आउँदो २१ फागुनमा हुने निर्वाचनका लागि घरदैलो कार्यक्रममै रहे पनि नेपाली कांग्रेसको चुनावी प्रचारप्रसार आक्रामक हुन सकेको छैन । रास्वपा लगायत नयाँ दल र उम्मेदवारले आक्रामक ढंगबाट चुनाव प्रचारप्रसार गरिरहँदा कांग्रेसले भने समाजमा व्याप्त निराशाका पहाड चिर्दै आशा जगाउने गरी चुनावलाई ड्राइभ गरेको छैन ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्वसहित चुनावी मैदानमा होमिएको कांग्रेसले ‘बदलियो कांग्रेस‚ बदल्छौं देश’ भन्ने नारासहित चुनावी माहोल आफ्नो पक्षमा पार्ने प्रयासमा छ । भिजन १० भन्दै देश बदल्ने संकल्पसहित घोषणा पत्र बनाइरहेको दाबी कांग्रेसको छ । १०६ जना नयाँ उम्मेदवारलाई टिकट दिएर कांग्रेस चुनावी मैदानमा छ ।
निर्वाचनको समयमा पार्टीले चुनावी प्रचारप्रसारलाई कसरी अघि बढाएको छ ? परम्परागत तथा डिजिटल दुनियाँमा कसरी आफ्नो एजेन्डा स्थापित गर्दैछ ? प्रचारप्रसार संयन्त्र कांग्रेसले कसरी तयार पारेको छ ? यी र यस्तै विषयमा रहेर नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेलाई केही प्रश्न सोधेका छौं । प्रस्तुत छ प्रचार विभाग प्रमुख समेत रहेका चालिसेसँग लोकान्तरका लागि रोमन आचार्यले गरेको कुराकानी :
चुनाव नजिकिँदा पनि कांग्रेसको निर्वाचन प्रचारप्रसार किन ‘भुत्ते’ देखिएको ?
निर्वाचन आचारसंहिता अनुसार अहिले घरदैलो कार्यक्रममा केन्द्रित हुनुपरेको छ । पार्टीको औपचारिक कार्यक्रम पनि निर्वाचन आयोगको आचारसंहिता अन्तर्गत बसेर गर्ने हो ।
अहिले सामाजिक सञ्जालमा विशेष गरेर फेक एकाउन्ट र ह्यान्डल खोल्ने, फेक पेज र साइबर बुलिङ गर्ने, अट्याक हुने गरेको छ । यो आचारसंहिताभन्दा पनि बाहेकका कुरा अलि बढी भइरहेका छन् । त्यसमा निर्वाचन आयोगमा विभिन्न उजुरी पनि परेकै छन् । अब नेपाली कांग्रेस त्यही शैलीमा, उजुरी प्राप्त गर्ने शैलीमा आक्रामक भएर जानुपर्छ भन्ने छैन ।
हामी अनुशासित छौं, मर्यादित छौं । हामीसँग गौरवपूर्ण इतिहास छ । हाम्रा गतिविधि जिम्मेवार किसिमका छन् । हामी त्यसैमा कायम रहन्छौं । अरूले जे गरे त्यही गर्नुपर्छ भन्ने छैन । हाम्रा आफ्नै बाटा छन्, आफ्नै तरिकाहरू छन् । त्यसैले त कांग्रेस अरु भन्दा फरक हो ।
कांग्रेसमाथि आक्रमण बढेको छ, घोषणापत्र आइसकेको छैन‚ उम्मेदवारलाई गाह्रो भएको होला नि ?
