२६ असार २०८३, शुक्रबार
संसद् चलाएका दुई पात्र चुनावी मैदानमा

झापा-२ मा पनि बढ्यो राजनीतिक राप, यसपटक पनि स्वतन्त्र उम्मेदवारको टक्कर

माघ २०, २०८२
विराटनगर
झापा-२ मा पनि बढ्यो राजनीतिक राप, यसपटक पनि स्वतन्त्र उम्मेदवारको टक्कर

नेपालको राजनीतिमा झापा सधैँ चर्चाको केन्द्रमा रहने गर्छ । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनले झापालाई केवल चर्चामा मात्र सीमित राखेको छैन, यसलाई देशकै राजनीतिको ‘इपिसेन्टर’ र ‘हट केक’ बनाएको छ ।

झापा-५ मा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीचको प्रतिस्पर्धाले राष्ट्रिय राजनीति तताइरहँदा झापा–२ को चुनावी दृश्य पनि उत्तिकै पेचिलो र रोचक बनेको छ ।

झापा–२ मा एउटै संसद्को उच्च ओहोदामा रहेर पालैपालो सदन चलाएका दुई प्रमुख पात्र निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा राना अहिले एक–अर्कालाई पराजित गर्न चुनावी मैदानमा होमिएका छन् । एमालेका तर्फबाट घिमिरे र रास्वपाका तर्फबाट राना चुनावी प्रतिस्पर्धामा उत्रिएपछि झापा–२ को भिडन्त ‘संसदीय रोस्मट्र’को लडाइँजस्तै बनेको छ ।

प्राध्यापक डाक्टर युवराज संग्रौला पनि यही क्षेत्रमा चुनावी मैदानमा छन् । झापा २ मा स्वतन्त्र उम्मेदवार संग्रौलाको पनि बेग्लै माहौल छ । कानूनी शिक्षाका क्षेत्रमा ख्याति कमाएको ‘काठमाडौं स्कूल अफ ल’जस्तो संस्थालाई स्थापित गरेका संग्रौलाले यसक्षेत्रमा राम्रो पकड बनाएका छन् ।

झापा २ मा वौद्धिकहरूको आकर्षण संग्रौलाप्रति देखिएको स्थानीयहरूको भनाइ छ । स्वतन्त्र उम्मेदवार संग्रौलाले पंखा चिह्न पाएका छन् ।

उम्मेदवारी दर्ता गरेलगत्तैको प्रतिक्रियामा संग्रौलाले ‘थारो अर्थतन्त्र’लाई उकास्न झापालाई अमेरिकाको सिलिकन भ्याली जस्तै आर्थिक शहर बनाउने योजना रहेको बताएका थिए । 

२०७९ को निर्वाचनपछि एमाले अध्यक्ष ओलीको विशेष जोडबल र विश्वासका आधारमा देवराज घिमिरे सभामुख बनेका थिए । तर, उनको कार्यकाल विवादरहित भने रहन सकेन । विपक्षी दलहरूले उनलाई ‘सन्तुलित भूमिका निर्वाह गर्न नसकेको’ र पार्टीको छाया बनेको आरोप लगाउँदै आएका थिए ।

संसद् पुन:स्थापनाको पक्षमा रहे पनि अन्त्यमा राजनीतिक समीकरण र ओलीको साथका कारण घिमिरे पुन: चुनावी दौडमा होमिएका हुन् । तर, यो बाटो उनका लागि त्यति सहज भने देखिँदैन । 

पार्टीको स्थानीय कमिटीले उनलाई यसपटक चुनाव नलड्न र नयाँ अनुहारलाई मौका दिन सुझाव दिएको थियो । विशेषगरी कोशी प्रदेशका पूर्वमन्त्री एकराज कार्कीलाई उम्मेदवार बनाउनुपर्ने माग बलियो थियो । तर, घिमिरेले टिकट हात पारे । अहिले उनै कार्की र अर्का नेता तिलचन (चिन्तन) पाठक घिमिरेलाई जिताउने कमान्डर बनेर खटिएका छन् ।

कार्कीको दाबीअनुसार १५ दिनअगाडि चुनाव भएको भए माहोल अर्कै हुन्थ्यो, तर अहिले सङ्गठन पूर्ण रूपमा परिचालित भएकाले नतिजा एमालेकै पक्षमा छ ।

ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकारले उपसभामुख रानालाई अविश्वासको प्रस्तावमार्फत हटाउने भरपुर प्रयास गरेको थियो । उपसभामुख हुँदा सत्तापक्षबाट निरन्तर दबाब झेलेकी रानाले यसपटक समानुपातिकको सुरक्षित बाटो त्यागेर प्रत्यक्षतर्फको जोखिमपूर्ण यात्रा रोजेकी छिन् ।

