
पोखरामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा बुधबार नेपाली टोलीले लिग चरणको अन्तिम खेल खेल्दैछ । नेपालले अन्तिम खेल बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्न लागेको हो ।
नेपाल र बंगलादेशबीचको खेल दिउँसो १५:०० बजे पोखरा रंगशालामा सुरु हुनेछ । अघिल्ला दुबै खेलमा विजयी भएको बंगलादेश ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
बंगलादेशले भुटानलाई १२–० र भारतलाई २–० गोलले हराएको थियो । नेपाली टोली दुई खेलबाट तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।
नेपाली टोली आफ्नो पहिलो खेलमा भारतसँग ०–१ गोलले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई २–१ गोलले हराएको थियो ।
भारत दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । पहिलो खेलमा नेपाललाई हराएको भारतीय टोली दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको थियो ।
अघिल्ला दुबै खेलमा पराजित भएको भुटान तालिकाको चौथो स्थानमा छ । भुटानविरुद्धको खेलमा नेपालका लागि सिर्जना बडुवाल र प्रजिता राईले एक–एक गोल गरेका थिए ।
बुधबार नै भारत र भुटानबीच पनि खेल भइरहेको छ । उक्त खेलमा भारत विजयी भए नेपालसँग पनि बंगलादेशलाई हराउनुको विकल्प रहने छैन ।
लिग चरणको खेलपछि अंक तालिकाको माथिल्लो दुई स्थानमा रहने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल फेब्रुअरी आगामी शनिबार खेलिने छ ।