घोषणापत्र हामी यही महिनाको अन्त्यतिर सार्वजनिक गर्छौं । अन्य दलहरूको पनि अहिलेसम्म घोषणापत्र सार्वजनिक भएको छैन । त्यसकारण घोषणापत्रकै कारणले चुनावी प्रचार अवरुद्ध भएको भन्ने कुरा सही होइन ।
तपाईंले उठाउनुभएको विषय मूख्यतः साइबर क्षेत्रसँग सम्बन्धित छ । उम्मेदवारलाई अप्ठ्यारो परेको छ भन्ने जुन कुरा सामाजिक सञ्जालमा, विशेषगरी डिजिटल सञ्चार माध्यममार्फत देखिन्छ, ती प्रभावहरू नयाँ होइनन् । यस्ता प्रभाव धेरै पहिलेदेखि नै देखिँदै आएका हुन् ।

तपाईंले अस्ति भर्खरै पनि यसबारे सुन्नु भएको थियो नि इजरायलको एउटा कम्पनीले गरेको अनुसन्धानमा नेपालको जेनजी आन्दोलनका बेला करिब ३४ प्रतिशत फेक एकाउन्ट देखिएको छ, त्यसले ५० प्रतिशत ‘माइन्ड म्यानिपुलेसन’ भएको देखिएको थियो । त्यसैले कुरा के हो भने, त्यही माध्यमको प्रयोग कसरी गरिन्छ भन्ने हो । सदुपयोग गरियो भने राम्रो सन्देश प्रवाह हुन्छ, तर कहिलेकाहीँ मानिसहरूले त्यसको दुरुपयोग पनि गरिदिन्छन् ।
यसलाई कहीँ न कहीँ चिर्नु त पर्ला नि !
चिर्नु त पर्छ । तर एउटा कुरा तपाईंले ख्याल गर्नैपर्छ । भर्खरै भएको बिहारको चुनावमा सामाजिक सञ्जालको प्रभाव धेरै देखियो । तर अन्ततः चुनावी नतिजा भने अर्कै आयो । यसले के देखाउँछ भने जनताको मन र तपाईंको मोबाइलमा देखिने प्रचार एउटै कुरा हुँदैन । कहिलेकाहीँ अत्यधिक प्रचारले उल्टै नकारात्मक असर पनि गर्छ । कहिलेकाहीँ फेक समाचारले उल्टो प्रतिक्रिया पैदा गर्छ ।
धेरै प्रचार गरियो भन्ने लाग्न सक्छ, तर प्रचारभित्रका विषयवस्तु, प्रयोग गरिएको भाषा र शैलीलाई सबैले ‘सकारात्मक प्रचार’कै रूपमा लिन्छन् भन्ने हुँदैन । त्यसले कहिलेकाहीँ प्रतिक्रिया, असन्तोष र नकारात्मक जनमत पनि सिर्जना गर्छ । यो कुरा प्रचार गर्ने पक्षले पनि बुझ्नैपर्छ ।
कहिलेकाहीँ खूब प्रचार गर्यौं भन्ने भ्रम हुन्छ, तर त्यसले नकारात्मक जनमत जन्माइरहेको पनि हुन सक्छ । त्यसैले सञ्चारका माध्यमको प्रयोग अझ व्यवस्थित, अनुशासित र मर्यादित हुनुपर्छ । राजनीतिक दलसँग सम्बन्धित प्रचार, विशेषगरी आधिकारिक प्रचार, जिम्मेवार र मर्यादित हुनैपर्छ भन्ने चेतना दलहरूले आफैंले विकास गर्नुपर्छ । चेतनशील हुनु जरुरी छ ।
यसबाहेक, दलसँग प्रत्यक्ष आबद्ध नभएका व्यक्तिबाट‚ विशेषगरी देश बाहिरबाट प्रचारित सामग्रीहरूमा पनि धेरै गुनासो देखिएका छन् । यस सन्दर्भमा देशका साइबर कानूनहरू पनि छन् । कतिपय सामग्री प्रतिकूल हुन्छन्, व्यक्तिगत वा पार्टीगत रूपमा अवाञ्छित आरोप लगाइएका हुन्छन् । यस्ता विषय निर्वाचन आयोग मात्र होइन, अन्य निकायको पनि चासोको विषय बन्छन् ।
त्यसैले म के अनुरोध गर्न चाहन्छु भने, सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्ना प्रचार गतिविधि समयसापेक्ष, अनुशासित र मर्यादित बनाउनुहोस् । आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अरूको स्वतन्त्रताको पनि सम्मान गर्नुपर्छ । मेरो स्वतन्त्रता जति छ, अरूको पनि त्यति नै स्वतन्त्रता छ । मलाई जति आफ्नो इज्जतको चासो छ, अरूको इज्जतको सम्मान गर्नु पनि उत्तिकै आवश्यक छ ।
यसैकारण देशका सीमाहरू, कानून र सामाजिक मर्यादालाई ध्यानमा राख्दै आफ्ना गतिविधि र स्वतन्त्रताको प्रयोग गर्न म सबैमा आग्रह गर्दछु ।
खास अहिले प्रचार विभागले चाहिँ के गरिरहेको छ ?
