०४ साउन २०८३, सोमबार
महोत्तरी-२ को चुनावी विश्लेषण

समयसँगै राजनीतिक गियर फेर्ने शरत्‌सिंह : दशौँपटक मैदानमा, आठौँ जीत निकाल्न सजिलो कि सकस ?

माघ २२, २०८२
काठमाडौं
समयसँगै राजनीतिक गियर फेर्ने शरत्‌सिंह : दशौँपटक मैदानमा, आठौँ जीत निकाल्न सजिलो कि सकस ?

महोत्तरीको राजनीतिमा एउटा यस्तो पात्र छन्, जो व्यवस्था फेरिँदा पनि फेरिँदैनन्, पार्टी फेरिँदा पनि उनको पल्ला भारी भइरहन्छ र समयको गतिसँगै आफ्नो राजनीतिक 'गियर' बदल्न खप्पिस छन् । उनी हुन्, शरत्‌सिंह भण्डारी। पञ्चायतको जगबाट उठेर बहुदल हुँदै मधेशवादको मियोसम्म आइपुग्दा उनले केवल चुनाव मात्र जितेका छैनन्, मतदाताको तीन पुस्तासम्म आफ्नो व्यक्तिगत सम्पर्क कायम राखेका छन् ।

२०३८ सालमा उनलाई मतदान गर्ने वृद्धदेखि उनकै लागि चुनाव प्रचार गर्न खाडी मुलुकबाट गाउँ फर्किएका युवाहरूसम्मको ठूलो सञ्जाल भण्डारीको शक्ति हो । विपक्षीहरू उनलाई 'कामभन्दा बढी जातजातिको राजनीति गर्ने र केन्द्रमा भनसुन गरेर शक्ति टिकाइराख्ने' नेताको रूपमा चित्रण गर्छन् । तर, जिल्लाको प्रशासनदेखि गाउँको प्रहरी चौकीसम्म पहुँच राख्ने र एउटा फोन कलका भरमा जनताका समस्या सुल्झाउने उनको शैली नै दशौँपटक चुनावी मैदानमा उत्रिँदा आठौँ जीत निकाल्ने मुख्य दाउ बनेको छ ।

सातपटक संसदीय चुनाव जितेर संसद् छिरिसकेका भण्डारी दशौँपटक चुनावी मैदानमा छन्। आठौँपटक चुनाव जित्ने उनको दाउ छ। २०३८, २०४२, २०५१, २०५६, २०६४, २०७४ र २०७९ सालको संसदीय चुनाव जित्न सफल भण्डारी आठौँपटक पुनः सांसद बनेर प्रतिनिधि सभामा प्रवेश गर्ने तयारीमा लागेका हुन्।

सातपटक चुनाव जितेका भण्डारीले दुईपटक भने हारको सामना पनि गर्नु परेको थियो। २०४८ साल र २०७० सालको चुनावमा भने उनले पराजय भोग्नुपरेको थियो। महोत्तरीका सबै निर्वाचन क्षेत्रबाट चुनाव लडिसकेका भण्डारीले पछिल्लो समय महोत्तरी-२ लाई गृहक्षेत्र बनाएका छन्। २०७४ र २०७९ मा उनी महोत्तरी-२ बाट नै निर्वाचित भएका थिए। यसपटक पनि उनले महोत्तरी-२ बाट नै उम्मेदवारी दिएका छन्।

पञ्चायतदेखि बहुदल आउँदासम्म नेपाली कांग्रेसबाट चुनाव लड्दै आएका भण्डारी २०६२/६३ सालको मधेश आन्दोलनपछि कांग्रेस परित्याग गरेर मधेशकेन्द्रित दलमा आबद्ध भएका थिए। त्यसयता उनी मधेश केन्द्रित दलमै रहेर चुनाव लड्दै आएका छन्।

२०६४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरममार्फत मधेशवादको राजनीति शुरू गरेका उनी फोरम लोकतान्त्रिक हुँदै राष्ट्रिय मधेश समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अहिले जनता समाजवादी पार्टी नेपालमा आबद्ध छन्। यसपटक उनले जसपा नेपालबाट नै टिकट पाएका हुन्।

