
पर्यटकीय राजधानी पोखरामा यही माघ १७ देखि २४ गतेसम्म दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ महिला च्याम्पियनसिप सुरु हुँदैछ।
साफको तालिकाअनुसार पोखरा रङ्गशालास्थित अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा हुने प्रतियोगितामा नेपालसहित चार देशको सहभागिता रहने जानकारी आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा साफका महासचिव पुरुषोत्तम कट्टेलले दिए। प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भुटान सहभागी हुनेछन्। तयारी अन्तिम चरणमा पुगेको र सहभागी देशका खेलाडी, प्रशिक्षक तथा टोली व्यवस्थापक आज साँझसम्म पोखरा आइपुग्ने कट्टेलले बताए।
साफ महिला फुटबल प्रतियोगिता पहिलोपटक राजधानी काठमाडौँबाहिर आयोजना हुन लागेको हो। सहभागी टोलीका लागि पोखराको लामाचौरस्थित गोष्तेघाट खेल मैदानमा प्रशिक्षणको व्यवस्था मिलाइएको छ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल महासङ्घ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन हुनेछ। यस प्रणालीअनुसार प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ।
लिग चरणपछि शीर्ष दुई टोलीबीच माघ २४ गते फाइनल खेल हुनेछ। एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरका अनुसार प्रतियोगिताले पोखरालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद कार्यक्रमको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ।
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले फुटबल मैदानको स्तरोन्नति, प्लेयर बक्स निर्माणलगायत आवश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको जानकारी दिए। लामो समयपछि पोखरामा अन्तरराष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेकाले यस क्षेत्रका खेलकुदकर्मी उत्साहित भएको उनको भनाइ छ। प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड ४५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।