प्रचार विभागका तर्फबाट दुवै पक्षमा काम भइरहेको छ । फिजिकल कन्भेन्सन, परम्परागत प्रचारका शैली यथावत् र नियमित रूपमा चलिरहेका छन् । तर सबैभन्दा ठूलो कुरा जनताको मत हो, र त्यो मत जनताकै घर–आँगनमा पुगेर जित्नुपर्छ । जनताको मतबाट निर्वाचित हुने यो शासन प्रणालीको स्रोत नै जनता हुन् ।
जनतासम्म पुग्ने बाटो, मतदातासम्म पुग्ने शैली मर्यादित र अनुशासित हुनुपर्छ, किनकि जनता मालिक हुन् । प्रणालीलाई स्थापित गर्न पनि जनताकै आँगनमा पुग्नुपर्छ, जनताकै घरमा पुग्नुपर्छ । अहिले हाम्रो प्रचारको पहिलो प्राथमिकता यही हो कि जनताकै घरमा पुग्ने, जनताकै आँगनमा पुग्ने, जनताको सुखमा सहभागी हुने र जनताको दुःखमा साक्षात्कार गर्ने ।
यो नै जनताको प्रतिनिधि हुने पहिलो प्रक्रिया हो । जनताको भावना र मर्म नबुझ्ने व्यक्ति जनताको प्रतिनिधि हुन सक्दैन । आकासे प्रतिनिधि, आकासे प्रचारले कुनै अर्थ राख्दैन । जनताको प्रतिनिधि भनेको वास्तविक प्रतिनिधि हुनुपर्छ । न कहिल्यै चिनेको, न कहिल्यै बुझेको, भोलि के गर्छ भन्ने ठेगानै नभएको व्यक्तिबाट साँचो प्रतिनिधित्व हुन सक्दैन ।
मतदान कुनै लहडमा गर्ने विषय होइन । एउटै मतदानले देशलाई सही दिशातर्फ पनि लैजान सक्छ, गलत बाटोमा पनि धकेल्न सक्छ । मत अत्यन्त संवेदनशील विषय हो । यो देशको अस्मिता र भविष्यसँग जोडिएको कुरा हो । सार्वभौमसत्ता सम्पन्न नागरिकले आफ्नो मत प्रयोग गर्दा आफ्नो भविष्य अभिषेकका रूपमा प्रयोग गर्नुपर्छ । मेरो मतले देश कता जाँदैछ, मेरो मतले देशको भविष्य कता मोडिन्छ, यी प्रश्नहरू ख्याल गर्नुपर्छ ।
यदि जनताको मत र मनलाई प्रभाव पार्ने आधार सामाजिक सञ्जाल मात्र बनाइयो भने त्यो कठिन हुन्छ । त्यसको परीक्षण गर्नुपर्छ, फ्याक्ट चेक गर्नुपर्छ, जुन कुरा आम जनताले सजिलै गर्न सक्दैनन् । आजको चुनौती भनेको त्यही किसिमको डिसइन्फर्मेसन र मिसइन्फर्मेसन हो, जसले माइन्ड म्यानिपुलेसन गरेर नयाँ र भिन्न प्रकारको भ्रम सिर्जना गरिरहेको छ । यो हाम्रो जस्तो देशका लागि गम्भीर चुनौती हो ।
त्यो चुनौतीलाई सामना गर्न, त्यसलाई पहिचान गर्न र त्यसको प्रतिरोध गर्न हामीले पनि आफ्नो तयारी गरेका छौं । नेपाली कांग्रेस कुप्रचारमा होइन, सही र सदुपयोगमा विश्वास गर्छ, दुरुपयोगमा होइन । त्यसैले कांग्रेसको प्रचार विभागले डिजिटल माध्यमलाई पनि त्यत्तिकै महत्व दिएको छ, जति परम्परागत प्रचारका शैली‚ झण्डा, सभा, भेटघाटलाई दिएको छ । ती सबै निरन्तर यथावत् चलिरहेका छन् ।
यसका अतिरिक्त, आधुनिक जीवनशैली र प्रविधिमा आएको परिवर्तनसँगै पार्टीलाई जोड्नैपर्छ । आज हरेकको हात–हातमा मोबाइल छ, सूचना छिटो-छिटो पुग्छ । त्यसलाई ध्यानमा राख्दै हामी सत्य र तथ्यमा आधारित आफ्ना प्रचार सामग्री, कन्टेन्टहरू नियमित रूपमा पठाउँछौं । साथै फेक, मिसइन्फर्मेसन र कुप्रचारलाई क्रमिक रूपमा खण्डन गर्ने काम पनि गरिरहेका छौं ।