२०७९ मा भण्डारी तत्कालीन लोसपाबाट २५ हजार १९० मत ल्याएर विजयी हुँदा तमलोपाका विजयकुमार सिंहले ११ हजार १२० र नेकपा एमालेका रामपरीक्षण यादवले १० हजार २५८ मत ल्याएका थिए। त्यसैगरी, २०७९ मा गठबन्धनको नाममा कांग्रेसले सिट नपाएर भण्डारीले फराकिलो मतान्तरका साथ जित्न पाएका थिए।

null

त्यसअघि २०७४ सालको चुनावमा तत्कालीन राजपा नेपालबाट भण्डारी ३० हजार ७२२ मत ल्याएर विजयी भएका थिए। त्यतिबेला पनि उनले फराकिलो मतान्तरले नै जित हात पारेका थिए। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी किरण यादवले १३ हजार ९७४ मत ल्याएकी थिइन् भने एमालेका कासिम नदाफले ३ हजार ७३२ मत ल्याएका थिए।

सातपटक संसदीय चुनाव जित्नुले नै महोत्तरीमा भण्डारीको प्रभाव कति छ भन्ने आकलन गर्न सकिने उनीनिकट नेता ज्ञानेन्द्र झा 'ज्ञानु' बताउँछन्। ‘क्षेत्रमा मात्र होइन जिल्लामै उहाँ (भण्डारी) ले मतदातालाई व्यक्तिगत रूपमा चिन्नुहुन्छ। त्यो पनि तीन पुस्तासम्म,’ ज्ञानुले लोकान्तरसँग भने, ‘२०३८ सालमा उहाँले चिनेका मतदाताको तेस्रो पुस्ता नातिसँग पनि उहाँ व्यक्तिगत सम्पर्कमा हुनुहुन्छ। क्षेत्रका जनताको काम होस् वा जिल्लाकै जनताको काम पर्दा उहाँले तत्काल सम्बोधन गर्न सम्बन्धित निकायमा फोन गरिदिनुहुन्छ।’

भण्डारीसमक्ष मतदाताको सहज पहुँच हुनु पनि उनको लोकप्रियताको कारण रहेको उनले खुलाए। ‘उहाँसँग सम्पर्क स्थापित गर्न मतदातालाई अन्य नेताजस्तो अर्को कुनै माध्यमको आवश्यकता पर्दैन,’ ज्ञानुले थपे, ‘उहाँले जोसुकैको पनि फोन उठाएर समस्या सुन्नुहुन्छ र त्यसको सम्बोधन गर्नुहुन्छ।’

जिल्लामा अन्य नेताको तुलनामा मुख्यतः प्रहरी प्रशासनदेखि सरकारी निकायमा पञ्चायतकालदेखिको पकड अहिलेसम्म कायम हुनुले पनि भण्डारीको वर्चस्व कायम रहेको उनीनिकट अर्का एक कार्यकर्ताले बताए। ‘मधेशमा अहिले मतदातालाई सुरक्षा प्रमुख विषय बनेको छ। केही भयो भने प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालयमा प्रहरी उपरीक्षक र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसम्मलाई फोन गरेर भनसुन गरिदिनुपर्ने नै अहिले पनि मुख्य आवश्यकता छ,’ भण्डारीनिकट ती कार्यकर्ताले लोकान्तरसँग भने, ‘त्यसबाहेक आवश्यकता पर्यो भने माथि केन्द्रसम्म पनि भनसुन गर्नुपर्‍यो भने मतदाताका लागि उहाँ पछि पर्नुहुन्न।’

भण्डारीसँगसँगै राजनीति गरेका धेरैजसो नेताहरूको अहिलेको युवा पुस्तामा पहुँच छैन। तर, भण्डारीले युवा पुस्तामा पनि आफ्नो प्रभावलाई अझै पनि कायम राखेको उनले दाबी गरे। त्यसको उनले उदाहरण नै दिए। ‘पछिल्लो समय उहाँ दुईपटक श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभयो। त्यस अवधिमा क्षेत्रका २ हजार युवालाई फ्री भिसा, फ्री टिकट गराएर वैदेशिक रोजगारीका लागि मलेसियासहित विभिन्न खाडी मुलुकमा पठाइदिनुभयो,’ उनले थपे, ‘एक जनालाई वैदेशिक रोजगारीमा जान अहिले ३ लाख रूपैयाँसम्म एजेन्टले लिने गर्छन्। त्यस्तो अवस्थामा १ रूपैयाँ पनि नतिरी विदेश जान पाएकाले स्वाभाविक रूपमा भण्डारीलाई नै मतदान गर्छन्।’

null

त्यसरी वैदेशिक रोजगारीमा पुगेका २ हजारमध्ये ५ सय जति युवा त 'दाइ'लाई चुनाव जिताउनुपर्छ भनेर अहिले स्वदेश फर्किएको उनले खुलाए। ‘त्यसबाहेक क्षेत्रमा विकास निर्माणको काम पनि भएकोले यसपटक पनि उहाँले नै चुनाव जित्नुहुन्छ,’ उनले थपे, ‘हो, विगतजस्तो झन्डै दोब्बर मतको मतान्तरले जित्ने गर्नुभएकोमा यसपटक मतान्तरको मार्जिनमा भने कमी आउन सक्छ।’

