२९ असार २०८३, सोमबार
चुनावी ग्राउन्ड जिरो

मकवानपुर- २ लाई छिचोल्दै २५०० मिटरको उचाइमा पुगेर हेटौँडा ओर्लिँदा

धूलो नउड्ने बाइरोडको बाटोदेखि उम्मेदवार नचिन्ने घण्टीका मतदातासम्म
मकवानपुर- २ लाई छिचोल्दै २५०० मिटरको उचाइमा पुगेर हेटौँडा ओर्लिँदा

बिहानैदेखि घाम लागे पनि तापक्रम खासै बढेको थिएन । बुधबार (माघ २१ गते) बिहान करिब १० बजे २०३० मिटरको उचाइबाट हामीले टिस्टुङ र बज्रबाराहीको फाँटलाई नियाल्यौं । 'चुनावी ग्राउन्ड जिरो'अन्तर्गत मकवानपुर क्षेत्र नम्बर २ लाई बुझ्ने क्रममा हामी टिस्टुङ उक्लिएका थियौं । हाम्रो उद्देश्य मकवानपुर २ को भूगोललाई नजिकबाट चिन्नु थियो । त्यहाँका जनताको आवाज सुन्नु थियो र चुनावी माहोल बुझ्नु थियो ।

त्यसो त  हामीले टिस्टुङ नउक्लिँदै स्थानीय मतदाताहरूसँग कुरा गर्न थालेका थियौं । सबैभन्दा पहिले हाम्रो भेट थाहा नगरपालिका वडा नम्बर १२ तारुकाकी ठूली तामाङसँग भयो ।

सामान्य शिस्टाचार र केही अनौपचारिक कुराकानीपछि हामी विषयवस्तुमा प्रवेश गर्‍यौं । 'दिदी यहाँ चुनावको माहोल कत्तिको लाग्या छ, के भन्छन् छर-छिमेकमा ?' प्रश्न भुइँमा खस्न नपाउँदै विना हिच्किचाहट उनले भनिन्, 'यसपटक नयाँलाई हेर्ने ।'

हामीले शुरूमा केही समय अनौपचारिक कुराकानी गरेको भएर उनलाई प्रश्नको जवाफ दिन गाह्रो भएन शायद । 'पुरानालाई पहिलेदेखि नै भोट हाल्दै आएकाले यसपटक नयाँलाई हेरौं न त' भन्ने उनको मनसाय झल्किन्थ्यो ।

कुराकानीकै क्रममा ठूलीका श्रीमान् अष्टमान लामा आइपुगे ।

अष्टमानसँग पनि हामीले चुनावी महोलबारे जिज्ञासा राख्यौं । तर, उनको कुरा केही फरक थियो । उनले नेकपा एमालेका उम्मेदवार महेश बर्तौला र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार लवशेर विष्टको नाम लिए ।

'महेश बर्तौलाले यहाँ धेरै काम गरेको छ । हाम्रो यहाँ रोडलाई २५/३० लाख रुपैयाँ बजेट हालिदिएको छ । खानेपानीलाई पनि ४५ लाख बजेट परेको छ । तर, ठेकेदारले काम गर्न सकेन । म्याद थप गरेर बसिरा'छन्, अब के हुन्छ कुन्नि !'

उनले आफूलाई नेकपाका उम्मेदवार विष्टले फोन गरिसकेको बताए । 'लवशेर विष्टले फोन गर्नुभएको थियो । उहाँ यहाँको पहिलेको मेयर पनि हो । मेयर हुँदा राम्रो काम गर्नुभएको थियो । मेरो यो घर उहाँले नै बनाइदिनुभएको हो,' उनको झुकाव विष्टतर्फ अलि बढी झल्कियो ।

उनले दुई उम्मेदवारको नाम लिँदै गर्दा ठूली बोलिन्- 'उहाँ अहिलेसम्म दोधारमै हुनुहुन्छ । म त नयाँलाई हेर्ने हो ।'

अष्टमानले आफ्नो गाउँ पहिले एमालेको गढ रहेको सुनाए ।

वडा कार्यालयको त्यो चुनावी विमर्श

अष्टमान दम्पतीसँगको कुराकानीपछि हामी त्यहाँबाट केही तल रहेको १२ नम्बर वडा कार्यालयमा ओर्लियौं । त्यहाँ वडाध्यक्ष टीकाराम स्याङ्तान (नेपाली कांग्रेस), एमालेबाट उनीसँग वडाध्यक्षमा प्रतिस्पर्धा गरेका (निकटतम प्रतिस्पर्धी) युवराज गोलेलगायत व्यक्तिहरू बसेर कुराकानी गरिरहेका थिए ।