राजनीतिमा देखिने प्रोपोगान्डा वा विभिन्न किसिमका आक्रमणात्मक तरिकाप्रति पार्टी सचेत छ । यी सबै कुराको आधार भनेको एकै हो‚ नेपाली कांग्रेस निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्छ र अरूले पनि त्यसको पालना गरून् भन्ने अपेक्षा राख्छ ।
‘बदलियौं कांग्रेस, बदल्छौं देश’ भनेर जसरी भनिरहनु भएको छ‚ देश बदल्ने चाहिँ कसरी भन्ने प्रचार गर्नु पर्ने होला नि ?
देश बदल्न चाहियो भने पहिला आफैं बदलिनुपर्छ । अरूलाई बदलिनुपर्छ भनेर मात्र भनिरहँदा, आफू भने नबदलिने सोच मर्यादित हुँदैन । परिवर्तन सधैं आफैंबाट शुरू हुनुपर्छ भन्ने मान्यताका साथ हाम्रो पार्टीले विशेष महाधिवेशन गरेर नीति, नेतृत्व र समग्र संरचनामा परिवर्तन गरेको हो ।
यसको परिणाम के देखियो भने नेपाली कांग्रेस आज नयाँ कांग्रेस, रूपान्तरित कांग्रेस, बदलिएको कांग्रेसका रूपमा जनतामाझ गएका छौं । जनताले अपेक्षा गरेको कांग्रेसका रूपमा आफूलाई पुनः स्थापित गर्ने प्रयास गरेका छौं ।
यसक्रममा हामीले आफ्नो ऐतिहासिक धरोहर, बीपी कोइरालाको नीति, सिद्धान्त, आचरण र सरकार सञ्चालनका शैलीसँग पुनः आत्मीय सम्बन्ध जोडेका छौं । आजको कांग्रेस बीचमा अल्मलिएको कांग्रेस होइन, नेपाली कांग्रेसको मौलिकतासँग जोडिएको, परिवर्तन भएको कांग्रेस हो ।
त्यो मौलिकता के हो भने जनतालाई केन्द्रविन्दुमा राख्ने, जनतालाई सुशासन दिने, जनतालाई मालिक मान्ने पद्धतिलाई स्थापित गर्ने । राजनीतिलाई सेवा हो भन्ने भावनालाई संस्थागत गर्ने । सिद्धान्तसँग सत्ताको सम्झौता नगर्ने, सत्ताका लागि सिद्धान्तमाथि घुँडा नटेक्ने ।
हिजो सत्ताको लागि गरिएको गठबन्धन संस्कृतिका कारण हामीमा सैद्धान्तिक र आचरणगत विचलन आएको थियो । सत्ताले मूल्यको राजनीति छोड्दा कांग्रेसको सैद्धान्तिक विचलन देखियो । त्यो विचलन केवल विचारमै सीमित रहेन, त्यसले व्यावहारिक रूपमा पनि नकारात्मक परिणाम दियो । सुशासनको ठाउँमा कुशासन देखियो, अस्थिरता आयो, राजनीतिमा अव्यवस्था र डिसअर्डर देखियो । त्यसप्रति जनताको प्रतिक्रिया आउनु स्वाभाविक नै थियो ।
त्यसैले ती बिग्रिएका बाटोहरू छोडेर, रूपान्तरित नेपाली कांग्रेसले फेरि बीपी कोइरालाकै मौलिक सिद्धान्तमा आधारित राजनीतिलाई निरन्तरता दिने, त्यसलाई अक्षुण्ण राख्ने र जनतालाई केन्द्रमा राखेर आफ्नो राजनीति समर्पित गर्ने बाटो रोजेको छ ।
यो रूपान्तरणको क्रममा छोटो समयमै देखिएका परिवर्तन चाहे टिकट वितरणमा होस्, नीतिगत निर्णयमा होस् वा कार्यशैलीमा सबै देखिएकै छन् र क्रमशः प्रमाणित हुँदै गइरहेका छन् । यो परिवर्तन भाषणमा मात्र सीमित छैन । व्यवहारमा हामी बदलिएका छौं ।
हाम्रो शैली बदलिएको छ, आचरण बदलिएको छ, नीति बदलिएको छ । समग्र रूपमा कांग्रेस बदलिएको छ र त्यो परिवर्तन जनताले महसुस गरिरहेका छन् ।
देश बदल्ने भनेर कांग्रेसले के गर्न लागेको हो ?