भण्डारी निकट कार्यकर्ताहरूको जेजस्तो दाबी भए पनि ग्राउण्डमा यसपटक उनलाई त्यति सहज भने देखिएको छैन। विगतमा कांग्रेसको उम्मेदवार नै नहुँदा फाइदा हुने गरेकामा यसपटक आठ वर्षपछि भण्डारीलाई पुनः चुनौती दिन कांग्रेसकी किरण यादव मैदानमा उत्रिएकी छन्। पूर्वराष्ट्रपति डा. रामवरण यादवकी भतिजी तथा अर्की पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनीसमेत रहेकी उनी २०६४ सालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् भने २०७० सालमा उनी प्रत्यक्षबाट निर्वाचित भएकी थिइन्। त्यसबाहेक उनी कांग्रेसमा दुईपटक केन्द्रीय सदस्यसमेत भइसकेकी छिन्।

भण्डारी पछिल्लो दुई पटक लगातार यस क्षेत्रबाट चुनाव जितेर गए पनि खरो उत्रिन नसकेको यादवको आरोप छ। २०६४ र २०७० सालको संविधान सभामा गएपछि आफूले गरेको कामबाहेक भण्डारीले थप विकास निर्माणको काम गर्न नसकेको उनको दाबी छ। ‘उहाँ (भण्डारी) ले दुईपटक चुनाव जित्दा पनि यस क्षेत्रमा केही थप विकास निर्माणको काम गर्नुभएको छैन,’ यादवले लोकान्तरसँग भनिन्, ‘उहाँ त आलोपालो महोत्तरीका सबै संसदीय निर्वाचन क्षेत्रबाट चुनाव लडेर जित्नुभएको छ। नेपालकै इतिहासमा सबैभन्दा बढीपटक मन्त्रीसमेत बन्नुभयो तर त्यस आधारमा क्षेत्रको मात्र नभएर महोत्तरी जिल्लाकै विकास अन्य जिल्लाभन्दा बढी हुनुपर्नेमा केही पनि भएको छैन।’

यहाँसम्म कि कर्णालीभन्दा पनि महोत्तरी जिल्ला विकासको नाममा पछि परेको उनको दाबी छ। विकास निर्माणको काम गर्नुपर्नेमा भण्डारीले क्षेत्रका जनतालाई जातजातिमा विभाजन गरेको यादवको आरोप छ। ‘विकासको कुरा गर्नुपर्ने ठाउँमा उहाँले क्षेत्रका जनतालाई जातजातिका नाममा विभाजित गरिरहनुभएको छ,’ यादवले लोकान्तरसँग भनिन्, ‘लामो समयदेखि एकै व्यक्ति निरन्तर नेतृत्वमा रहेकाले यसपटक क्षेत्रको नेतृत्व परिवर्तन गर्ने मुडमा जनता देखिएका छन्।’

२०७९ सालमा आफूले पाइसकेको टिकट भण्डारीले गठबन्धनको नाममा फिर्ता गराएको आक्रोश पनि यसपटक क्षेत्रका जनतामा रहेको उनले बताइन्। ‘गत निर्वाचनमा मैले टिकट पाएर पनि गठबन्धनको नाममा भण्डारीलाई उम्मेदवार बनाउनु परेको र क्षेत्रका जनताले भोट हाल्नुपरेकोमा यसपटक आफ्नै पार्टीको उम्मेदवारलाई मतदान गर्न पाउने भएपछि पार्टीका कार्यकर्ताहरू उत्साहित छन्,’ उनले थपिन्, ‘त्यसैगरी विगतजस्तो यसपटक कांग्रेसमा कुनै पनि असन्तुष्टि छैन। कुनै गुट-उपगुट छैन। सबै एकताबद्ध हुँदा संगठनको कारण पनि म चुनाव जित्छु।’

