०९ साउन २०८३, शनिबार

रुसले भन्यो- भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र छ

माघ २२, २०८२
काठमाडौं
रुसले भन्यो- भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र छ
भ्लादिमिर पुटिन र नरेन्द्र मोदी ।

रुसले भारत जुनसुकै देशबाट तेल किन्न स्वतन्त्र रहेको बताएको छ । कच्चा तेल आपूर्तिकर्ता विविधीकरण गर्ने निर्णय कुनै नयाँ विषय नभएको समेत रूसले जनाएको छ । 

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘हामी मात्र होइन, सबै अन्तर्राष्ट्रिय ऊर्जा विज्ञहरूलाई थाहा छ कि रूस भारतका लागि एक मात्र तेल तथा पेट्रोलियम पदार्थ आपूर्तिकर्ता होइन । भारतले सधैँ अन्य देशबाट पनि यी उत्पादन खरिद गर्दै आएको छ । त्यसैले हामी यहाँ कुनै नयाँ कुरा देख्दैनौं ।’

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दाबीबारे सोधिएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । जसमा ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी तेल खरिद रोक्ने र अमेरिकाबाट तथा सम्भवतः भेनेजुएलाबाट कच्चा तेल किन्न सहमति जनाएको बताएका थिए ।

यसअघि एक दिनअघि पेस्कोभले भारतबाट रूसी तेल खरिद रोक्नेबारे कुनै औपचारिक जानकारी रूसले नपाएको बताएका थिए ।

यसैबीच, रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बुधबार हाइड्रोकार्बन व्यापार भारत र रूस दुवैका लागि फाइदाजनक रहेको बताइन् ।

उनले पत्रकार सम्मेलनमा भनिन्, ‘हामी विश्वस्त छौं कि भारतले रूसी हाइड्रोकार्बन खरिद गर्नु दुवै देशका लागि लाभदायक छ र यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारको स्थायित्व कायम राख्न योगदान पुर्‍याउँछ । यस क्षेत्रमा भारतका साझेदारसँग नजिकको सहकार्य जारी राख्न हामी तयार छौं ।’

निजी व्यावसायिक रेडियो कोमर्सान्त एफएमले अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ विपरीत प्रधानमन्त्री मोदीले रूसी तेल आयात रोक्ने कुनै सम्झौताबारे उल्लेख नगरेको टिप्पणी गरेको छ ।

राष्ट्रिय ऊर्जा सुरक्षा कोषका प्रमुख विज्ञ इगोर युस्कोभका अनुसार भारतीय रिफाइनरीहरूले रूसी कच्चा तेलको आयात पूर्ण रूपमा रोक्न सक्दैनन् ।

उनले भने, अमेरिकाले निर्यात गर्ने शेल तेल हल्का प्रकारको हुन्छ, जुन ग्यास कन्डेन्सेटसँग मिल्दोजुल्दो छ । अर्कोतर्फ रूसले तुलनात्मक रूपमा भारी र सल्फरयुक्त ‘युराल्स’ ग्रेड आपूर्ति गर्छ । त्यसैले भारतले अमेरिकी कच्चा तेललाई अन्य ग्रेडसँग मिसाउनुपर्ने हुन्छ, जसले अतिरिक्त लागत बढाउँछ । सरल रूपमा एक–अर्काको सट्टा प्रयोग गर्न सम्भव छैन ।’

युस्कोभका अनुसार रूसले सामान्यतया भारतलाई दैनिक १५ लाखदेखि २० लाख ब्यारेल तेल निर्यात गर्छ । 

‘अमेरिकाले त्यो परिमाण पूर्ति गर्न सक्दैन । यसले ट्रम्पले व्यापार वार्तामा आफू जितेको देखाउन खोजेको र सम्झौता पूर्ण रूपमा अमेरिकी मागअनुसार भएको सन्देश दिन खोजेको अनुभूति हुन्छ’, उनले भने ।

उनले सन् २०२२ मा रूसले युरोपेली र अमेरिकी बजारबाट भारततर्फ ध्यान केन्द्रित गर्दा दैनिक १० लाख ब्यारेल उत्पादन कटौती गरेको स्मरण गराए । त्यसबेला कच्चा तेलको मूल्य प्रतिब्यारेल १२० डलरसम्म पुगेको र अमेरिकामा पेट्रोल तथा डिजेलको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो ।

गत वर्ष राष्ट्रपति ट्रम्पले भारतमाथि ५० प्रतिशतसम्मको भन्सार शुल्क लगाएका थिए, जुन विश्वकै उच्च दरमध्ये एक हो । यसमा रूसी ऊर्जाको खरिदका लागि २५ प्रतिशत अतिरिक्त शुल्कसमेत समावेश थियो ।

भारतले प्रयोग गर्ने पेट्रोल र डिजेलजस्ता इन्धन उत्पादनका लागि आवश्यक कच्चा तेलको करिब ८८ प्रतिशत विदेशबाट आयात गर्छ ।

सन् २०२१ सम्म भारतले आयात गर्ने कूल कच्चा तेलमा रूसी तेलको हिस्सा झन्डै ०.२ प्रतिशत मात्र थियो । युक्रेनमाथि फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेपछि पश्चिमी देशहरूले मस्कोलाई बहिष्कार गरेसँगै विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता भारत छुटमा पाइने रूसी कच्चा तेलको सबैभन्दा ठूलो खरिदकर्ता बनेको थियो ।

रियल–टाइम विश्लेषण कम्पनी क्लरका तथ्यांकअनुसार जनवरीको पहिलो तीन सातामा भारतले दैनिक करिब ११ लाख ब्यारेल रूसी कच्चा तेल आयात गरेको छ । 

यो अघिल्लो महिनाको औसत दैनिक १२.१ लाख ब्यारेलभन्दा कम हो भने सन् २०२५ को मध्यतिरको २० लाख ब्यारेलभन्दा बढी आयातको तुलनामा उल्लेख्य गिरावट हो ।

salt training

कमेन्ट गर्नुहोस्