
नर्वेकी युवराज्ञी मेट-मारिटका छोरा मारियस बोर्ग होइबीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। चारजना महिलालाई बलात्कार गरेकोसहित ३८ वटा विभिन्न फौजदारी अभियोगमा ओस्लो अदालतमा मुद्दाको सुनुवाइ सुरु हुनुभन्दा ठीक अगाडि उनलाई कुटपिट र आक्रमणको आशंकामा नियन्त्रणमा लिइएको बीबीसीमा उल्लेख छ ।
२९ वर्षीय होइबीलाई आइतबार पक्राउ गरी चार हप्ताका लागि हिरासतमा राखिएको छ। प्रहरीका अनुसार उनीमाथि पछिल्लो पटक चक्कु देखाएर आक्रमण गरेको र अदालतको प्रतिबन्धात्मक आदेश उल्लंघन गरेको आरोप छ। उनले पुनः अपराध गर्न सक्ने जोखिम देखिएकाले हिरासतमा राख्न अदालतले अनुमति दिएको हो। सन् २०२४ को अगस्टयता उनी पक्राउ परेको यो चौथो पटक हो।
मंगलबारदेखि सुरु हुने भनिएको मुख्य मुद्दामा होइबीमाथि बलात्कार, शारीरिक दुर्व्यवहार, साढे तीन किलो गाँजा ओसारपसार र तीव्र गतिमा सवारी चलाएको जस्ता ३८ वटा गम्भीर आरोपहरू छन्। उनले केही साना आरोपहरू स्वीकार गरे पनि बलात्कारजस्ता जघन्य अपराधहरूमा भने इन्कार गर्दै आएका छन्।
यो घटनाले नर्वेको राजपरिवारलाई ठूलो संकटमा पारेको छ। होइबी राजाका सन्तान नभई क्राउन प्रिन्सेस मेट-मारिटले विवाहपूर्व जन्माएका छोरा हुन्। उनी राजपरिवारको औपचारिक सदस्य नभए पनि क्राउन प्रिन्स हाकनका सौतेनी छोरा हुन्। राजकुमार हाकनले यस घटनाका पीडित महिला र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गर्दै यो समय सबैका लागि कठिन भएको बताएका छन्।
यसैबीच, क्राउन प्रिन्सेस मेट-मारिट आफैँ पनि विवादको घेरामा परेकी छिन्। सन् २०११ देखि २०१४ को बीचमा उनले कुख्यात यौन अपराधी जेफ्री एपस्टीनसँग सम्पर्क राखेको खुलासा भएपछि नर्वेमा उनको आलोचना भइरहेको छ।