null

कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा बन्ने आगामी सरकारमा आफू पनि मन्त्री बन्ने हुँदा क्षेत्रका जनतालाई अब कुनै पनि नेतासँग डराउनु पर्ने आवश्यकता नरहेको उनको तर्क छ। यादवबाहेक रास्वपाबाट उम्मेदवारी दिएका डा. दीपककुमार साह पनि भण्डारीका लागि चुनौती बनेका छन्। पेसाले दृष्टिरोग विशेषज्ञ साह नेपाल दृष्टिविशेषज्ञ संघका राष्ट्रिय अध्यक्ष पनि हुन्। यसपटक मधेशको छोरा बालेन्द्र (बालेन) शाहलाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर मतदाताको मनमा बसिसकेको हुनाले पनि आफ्नो जित हुने साह बताउँछन्।

‘यस क्षेत्रमा विगतमा धेरैपटक धेरै नेता जितेर गए, पटक-पटक सांसद बने, पटक-पटक मन्त्री बनेर आफ्नो कीर्तिमान नै स्थापित गरे,’ साहले लोकान्तरसँग भने, ‘तर यो क्षेत्रको कुनै पनि विकास हुन सकेन। कर्णालीभन्दा पनि पिछाडिएको क्षेत्र हो यो। नेताले आफ्नो मात्र विकास गरे तर जनताको कुनै पनि आश्वासन पूरा नभएकाले यसपटक जनताले नेतृत्व परिवर्तन गर्न खोजेका छन्।’ यही क्षेत्रको धर्तीपुत्र, विकास गर्न सक्ने, संसद्‌मा आवाज उठाउन सक्ने, समस्याभन्दा पनि समाधान गर्न सक्ने युवा नेतृत्व जनताले रोजेकाले यसपटक आफू नै जित्ने उनको दाबी छ।

त्यसबाहेक त्यस क्षेत्रमा एमालेबाट कासिम नदाफ, नेपाली कम्युनिष्ट पार्टीबाट लक्ष्मणकुमार यादव, जनमत पार्टीबाट जयकुमार पाण्डेयसहित अन्य पार्टीका साथै स्वतन्त्र उम्मेदवारसमेत छन्।

null

भण्डारीले भने अहिलेसम्म आफ्नो प्रतिस्पर्धा कोसँग हुने भन्ने चित्र प्रष्ट नभएको बताए। ‘चुनावमा उम्मेदवारहरू भएपछि स्वाभाविक रूपमा प्रतिस्पर्धा हुन्छ,’ भण्डारीले लोकान्तरसँग भने, ‘तर, अहिले नै कोसँग प्रतिस्पर्धा हुन्छ भनेर भन्न सकिने अवस्था आइसकेको छैन।’ आफ्नो जित यसपटक पनि सुनिश्चित रहेको उनको दाबी छ। ‘म जसपा नेपालबाट उम्मेदवार रहेकाले मधेश आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा बाँकी रहेका अधिकार प्राप्तिको लागि सदनमा आवाज उठाउन पनि क्षेत्रका जनताले मलाई मतदान गर्नुहुन्छ,’ उनले थपे, ‘अहिले संघीयतामाथि चौतर्फी प्रहार हुँदा मधेश आन्दोलनको प्रमुख शक्ति लोसपा र जसपा मिल्नुपर्छ भनेर जनताले भनेकाले हामी एकीकृत भएर आएका छौँ। त्यसकारण राजनीतिक एजेन्डाकै कारण पनि मतदाताले जिताउनुहुन्छ।’

त्यसबाहेक क्षेत्रमा व्यापक विकासको काम आफूले गरेको उनले बताए। ‘खास गरेर रातो नदीको बीचबाट विभाजन भएको पूर्वी तथा पश्चिमी रातो नदीका विभिन्न स्थानमा पर्ने दर्जन जति पुल निर्माण भएर कनेक्टिभिटी कायम हुन सफल भएको छ,’ उनले थपे, ‘औरही, सिंग्याही, भगवतीपुर, कविलासा, लोहारपट्टी, भल्ही, बनिनिया, टिकुलियासहित १ दर्जन बढी स्थानमा पुल निर्माण भएको छ।’ पुलका साथसाथै सडकहरू पनि विभिन्न स्थानमा निर्माण भएको हुनाले अब जनकपुर, जलेश्वर, बर्दिवास, मलंगवा जान क्षेत्रका जनतालाई सहज भएको उनले बताए। त्यसैगरी विभिन्न स्थानमा सिँचाइका आयोजना निर्माण गरिएको उनको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्