वडा कार्यालयमै पुगेकाले हामीले आफ्नो परिचय बताएर सिधै चुनावी माहोलबारे जिज्ञासा राख्यौं । ठट्यौली पारामा वडाध्यक्ष स्याङ्तानले जवाफ दिए- 'यहाँ हामी सबै मिलेर रूख (नेपाली कांग्रेसको चुनाव चिह्न)मा भोट हाल्ने कुरा भइराछ ।'

'अनि नयाँको माहोल छ भन्छन् त ?' हामीले त्यस्तै शैलीमा प्रश्न गर्दा सँगै रहेका युवराज बोले ।

'हाम्रो यहाँ घण्टी कम छ । भएको ठाउँमा पनि छाडापन धेरै भयो । अरूलाई गाली गरेर, नराम्रो भनेर मात्र त राजनीति हुँदैन नि,' बहसमा वडाध्यक्ष स्याङ्तानलाई पनि मिसाउँदै उनले थपे, 'हामी वडामा एकअर्काका प्रतिस्पर्धी हौं । गठबन्धन (तत्कालीन अवस्थामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी) हुँदा उहाँले जित्नुभयो, मैले हारें । तै पनि हामी सौहार्दपूर्ण रूपमा गफ गर्छौं, मिलेर काम गर्छौं । तर, नयाँ भन्नेहरूको राजनीतिक संस्कार भएन । तपाईंले यो कुरा लेखिदिनुहोला ।'

त्यसपछि वडाध्यक्ष स्याङ्तानले नयाँको हल्लाखल्ला बढी भए पनि भोट खासै नआउने विश्लेषण सुनाए ।

null

'केटा-केटीले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न) भन्छन्, तर भोट हाल्नलाई यहाँ छैनन्, बाउआमाले नयाँलाई भोट हाल्दैनन्,' कांग्रेसका बुद्ध लामा योग्य उम्मेदवार रहेको तर्कसहित उनले भने ।

आफ्नो वडा थाहा नगरपालिकाकै सबैभन्दा विकट रहेको भन्दै स्याङ्तानले तैपनि विकासका कामहरू भइरहेको बताए ।

'यहाँको मुख्य समस्या खानेपानीको हो । पहिले कहिलेदेखि जम्मा भएको अनि कीरा परेको पानी खानुपर्थ्यो । सलाङपुरमा हामीले डबल लिफ्टिङ तथा थ्री फेज लाइन जोडेर खानेपानी ल्याएका छौं । झाप्रेमा पनि २ किलोमिटरको थ्रिफेज लाइन जोडेर लिफ्टमार्फत् पानी पुर्‍याइएको छ । लितीमा ३ करोडको सिँचाइ आयोजना छ,' विकासका कामहरूको फेहरिस्त लगाउँदै उनले भने, 'तर, यहाँ स्कूल भएन । १० कक्षासम्म पढ्ने एउटा स्कूलसमेत छैन । त्यो काम गर्न सकिएको छैन ।'

उनले नयाँ भनेर मात्र नहुने भन्दै देशलाई निकास दिने मान्छे चाहिएको बताए ।

'सोचेर अनि सिरियस भएर जानुपर्ने अवस्था छ । नयाँ भनेर मात्र हुँदैन, युवा भनेर मात्र पनि हुँदैन । सबै कुरा बुझेको मान्छे चाहिन्छ,' उनले थपे, 'गगन थापाको नेतृत्वमा कांग्रेस परिवर्तित भएर आएको छ । जनताले सोचेर मत दिनुहुन्छ भन्ने विश्वास छ ।'

null

अघिल्लो चुनावका बेला सो वडामा २४०० मध्ये १६०८ मत खसेको रहेछ । कांग्रेसबाट वडाध्यक्ष जितेका स्याङ्तानले समग्र नगरपालिकाकै विश्लेषण गरे । 'हाम्रो नगरपालिकामा २२ हजार जति मत खस्छ होला, त्यसमध्ये पूर्वमेयर पनि भएको हिसाबले लवशेर विष्टको अलि बढी मत आउँछ कि भन्ने हाम्रो अनुमान छ ।'