सरकार आफैंमा राजनीतिको अन्तिम लक्ष्य होइन । सरकार त माध्यम हो । त्यो माध्यम प्रयोग गरेर लक्ष्यमा पुग्ने हो । लक्ष्य भनेको रूपान्तरण हो, परिवर्तन हो, जनताको सेवा हो । त्यही लक्ष्य हासिल गर्नका लागि हामी सरकारलाई माध्यमका रूपमा प्रयोग गर्दैछौं ।
अब के गर्ने भन्ने सन्दर्भमा सरकारलाई जनताको सेवक संस्थाको रूपमा स्थापित गर्नु सबैभन्दा ठूलो आवश्यकता हो । यसको पहिलो र प्रधान विषय भनेको सुशासन हो, दोस्रो भ्रष्टाचारको नियन्त्रण हो । यी दुवै विषय आधारभूत छन् ।
आज जनताले सेवा लिनुपर्ने संस्थाहरूलाई दुःख दिने संस्थाका रूपमा अनुभव गरिरहेका छन् भने ती संस्थाहरू जनमैत्री किन हुन सकेनन् ? अलिकति शासकीय सुधार, अलिकति इच्छाशक्ति विकास गरियो भने यी कुरा सम्भव छैनन् भन्ने होइन ।
त्यसैले सरकारअन्तर्गत सञ्चालित सबै सेवाग्राही संस्था र संगठनलाई जनमैत्री बनाउने प्रक्रियामा सुशासनबाटै शुरूआत हुन्छ । कर्मचारी प्रशासनलाई क्रमशः डिजिटलाइज गर्दै लैजाने, भ्रष्टाचारका सम्भावना न्यून गर्दै जाने, शक्तिशाली भ्रष्टाचार नियन्त्रण सम्बन्धी आयोग गठन गर्दै जाने, भ्रष्टाचारको कुनै पार्टी हुँदैन, कुनै राजनीति हुँदैन, यो राष्ट्र र समाजको शत्रु हो भन्ने सोच स्थापित गर्दै त्यसविरुद्ध कठोर कारबाहीको प्रणाली विकास गर्दै जाने । यी सबै सुशासनसँग प्रत्यक्ष जोडिएका प्रधान विषय हुन् ।
यसका अतिरिक्त, देशको अर्थतन्त्रलाई क्रमशः मजबुत र सबल बनाउँदै लैजानुपर्छ । ह्युमन रिसोर्सदेखि लिएर नेचुरल रिसोर्ससम्म, सम्भावनाका सबै क्षेत्र, पुँजी निर्माणका स्रोत विकास गर्दै तिनलाई व्यवहारमा उतार्नुपर्छ । पुँजी निर्माणलाई संस्थागत गर्दै, त्यसको उपयोगलाई व्यवस्थित र केन्द्रीय रूपमा अघि बढाउँदा अर्थतन्त्रको आकार बढ्छ ।
अर्थतन्त्र सबल भएपछि त्यसको प्रभाव पूर्वाधार विकास, जनताको सेवा प्रवाह, स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा देखिन्छ । यी दुवै पक्ष सुशासन र आर्थिक सुदृढीकरण सँगसँगै अघि बढे भने बदलिएको कांग्रेसले आफू मात्र होइन, देश नै बदल्न सक्छ भन्ने कुरा स्थापित हुन्छ ।
अब दोस्रो महत्त्वपूर्ण कुरा हाम्रो देश संवेदनशील भूराजनीतिक अवस्थाबाट गुज्रिरहेको छ । हामी साथी बदल्न सक्छौं, तर छिमेकी बदल्न सक्दैनौं । यस्तो संवेदनशील स्थानमा उभिएको देशका लागि नेपाली कांग्रेस नै भरपर्दो शक्ति हो । यही शक्तिलाई अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्छ, यही शक्तिलाई विश्वले चिन्ने र स्वीकार गर्ने गरेको छ ।
