
‘यो कपडाले मलाई सुहाउँछ कि सुहाउँदैन ?’ तयार हुने बेलामा हरेक मानिसको दिमागमा यही कुरा खेलिरहन्छ ।
उसलाई लाग्छ, एकपल्ट आफूलाई कपडामा सजिएको आफ्नै आँखाले हेर्न पाए, के लगाउने भनेर छान्न सजिलो हुने थियो । त्यसैका लागि मानिस ऐनाको सहारा लिन्छन् । कपडा किन्दा ट्रायल रूममा पसेर लगाउनु पर्ने आवश्यकता अझै पनि नेपालमा कायमै छ ।
‘मिरागो’ यही आवश्यकतालाई अनावश्यक बनाउन सहयोगी एक एआई प्लाटफर्म हो । एआई टेक्नोलोजीमा केन्द्रित यस भर्चुअल ट्रायल रूम प्लाटफर्म मिरागोलाई प्रयोग गर्न प्रयोगकर्ताले आफ्नो फोटो र आफूलाई मन परेको लुगाको फोटो अथवा स्क्रिनसट प्लाटफर्ममा अपलोड गर्नु पर्ने हुन्छ ।
अपलोड भएको फोटो अनुसार एआईले स्वत: प्रयोगकर्ताको फोटोमा उक्त लुगा फिट गरेर नयाँ फोटो जेनेरेट गरिदिनेछ । यसले प्रयोगकर्तालाई आफूलाई सुहाउने लुगा छान्न सहज हुनुका साथै अनलाइन सपिङबाट सामान किनेपछि निम्तिने निराशालाई अन्त्य गर्न सहयोग गर्नेछ ।
पुरानो तरिकाले अनलाइनमा मनपरेका लुगा किनेर लगाएपछि मन नपर्ने, नसुहाउने समस्या एकैसाथ समाधान हुनुका साथै अब फर्मल, विवाह, पार्टी अथवा कुनै पनि प्रकारका पहिरन छान्न र आफ्नो स्टायल पहिचान गर्न मिरागोले सहयोग गर्ने प्लाटफर्म निर्माणकर्ताहरूको विश्वास छ ।
मिरागो प्लाटफर्म निर्माणकर्ता भन्छन्, नेपालमै निर्मित यस भर्चुअल एआई प्लाटफर्म केवल नेपालका लागि मात्र नभएर संसारकै लागि एक उपयोगी साधन बन्ने विशेषता राख्दछ ।
विद्यार्थी, कर्परेट कर्मचारी, कन्टेन्ट क्रिएटर र इन्फ्लुएन्सरका साथसाथै आम मानिसलाई लक्षित यस प्लाटफर्मले ड्रेसिङलाई थप सहज र रोचक बनाउनेछ भने यसलाई प्ले स्टोर, एप स्टोर दुवैबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ ।
वेबसाइटमार्फत् समेत प्रयोग गर्न सकिने यस प्लाटफर्म अन्तर्राष्ट्रिय स्तरमा जानुपूर्व पहिलो चरणमा नेपालमा सार्वजनिक भएको छ । यसको युजर इन्टरफेस नेपाली प्रयोगकर्तालाई प्राथमिकतामा राखेर बनाइएको छ ।
प्लाटफर्म निर्माणकर्ताका अनुसार नेपालमा बनेको प्लाटफर्ममा अन्तराष्ट्रिय स्तरको टेक्नोलोजी र युजर इन्टरफेसको अनुभव गर्न सकिन्छ भन्ने कुरालाई यस प्लाटफर्मले पुष्टि गर्नेछ ।
अब कहाँ जाँदा के लगाउने, कस्तो लुगा लगाउने ? किन्ने कि नकिन्ने लगायत सम्पूर्ण प्रश्नका उत्तर एकै प्लाटफर्ममार्फत् पाउन सकिने छ र यसले प्रयोगकर्ताको गोपनियता र त्यसको सुरक्षालाई समेत प्राथमिकतामा राखेर जीवनलाई सहज बनाउनेछ भन्ने कुरामा पनि निर्माणकर्ताहरू विश्वस्त छन् ।