सँगै रहेका युवराज गोलेले थाहामा लवशेर अगाडि भए पनि समग्र क्षेत्रमा महेश बर्तौला एक नम्बरमा रहेको जिकिर गरे ।

****

थाहा नगरपालिका ११ देउरालीमा ६४ वर्षीय वीरबहादुर बल, ६८ वर्षीय रामबहादुर गोपाली, ६० वर्षीय बुद्धरत्न लामालगायत केही व्यक्ति भेटिए  । वीरबहादुरले यसपटक नयाँलाई हेर्ने बताए ।

सँगै रहेकी ७७ वर्षीया वृद्धाले अब भोट हाल्न नजाने बताइन् । 'एक कप चिया खा आमा भनेर त कसैले दिँदैनन्, के भोट हाल्न जानु ?' ती वृद्धाले भनिन्, 'बुढो भइयो, जान पनि सकिन्न, अब भोट नहाल्ने ।'

null

अलि अगाडि बढेपछि महिलाहरूको एउटा समूह भेटियो । उनीहरू बज्रबाराहीका रहेछन् । नाम बताउन चाहेनन् । 'उमेर मात्र भनिदिनुस् न' भनेपछि एक महिलाले भनिन्, 'म ६३ वर्षको भएँ ।' त्यहाँ भेटिएका अन्य महिला ३५-४० देखि ६०-६५ वर्ष उमेर समूहका थिए ।

बीचमा एक महिलाले बोलिन्, 'हामी कुरा गर्दैनौं, जानु भए हुन्छ ।' तर, अरू महिलाले कुरा गर्न चासो देखाएपछि उनले पनि सहजीकरण नै गरिदिइन्, 'हामी नेवार हो, बोल्न जान्दैनौं, यी  क्षेत्रिनीहरू बोल्छन् ।'

त्यसपछि हामीलाई उमेर बताउने महिलाले भनिन्- 'पहिले एमालेले जित्यो । अलिकति काम पनि गर्‍यो । कति काम हुँदैछ । अहिले फेरि अर्को आयो भने भइरहेको काम रोकिन्छ कि भन्ने चिन्ता छ ।'

****

त्यहाँबाट केही अगाडि बढेपछि पालुङ भ्याली देखियो । चारैतिर डाँडाकाँडा र बीचमा सानो उपत्यका नै रहेछ पालुङ । पालुङ छिरेपछि थाहा नगरपालिका ३ थानाबजारमा ३६ वर्षीय जीवन खाती भेटिए । त्यहाँ उनको सुन पसल रहेछ, घर भने हेटौंडा ।

'हेटौंडा भए पनि म यही क्षेत्रको मतदाता हो । मेरो घर हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्छ । घरतिर त घण्टी नै भन्छन्, तर यहाँ थाहा नगरपालिकामा चाहिँ अन्तिमसम्म सबैले आ-आफ्नो (पुरानै) पार्टीमा भोट हाल्छन् जस्तो लाग्छ,' उनले विश्लेषण सुनाए  ।

खातीले थपे, 'यो एमालेको पनि राम्रै ठाउँ हो । लवशेर विष्ट पहिलेको मेयर पनि भएकाले माओवादी (हाल नेकपा)को अलि बढी प्रभाव छ ।'

बजारमा केही चहलपहल भए पनि पालुङको भित्री बस्ती आफ्नै धुनमा थियो । उचाइमै भए पनि टिस्टुङतिर जस्तो चिसो महसुस भएन । तरकारी खेती धेरै हुने रहेछ । किसानहरू खेतबारीमै व्यस्त देखिन्थे ।

null

त्यहाँबाट केही अगाडि बढेपछि काउली गाउँमा हामीले केही युवा भेट्यौं । आलु र काउली धेरै खेती हुने भएकाले होला, त्यहाँ काउली र आलुको ठूलो 'स्ट्याचू'सहितको पार्क नै बनेको रहेछ ।

त्यहाँ गफिँदै गरेका जेनजी युवा समूहमा पुगेर हामीले चुनावबारे जिज्ञासा राख्यौं । अधिकांशको मतदाता नामावलीमा नाम नै रहेन छ ।

त्यहाँ रहेकामध्ये अलि पाका एक व्यक्तिले मोबाइलमा स्क्यान गरिएको मतदाता परिचय पत्र देखाए  । उनको नाम भने मतदाता सूचीमा रहेछ ।