हिजो अन्य अस्थिर शक्ति वा प्रतिक्रियाबाट जन्मिएका दलहरूलाई न अन्तर्राष्ट्रिय समाजले भरोसा गर्यो, न भविष्यमा गर्न सक्छ । त्यसैले देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको विश्वसनीयता स्थापित गर्न सक्ने शक्ति नेपाली कांग्रेस नै हो ।
यसकारण विकास, सुशासन र जनसेवासँग जोडिएका विषय सुधार्ने मात्र होइन, अन्तर्राष्ट्रिय विश्वसनीयता पुनः स्थापित गर्ने चुनौती पनि हाम्रो सामु छ । किनकि केही समयअघि हाम्रो विदेश नीति सन्तुलित हुन सकेको थिएन, चासोको विषय बनेको थियो र देश भूराजनीतिक दबाबमा पर्दै गएको थियो । त्यसबाट देशलाई जोगाउनु पनि हाम्रो दायित्व हो ।
दृश्य र अदृश्य दुवै किसिमका धेरै चुनौतीहरू छन् । देखिने सुधार मात्र होइन, देशको अस्पष्टता र संवेदनशीलतासँग जोडिएका विषय पनि समाधान गर्नुपर्ने अवस्था छ । यी सबै सम्भावनालाई समेट्न सक्ने भरपर्दो, पाको र जिम्मेवार पार्टी नेपाली कांग्रेस नै हो ।
नेतृत्वको कुरा गर्दा, हामीले नयाँ, ऊर्जाशील र अनुभवी नेतृत्व अगाडि सारेका छौं । प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तावित नेतृत्व अनुभव, परिपक्वता र दृष्टिकोण सबै हिसाबले सक्षम छ । इतिहासले प्रमाणित गरेको नेतृत्व भएकाले भविष्यप्रति भरोसा गर्न सकिन्छ ।
अन्य शक्तिहरूमा त्यो भरोसा छ त ? आज भोट दिँदा भोलि पछुताउनु नपर्ने ग्यारेन्टी छ त ? आज सुन्तला रोप्दा भोलि कागती वा अर्को निबुवा फल्ने अवस्था त छैन ? यस्ता अनिश्चितताबाट जोगिन जनताले विवेकपूर्ण निर्णय गर्नैपर्छ ।
देश बदल्छौं भन्ने संकल्प दिनलाई जनताको हातहातमा चुनावअघि नै घोषणापत्र पुग्नु पर्ला नि, होइन ?
देश बदल्ने कुरा कागजको घोषणापत्रले मात्र हुँदैन । न त शब्दले मात्रै देश बदलिन्छ, न नाराले । देश आचरणले बदलिन्छ, विश्वसनीयताले बदलिन्छ, शैलीले बदलिन्छ । तपाईंले ‘म बदल्छु’ भनेर भनेको कुरा तपाईंको विगतले पुष्टि गर्नुपर्छ । आजका काम-कारबाहीले पुष्टि गर्नुपर्छ । अहिले देखिएका घटनाक्रमहरूले नै भोलिप्रति विश्वास जगाउनुपर्छ । तब मात्र जनता भोलिको कुरा पत्याउन सक्छन् ।
कांग्रेस बदल्छु, देश बदल्छु भन्ने कुरा हामीले पहिलो प्रस्तावका रूपमा होइन, पहिलो अभ्यासका रूपमा प्रस्तुत गरेका छौं । हामीले अरूलाई बदल भन्दैनौं, पहिले आफू बदलिएर देखाएका छौं ।
आज कांग्रेसभित्र जुन किसिमको संरचनागत, शैलीगत र आचरणगत परिवर्तन देखिएको छ, त्यो अन्य कुनै दलमा देखिएको छैन । न त्यस्तो परिवर्तन अरूले गर्न सकेका छन्, न सजिलै गर्न सक्छन् । यही नै मूल विषय हो । यही परिवर्तनले भोलिको देश परिवर्तनको आधार तयार गर्छ ।
मैले घोषणापत्र कहिले ल्याउनुहुन्छ भनेर सोधेको...
