२८ असार २०८३, आइतबार

गण्डकी प्रदेशले पाहुना टोली माल्दिभ्सलाई सजिलै हरायो

माघ १०, २०८२
काठमाडौं
गण्डकी प्रदेशले पाहुना टोली माल्दिभ्सलाई सजिलै हरायो

पोखरामा जारी एनसेल टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शनिबार सम्पन्न पुरुषतर्फको खेलमा गण्डकी प्रदेश भलिबल संघ विजयी भएको छ ।

पोखरा रंगशालाको भलिबल कोर्टमा खेलिएको उक्त खेलमा गण्डकी प्रदेश भलिबल संघले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।

खेलको प्रारम्भदेखि नै गण्डकी प्रदेश भलिबल संघले प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो । गण्डकी प्रदेश भलिबल संघले पहिलो सेटको नतिजालाई २५–१३ अंकले आफ्नो पक्षमा पार्‍यो ।

गण्डकीले दोस्रो सेटको नतिजालाई पनि २५–१४ अंकले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा पनि गण्डकी प्रदेशको टोली २५–२१ अंकले विजयी भयो ।

पुरुषतर्फ खेलिएको यो तेस्रो खेल हो । यसअघि, प्रतियोगिताको पहिलो दिन खेलिएको पुरुषतर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३–१ सेटले हराएको थियो ।

सोही दिन खेलिएको पुरुषतर्फको अर्को खेलमा विभागी टोली त्रिभुवन आर्मी क्लबले माल्दिभ्सलाई ३–० सेटले पराजित गरेको थियो ।

प्रतियोगिताको छैटौं संस्करणमा महिलातर्फ पाँच र पुरुषतर्फ ६ टोली सहभागी छन् । महिलातर्फ न्यु डायमण्ड, आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र थाइल्याण्ड क्विन्स सहभागी छन् ।

पुरुषतर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, पर्वत जिल्ला भलिबल संघ र माल्दिभ्सको टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्