नाम नारायण गोले, उमेर ३३ वर्ष । 'यहाँ तारा (नेकपाको चुनाव चिह्न)बाट लवशेर विष्ट उठ्नुभएको छ । पहिले पनि राम्रो काम गर्नुभएको हो । भित्र-भित्रसम्म बाटो पुगेको छ, तर पिच गर्न बाँकी छ,' उनले भने, 'यहाँ धेरै माओवादी (हाल नेकपा) छन् ।'

null

दामन उक्लिएपछि…

हामी त्यहाँबाट २३२२ मिटरको उचारीमा रहेको दामन बजार उक्लियौं । पर्यटकीय गन्तव्य दामन पालुङभन्दा बिलकुल फरक थियो । बाटोमा जताततै होटल र पर्यटक लक्षित गतिविधि नै देखिए । मानिसको उपस्थिति त्यति बाक्लो थिएन, भएकाहरू बाहिरबाट पुग्ने नै थिए ।

त्यतिकैमा हामीले एक स्थानीय पर्यटन व्यवसायीलाई भेट्यौं । उनको उमेर ३७ वर्ष रहेछ । राजनीतिक रूपमा निकै जानकार पाइए । उनको परिवारले अघिल्लोपटक एमालेका महेश बर्तौलालाई मत दिएको रहेछ । यसपटक आफूहरूले मत परिवर्तन गर्न लागेको उनले बताए ।

null

'यसपटक हामी सबैले घण्टीमा भोट हाल्दैछौं । महेश बर्तौला युवा नै हो । राम्रो मान्छे पनि हुनुहुन्छ । २२ गतेसम्म यहाँ महेश बर्तौला हाइहाइ हो । तर, जेनजी आन्दोलनपछि पनि उहाँ ओली (एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली)कै पछाडि लाग्नुभयो । मैले मन परेर महेश बर्तौलालाई भोट हालौंला, उहाँले भोलि गएर ओलीलाई भोट हाल्ने हो, किनकि एमालेको प्रधानमन्त्रीको उम्मेदवार ओली नै हो, त्यसैले म ओलीका लागि मेरो भोट दिन चाहन्नँ ।'

उनले एमाले अध्यक्ष ओलीका अलावा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र सचिव महेश बस्नेतप्रति पनि आक्रोश पोखे । 'पृथ्वीसुब्बा गुरुङ र महेश बस्नेतको बोली सुन्नुस् त, कसलाई रिस उठ्दैन ? कांग्रेसमा गगन थापाहरूले विद्रोह गरे, एमालेमा पनि योगेश भट्टराई, महेश बर्तौलाहरूले विद्रोह गर्नुपर्ने होइन ? ओलीकै पछि लागेपछि कसरी भोट दिनु ?'

उनले भिजिट भिसा प्रकरणदेखि संसद्का वादप्रतिवाद तथा सामाजिक सञ्जाल बन्द गरेको विषयसम्म सम्झिन भ्याए । अन्तिममा फेरि उनले आफ्नो निष्कर्ष सुनाए- 'महेश बर्तौलालाई भोट नहाल्ने भनेको होइन, ओलीका कारण उनलाई भोट हाल्न चाहन्नौं ।'

उनले रास्वपा उम्मेदवार प्रशान्त उप्रेतीलाई मत दिन लागेको बताए । दामनबाट अगाडि बढेर २४८८ मिटरको उचाइसम्म पुगी हामी हेटौंडातर्फ लाग्यौं ।

*****

भीमफेदी गाउँपालिका ९ अघोर पुग्दा स्थानीय ६० वर्षीय कान्छाराम थिङ भेटिए  । तामाङको बाहुल्यता रहेको अघोरमा ७०/७५ घर रहेछ । आसपासका गाउँ समेत गरेर २०० हाराहारीमा घर रहेको उनले बताए । कान्छारामले पहिलेकै दलहरूमा जसले विकास गर्छ, उसैलाई मत दिने बताए । 'पहिले माओवादीले राम्रो काम गरेको हो । हाम्रो सानाकिसानको ऋण मिनाहा गरिदियो । नयाँ को आएको छ, के छ, हामीलाई थाहा छैन । हामीलाई जसले विकास गर्छ, उसैलाई भोट दिने हो ।'

