
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी टी–२० विश्वकपका लागि रेफ्री र अम्पायरको घोषणा गरेको छ ।
टी–२० विश्वकपको १०औं संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
उक्त विश्वकप खेलाउन आईसीसीले २४ अम्पायर र ६ जना रेफ्रीको नाम सार्वजनिक गरेको हो । सूचीमा बंगलादेशका अम्पायरलाई पनि समावेश गरिएको छ ।
यसअघि, बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले सुरक्षाको कारण देखाउँदै भारतमा कुनै पनि खेल नखेल्ने भन्दै आगामी विश्वकप बहिष्कार गरेको थियो ।
आईसीसीले अम्पायरको सूचीमा समावेश गरेको शरफुद्धौला इब्ने शाहिद र गाजी सोहेल बंगलादेशी नागरिक हुन् । भारत र पाकिस्तानका अम्पायरलाई पनि यो सूचीमा समावेश गरिएको छ ।
उक्त विश्वकपको पहिलो खेल फेब्रुअरी ७ तारिखमा पाकिस्तान र नेदरल्यान्ड्सबीच श्रीलंकाको कालम्बोमा खेलिने छ । उद्घाटन खेल कुमार धर्मसेना र वेन नाइट्सले खेलाउने छन् ।
आईसीसीले घोषणा गरेको म्याच रेफ्रीको सूचीमा डीन कास्कर, डेभिड गिल्बर्ट, रन्जन मदुगल्ले, एन्ड्र्यू पाइक्राफ्ट, रिची रिचर्डसन र जवागल श्रीनाथ रहेका छन् ।
यसैगरी, विश्वकप खेलाउने अम्पायरको सूचीमा रोलेन्ड ब्ल्याक, क्रिस ब्राउन, कुमार धर्मसेना, क्रिस गेफनी, एड्रियन होल्डस्टक र रिचर्ड इलिङ्वर्थ रहेका छन् ।
अम्पायरको सूचीमा रिचर्ड केटलबरी, वेन नाइट्स, डोनोभन कोच, जयरामन मदनगोपाल, नितिन मेनन, साम गोगजस्की, अल्लाहुद्दिन पालेकर र केएनए पद्नाभन पनि परेका छन् ।
यसैगरी, आगामी विश्वकपमा अहसान रजा, लेस्ली रिफर, पल रिफेल, ल्याङ्टन रुसेर, शरफुद्धौला इब्ने शाहिद, गाजी सोहेल, रड टकर, एलेक्स व्हार्फ, रविन्द्र विमलसिरी र आसिफ याकुब पनि अम्पायरको भूमिकामा देखिने छन् ।