रास्वपाको सङ्गठन झापा–२ मा तुलनात्मक रूपमा कमजोर छ । यो क्षेत्रमा सङ्गठनका हिसाबले एमाले सबैभन्दा बलियो मानिन्छ । तर, झापामा बालेनको उम्मेदवारी र इन्दिराको सामाजिक छविका कारण उनी बलियो दाबेदार बनेकी हुन् । बालेनको प्रवेश र राष्ट्रिय राजनीतिमा देखिएको परिवर्तनको जनलहरले आफ्नो पक्षमा नतिजा आउने रास्वपाका नेताहरू बताउँछन् ।

नेपाली कांग्रेसले यसपटक झापा–२ मा नयाँ प्रयोग गरेको छ । प्रत्यक्षतर्फ सरिता प्रसाईंलाई उम्मेदवार बनाएको कांग्रेसले समानुपातिकतर्फ पनि उमा सिवाकोटी र मनमाया विश्वकर्मा जस्ता महिला अनुहारलाई अघि सारेको छ । यसअघि समानुपातिकबाट सांसद र राज्यमन्त्री भइसकेकी प्रसाईं पहिलोपटक प्रत्यक्ष निर्वाचनको कठिन अग्निपरीक्षामा छिन् ।

प्रसाईंका लागि सबैभन्दा ठूलो चुनौती भनेको ‘पटक–पटक सांसद भएर के काम गर्नुभयो?’ भन्ने विपक्षीको प्रश्न हो । तर, कांग्रेसका स्थानीय नेता नेत्र पौडेलका अनुसार यसपटक पार्टीभित्रको परम्परागत ‘अन्तर्घात’ कम हुने अपेक्षा छ । विगतका निर्वाचनमा कृष्ण सिटौला पक्षले असहयोग गर्ने गरेको आरोप लाग्ने गरे पनि यसपटक विश्वप्रकाश शर्माको प्रतिष्ठासँग पनि यो क्षेत्र जोडिएकाले कार्यकर्ता अनुशासित हुने विश्वास गरिएको छ ।

साथै, गगन थापालाई प्रधानमन्त्री बनाउने अभियान र झापा–२ मा रहेको बलियो ‘कुमाई’ समुदायको मत (प्रसाईं स्वयं कुमाई हुन्)ले कांग्रेसलाई उत्साहित बनाएको छ ।

झापा–२ मा अर्जुनधारा नगरपालिका, बिर्तामोडका मुख्य वडा, बुद्धशान्ति र कनकाईका केही वडा पर्दछन् । यहाँको जनसाङ्ख्यिक बनोट र जातीय समीकरणले पनि चुनावी परिणामलाई प्रभावित पार्ने निश्चित छ ।

२०७९ को निर्वाचनको तथ्यांक हेर्दा घिमिरेले २८ हजार ७१६ मत ल्याएर जित्दा स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४५५ मतका साथ कडा चुनौती दिएका थिए । त्यसबेला रास्वपाका रुद्रप्रसाद गिरीले मात्र ८ हजार ७८१ मत पाएका थिए ।

तर, अहिले समय बदलिएको छ । स्वागत नेपाल अहिले राप्रपाबाट आधिकारिक उम्मेदवार बनेर मैदानमा छन्, जसले एमाले र कांग्रेस दुवैको परम्परागत मत काट्ने निश्चित छ । माओवादी केन्द्रका तर्फबाट धर्मशिला चापागाईं उम्मेदवार छिन् । अघिल्लो निर्वाचनमा कांग्रेस र एकीकृत समाजवादीसहितको मतमा माओवादीका हरि राना मगरले १३ हजार ९३० मत पाएका थिए ।

एमालेभित्र अग्नि खरेलको मौनता र आन्तरिक द्वन्द्व, कांग्रेसभित्रको गुटबन्दी र रास्वपाको कमजोर धरातलबीच चुनावी नतिजा कसको पक्षमा जान्छ भन्न कठिन रहेको नेताहरू बताउँछन् । 

कांग्रेस र एमालेजस्ता पुराना दलहरूले आफ्ना असन्तुष्ट कार्यकर्ता र परिवारलाई अझै पूर्ण रूपमा फकाउन सकेका छैनन् । यो क्षेत्र पहिला पनि कांग्रेसले जितेको इतिहास छ । पहिलो संविधानसभाको चुनावमा यहाँबाट सुधीर सिवाकोटीले जितेका थिए । सिवाकोटी अहिले कांग्रेसका केन्द्रीय सदस्य छन् ।

स्मरणीय के छ भने यो क्षेत्रमा विगतमा स्वतन्त्र उम्मेदवारले गठबन्धन दललाई पछि पारेका थिए । अघिल्लोपटक स्वतन्त्र उम्मेदवार रहेका स्वागत नेपाल दोस्रो भएका थिए । उनी अहिले राप्रपाबाट उम्मेदवार बनेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्