२२ जेठ २०८३, शुक्रबार

‘बीवाईडी’को नयाँ धामाका : डल्फिन मिनीदेखि ‘शार्क’ पिकअपसम्म आउँदै

माघ १५, २०८२
काठमाडौं
‘बीवाईडी’को नयाँ धामाका : डल्फिन मिनीदेखि ‘शार्क’ पिकअपसम्म आउँदै

नेपाली विद्युतीय सवारी साधन बजारमा एकछत्र राज गर्दै आइरहेको बीवाईडीले विश्व बजारमा नयाँ मोडलहरूको विस्तार थालेको छ । अन्तर्राष्ट्रिय बजारमा आफूलाई निर्विकल्प ईभी निर्माता कम्पनीको रूपमा स्थापित गरेको बीवाईडीले नयाँ मोडलहरूको ‘आक्रामक’ विस्तार शुरू गरेको अटो एक्सप्रेसको रिर्पोटले देखाएको हो ।

अटो एक्सप्रेसको रिपोर्टअनुसार बीवाईडीले एटो ३, डल्फिन र सिलको सफलतापछि अब हरेक वर्गका ग्राहकलाई लक्षित गर्दै नयाँ गाडीहरू सार्वजनिक गर्ने तयारी गरेको छ । यी नयाँ मोडलहरूमध्ये केही महिनामा नेपाली बजारमा समेत भित्रिने अपेक्षा गरिएको छ । सस्तो सिटी कारदेखि महँगो लक्जरी एसयूभी र शक्तिशाली पिकअपसम्म ल्याएर बीवाईडीले सबैका लागि ईभी भन्ने नारालाई सार्थक बनाउन खोजेको देखिन्छ ।

बजेटमैत्री सिगल

अन्तर्राष्ट्रिय बजारमा ‘सिगल’ नामले चिनिने बीवाईडीको ‘डल्फिन मिनी’ वा ‘डल्फिन जी’को रूपमा आउने भएको छ । यो बीवाईडीको सबैभन्दा सस्तो र बजेटमैत्री ईभी हुने जनाइएको छ । मध्यम वर्गीय परिवारका लागि यो कार उत्कृष्ट विकल्प बन्न सक्छ । टाटा टियागो ईभी र सिट्रोन ई–सी३ जस्ता कारसँग यसले कडा प्रतिस्पर्धा गर्ने देखिन्छ । यसको सानो आकार र उच्च प्रविधिका कारण काठमाडौं जस्ता व्यस्त शहरका लागि यो उपयुक्त हुन सक्छ ।

बीवाईडी ‘शार्क ६’ हाइब्रिड पिकअप

बीवाईडीले पहिलो पटक पिकअप सेगमेन्टमा हात हाल्दै ‘शार्क ६’ एक प्लग–इन हाइब्रिड पिकअप ट्रक ल्याएको छ । यसले टोयोटा हाइलक्स र फोर्ड रेन्जर जस्ता प्रसिद्ध पिकअपहरूसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । यसमा अफ–रोडिङका लागि विशेष ‘डीएमओ’ प्लेटफर्म प्रयोग गरिएको छ । नेपालका पहाडी सडक र निर्माण क्षेत्रका लागि यो शक्तिशाली र किफायती विकल्प हुन सक्छ ।

सी–लायन ७ र ८ लक्जरी एसयूभी

बीवाईडीले टेस्ला मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्न ‘सी–लायन ७’ सार्वजनिक गर्दैछ । यो एउटा कुपे स्टाइलको प्रिमियम एसयूभी हो । त्यस्तै, ‘सी–लायन ८’ अझ ठूलो र विलासी फ्ल्यागसिप एसयूभी हुने जनाइएको छ । यी गाडीहरूमा बीवाईडीको चर्चित ‘ब्लेड ब्याट्री’ र अत्याधुनिक इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । प्रिमियम गाडी खोज्ने नेपाली ग्राहकका लागि यो नयाँ रोजाइ बन्न सक्छ ।

सिल यू

अटो एक्सप्रेसका अनुसार ‘सिल यू’ अहिले चर्चाको केन्द्रमा छ । यो शुद्ध इलेक्ट्रिक र प्लग–इन हाइब्रिड दुवै संस्करणमा उपलब्ध छ । यसको विशेष डिजाइन र फराकिलो क्याबिनले यसलाई उत्कृष्ट फेमिली कार बनाएको छ । यसलाई पनि छिट्टै नेपाली बजारमा ल्याइनेछ ।

salt training

कमेन्ट गर्नुहोस्