घोषणापत्र यही महिनाको अन्त्यतिर सार्वजनिक हुन्छ । घोषणापत्र तयार गर्न समय लागेको कारण के हो भने, देशभरिबाट सुझाव संकलन गरिरहेका छौं । सबै देशवासीको अपनत्व यसमा स्थापित होस् भन्ने हाम्रो चाहना हो । यो केवल कांग्रेसको घोषणापत्र होइन, ‘मेरो घोषणापत्र’ भनेर हरेक नागरिकले अपनत्व महसुस गर्न सकोस् भन्ने उद्देश्य हो ।
त्यसैले यसमा हरेकको भावना र सुझाव प्रतिबिम्बित होस् भन्ने प्रयास गरिएको छ । अर्को कुरा, विस्तृत घोषणापत्र स्वाभाविक रूपमा लामो हुन्छ, त्यसमा नीतिगत र कार्यक्रमगत सबै विषय समेटिन्छन् ।
तर जनताले हातहातमा बोकेर बुझ्न सक्ने गरी हामी छोटो, स्पष्ट र केन्द्रित ‘भिजन-१०’ पनि ल्याउँदैछौं । ती १० बुँदाभित्र नै हाम्रो समग्र दृष्टिकोण अट्छ । मुख्य-मुख्य विषय त्यही १० बुँदामा समेटिन्छन् । वास्तवमा ती १० बुँदाभित्र सयौं कार्यक्रम र योजना समावेश हुन्छन् । जनताले सजिलै बुझ्ने, सम्झने र अपनाउने खालको घोषणापत्र बनाउने हाम्रो सोच यही हो ।
अन्त्यमा; १६५ निर्वाचन क्षेत्रसम्म गएर प्रचार विभागले कसरी काम गर्दैछ ? कस्ता-कस्ता संयन्त्र बनेका छन् ?
पार्टीका संरचना भातृ संस्था छन्, ठूलो कार्यकर्ता पंक्ति छ ती सबै संरचनालाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ । अहिले ती संरचना तल्लो तहसम्म संगठित रूपमा परिचालित भइरहेका छन् ।

त्यसका अतिरिक्त, ती काम व्यवस्थित रूपमा भइरहेका छन् कि छैनन् भन्ने विषयमा नियमित अनुगमन पनि भइरहेको छ । माथिल्लो तहका साथीहरूले अनुगमन गर्ने, सुझाव दिने, सल्लाह दिने र स्वयं पनि काममा सहभागी हुने प्रक्रिया निरन्तर चलिरहेको छ ।
त्यससँगै, जनशक्ति परिचालन मात्र होइन, जनताको राय बुझ्ने, जनताको मन बुझ्ने, कहाँ गल्ती भयो, कहाँ सुधार गर्नुपर्छ, कसरी जनतासम्म अझ प्रभावकारी रूपमा पुग्ने भन्ने विषयमा पनि निरन्तर काम भइरहेको छ । जनताले अपेक्षा गरेअनुसारको पार्टीका रूपमा आफूलाई कसरी स्थापित गर्ने भन्ने प्रश्नमा पनि सँगसँगै पहल भइरहेका छन् ।
यसका अतिरिक्त, प्रचारका क्रममा १६५ वटै निर्वाचन क्षेत्रमा पुर्याउनुपर्ने सबै किसिमका लजिस्टिक सामग्री समयमै उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
अहिलेको सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण बनेको डिजिटल प्रचार माध्यमलाई व्यवस्थित गर्न पनि हामीले त्यसअनुसारको छुट्टै संरचना विकास गर्दै लगेका छौं । सायद केही दिनमै यसको प्रभाव तपाईंले परिणाममा पनि देख्नुहुनेछ ।