेत्रका जनताका लागि काम गर्दै आएकाले आफ्नो छोरा यसपटक चुनाव जित्ने उनको कथन छ ।
२०७९ सालमा नेपाली कांग्रेसका तत्कालीन महामन्त्री गगन थापा आउने भनेकाले आफूले त्यतिबेला सीट छाड्न तयार भएको उनले खुलाए । तर, गगन काठमाडौं- ४ मै लड्ने भएपछि आफूले छोरीलाई उम्मेदवारको रूपमा अघि सारेको उनले बताए ।

उसो त यसपटक पनि छोरासँगै छोरी मधुमालाले पनि उम्मेदवारी दिएकी छन् । तर, छोरीको उम्मेदवारी चुनावमा गाडी, घोडासहित सुविधा लिनका लागि मात्र रहेको उनले खुलाए ।
आफूले महन्थ ठाकुर र अमरेश सिंहलाई एकसाथ २०६४ सालमा चुनाव हराएको हुनाले पनि आफ्नो पकेटको मत अझै आफूसँगै रहेको उनले बताए ।
जसपा नेपालबाट उम्मेदवारी दिएका रामेश्वर राय यादव पनि चर्चित नेता हुन् । तर, उनको साविकको क्षेत्र भनेको सर्लाही- ३ हो । त्यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट टिकट नपाएपछि उनले जसपा नेपाल प्रवेश गरेर सर्लाही- ४ बाट टिकट पाएका हुन् ।
साविकको लोसपाको संगठनात्मक मतका आधारमा उनको स्थिति पनि कमजोर नरहेको जसपा नेपालका नेता मनिषकुमार मिश्र बताउँछन् । त्यहाँबाट चुनाव उठ्ने तयारी समेत गरेका मिश्रले भने टिकट पाउन सकेनन् ।
जसपा नेपालका उम्मेदवार यादव क्षेत्रका जनताले शान्ति सुव्यवस्था र अमनचयनका लागि पनि आफूलाई नै जिताउने दाबी गर्छन् ।
‘मुख्य कुरा मधेशको मुद्दा हो । मधेशको मुद्दाका लागि पनि जनताले मलाई भोट दिन्छन्,’ यादवले लोकान्तरसँग भने, ‘अरूको आतंकबाट बच्नका लागि पनि मलाई विकल्पको रूपमा जनताले पत्याएका छन् ।’
बीचमा सर्लाही-४ आफ्नो क्षेत्र नरहे पनि सदभावनाको शुरुआति दिनमा आफूले यही क्षेत्रबाट चुनाव लडेको हुनाले जनताले आफ्नो घर फर्किएको भन्दै जिताउने उनको दाबी छ ।
जातिगत आधारमा यस क्षेत्रमा यादवपछि कुशवाहा (कोइरी) र सहनी (मलाह)को वर्चस्व छ । त्यसपछि ब्राह्मण, भूमिहार, दलित, मुस्लिम र पहाडी समुदायको बसोबास छ ।