२७ असार २०८३, शनिबार
दुई ‘हेभीवेट’लाई युवाको चुनौती

गुल्मी–१ : भण्डारी–ज्ञवालीको पाँचौँ भेटमा सागर र सुदर्शनको इन्ट्री, प्रतिस्पर्धा झन् रोचक

माघ १०, २०८२
बुटवल
गुल्मी–१ : भण्डारी–ज्ञवालीको पाँचौँ भेटमा सागर र सुदर्शनको इन्ट्री, प्रतिस्पर्धा झन् रोचक

गुल्मी–१ मा चिरपरिचित ‘हेभीवेट’ प्रतिद्वन्द्वी नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी दुई दशकदेखि आमनेसामने हुँदै आएका छन्। दुई ‘भेट्रान’ उम्मेदवारबीच यसअघि हारजितको ‘लुकामारी’ चल्दै आएको थियो। तर, मुलुकमा बदलिएको राजनीतिक परिवेशसँगै यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सागर ढकाल र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अनुभवी नेता सुदर्शन बरालको प्रवेशले गुल्मी–१ को राजनीति गर्माएको छ।

जिल्लामा यसअघिकै प्रतिस्पर्धीलाई मात्र हेरेर आगामी चुनावी नतिजाको आकलन गर्ने अवस्था छैन। ‘हेभीवेट’ भण्डारी र ज्ञवालीको पाँचौँ भेटसँगै चर्चामा रहेका इन्जिनियर तथा अभियन्ता ढकालको ‘इन्ट्री’ले यो क्षेत्रको चुनाव थप रोचक हुने विश्लेषण गरिएको छ।

गत (२०७९) प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवालाई उनकै गृहजिल्ला डडेलधुरा पुगेर कडा चुनौती दिएका ढकाल यसपालि आफ्नै गृहजिल्ला गुल्मी आएका हुन्। ढकाल र जनतामा भिजेका नेता बरालको उम्मेदवारीपछि मत बाँडिएर चारपक्षीय प्रतिस्पर्धा हुने आकलन छ।

ज्ञवाली र भण्डारी दुवैलाई हराएर गुल्मीमा युवाको राजनीतिक वर्चस्व स्थापित गराउन ढकाल चाहन्छन्। तर, ज्ञवाली र भण्डारी पनि आफ्नो पुरानो विरासत स्थापित गर्दै जित निकाल्ने दाउमा छन्। अनि बराल पनि नतिजा पल्टाउने लक्ष्यमा छन्।

उम्मेदवार ढकालका सहयोगी गोकर्ण नेपाली गत चुनावमा डडेलधुराबाट बिगुल फुकेको स्मरण गर्दै यो पटक गुल्मीबाट जित निकाल्ने दाबी गर्छन्। ‘यसअघिका हरेक निर्वाचनमा दुई जनाबीच प्रतिस्पर्धा हुन्छ भन्ने परिस्थिति बदलिएको छ,’ नेपाली भन्छन्, ‘कांग्रेस–एमालेप्रति नागरिकमा चरम वितृष्णा र फ्रस्टेसन रहेछ। जनताले प्रष्ट परिवर्तन खोजेको देखियो। यो पटक गुल्मीमा नयाँले जित्ने मतदाताले सङ्केत गरिसकेका छन्।’ यी तीनवटै पुराना पार्टीलाई विस्थापित गर्नुपर्छ भनेर ढकालले उम्मेदवारी दिएको नेपालीले बताए।

जिल्लामा प्रमुख राजनीतिक दलका नेता–कार्यकर्ताहरू पनि अहिलेको नतिजा कसको पक्षमा आउँछ भन्ने आकलन गर्न नसक्ने बताउँछन्। विगतमा जस्तै जिल्लामा कांग्रेस कार्यकर्ताले नेता भनेको भण्डारी हो र एमाले कार्यकर्ताले ज्ञवाली हुन् भन्ने भाष्य यो पटक ढकालले चिर्ने चर्चा भइरहेको छ। तर, भण्डारी र ज्ञवाली पनि पार्टी महाधिवेशनपछि आफूहरू सुधारिएर आएको भन्दै मत मागिरहेका छन्।

एमाले केन्द्रीय सदस्य ज्ञवाली २०५६ सालदेखि अहिलेसम्म हरेक निर्वाचनमा उम्मेदवार बन्दै आएका छन्। उनी २०५६, २०६४ र २०७४ को निर्वाचनमा विजयी भएका थिए। ज्ञवालीसँग चार पटक प्रतिस्पर्धा गरिसकेका नेता भण्डारीले दुई पटक २०७० र २०७९ मा जित हासिल गरेका थिए।

यस्तै, नेकपाका बराल २०६४ सालदेखि प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिस्पर्धा गर्दै आएका छन्। नेता बराल २०६४ सालमा प्रतिनिधि सभा र २०७४ सालमा लुम्बिनी प्रदेश सभामा निर्वाचित भएका थिए।

एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछा हावाको भरमा मतदाता नबहकिने दाबी गर्छन्। ‘सामाजिक सञ्जालमा घण्टी भन्नेहरू जिल्लाका मतदाता होइनन्,’ काउछाले भने, ‘हल्ला गर्दैमा केही हुनेवाला छैन। जिल्लामा हाम्रो प्रतिस्पर्धी कांग्रेस हो, जित एमालेका प्रदीप ज्ञवालीको हुन्छ।’

यता कांग्रेस जिल्ला सभापति खिलध्वज पन्थी पनि अहिलेको निर्वाचनमा विगतजस्तै प्रतिस्पर्धा हुने दाबी गर्छन्। ‘विगतमा चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच प्रतिस्पर्धा थियो, अहिले पनि उहाँहरू दुवै जनाबीच प्रतिस्पर्धा हुने हो,’ उनले भने, ‘जनताले चन्द्र भण्डारीलाई जिताउँछन् भन्ने लाग्छ।’ यो पटक गुल्मीका दुवै क्षेत्रमा कांग्रेसले आफ्नो झण्डा फहराउने उनले बताए।

ज्ञवाली अध्यक्ष केपी ओलीको निकट रहेर विकास र साङ्गठनिक फड्को मारेका नेता हुन्। ज्ञवाली जिल्लाबाट निर्वाचित भएर पटक–पटक मन्त्री पनि बनिसकेका छन्। तर, बारम्बार मन्त्री बन्दासमेत जिल्लामा विकास गरेर बसाइँसराइ रोक्न नसकेको उनीमाथि आरोप छ। गत मङ्सिरमा भएको पार्टी महाधिवेशनमा नेता ज्ञवाली महासचिवका आकाङ्क्षी थिए। तर, ओलीले उनलाई भन्दा शङ्कर पोखरेललाई रोजेका थिए।

यता, कांग्रेस नेता भण्डारीले अहिलेसम्म मन्त्री बन्ने अवसर पाएका छैनन्। तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेर कार्यकर्ताले रुचाउने भाषण गरे पनि विकास र योजना ल्याएर काम गर्न नसकेको आरोप भण्डारीमाथि पनि लाग्ने गरेको छ। अध्ययन र लेखनमा रुचि राख्ने भण्डारी प्रखर वक्ता हुन्।

नेकपाका युवा नेता बरालको प्रभाव पनि राम्रो देखिन्छ। नागरिकसँग भिजेका बरालले अहिले आफूले जित निकाल्ने दाबी गरे। यो क्षेत्रमा १ लाख २२ हजार १८६ मतदाता र २१ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्