उनको बोलीमा ६३ वर्षीय शेरबहादुर रुम्बाले पनि लोली मिसाए । आफू कांग्रेसको मान्छे भए पनि अघिल्लोपटक एमालेलाई भोट दिएको भन्दै उनले अब जसले राम्रो काम गर्छ उसैलाई भोट दिने बताए ।

विकासमा के काम होस् भन्ने चाहनुहुन्छ ? भन्ने प्रश्नमा कान्छारामले पानीको समस्या रहेको बताए । तर, सँगै रहेका शेरबहादुरले तुरुन्तै प्रतिवाद गरे, 'कहाँ समस्या छ ? पानी आएको छ त ।'

null

त्यहाँबाट केही तल झरेपछि भीमफेदी २ कालीटारमा हामीले ६२ वर्षीय रामेश्वर रानालाई भेट्यौं । उनी स्थानीय कालिका दुग्ध सहकारीका अध्यक्ष पनि रहेछन् । कालीटार, घण्टेखोलालगायत गाउँ गरी त्यसआसपासमा २/३०० घर रहेको उनको भनाइ थियो ।

उनले अधिकांश पुरानै दलमा रहेको बताए । 'पुरानाले छोड्दैनन् नि,' रानाले भने । रानाले स्थानीय किसानका समस्याहरूबारे बोले । 'गाई पालनका लागि पालिकाले ४० प्रतिशत अनुदान दिन्छ, ६० प्रतिशत किसानले हाल्नुपर्छ, त्यो अलि गाह्रो भयो, ५० प्रतिशतसम्म गरिदिए राम्रो हुन्थ्यो,' उनले भने, 'सरकारले दूधमा दिने भनेको प्रतिलिटर २ रुपैयाँ अनुदान पनि समयमा आएन । ४ वर्षपछि बल्ल अहिले दिने भन्ने कुरा छ । किसानले अनुदान रकम बर्सेनि पाउनुपर्‍यो ।'

त्यसआसपासमा एमालेको बाहुल्यता रहेको भन्दै उनले अघिल्लोपटक कतिपयले एमाले र माओवादीलाई बाँडेर भोट दिएको बताए । गाउँमा कांग्रेसहरू पनि रहेको उनको भनाइ थियो ।

माथि थाहामा देखिएको लवशेरको ग्राफ भीमफेदी झर्दा घटेको थियो । भीमफेदीमा एमालेका महेश बर्तौला र कांग्रेसका बुद्ध लामा प्रतिस्पर्धी देखिए । अघिल्लोपटक माओवादीलाई मत दिएको भन्नेहरू पनि गठबन्धनका कारण दिनेहरू धेरै रहेछन् ।

बजार क्षेत्रमा झर्दा नयाँको ग्राफ विस्तारै बढ्दै गयो । पछाडि-पछाडि एमाले र कांग्रेस देखिए । हेटौंडा उपमहानर छिर्नेवित्तिकै भेटिएका मन लामिछाने (वडा नम्बर १)ले यहाँ मुख्य प्रतिस्पर्धा एमाले र रास्वपाबीच हुने विश्लेषण गरे ।

'२०६४ को माओवादीजस्तै अहिले रास्वपाको पक्षमा ह्वीम छ । त्यो ह्वीमले सबैलाई बगाउने सम्भावना छ,' ४८ वर्षीय लामिछानले भने,'मुख्य प्रतिस्पर्धी एमाले हो ।'

null

सोही वडामा भेटिएका अर्का एक मतदाताले भने घण्टी र तारा चिह्नको नाम लिए । 'पालुङदेखि अलि तलसम्म मत सोहोर्न सके लवशेर विष्टको पनि राम्रै हुने सम्भावना छ,' नाम नबताउने सर्तमा एक मतदाताले भने, 'नत्र घण्टी तथा कांग्रेस-एमालेबीच प्रतिस्पर्धा हुने छ ।'

मकवानपुरका १०२ मध्ये ६२ वटा वडा यो क्षेत्रमा पर्छन्, त्यसमध्ये हेटौंडा उपमहानगरपालिकाका ४ वटा वडा मात्रै छन् ।

यो क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, ३, ११ र १९, मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, मनहरि गाउँपालिका, राक्सिराङ गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकाका सबै वडा पर्छन् ।

धूलो नउड्ने बाइरोडको बाटो

'ट्याक्सी गुडाउँदै, बाइरोडको बाटोमा धूलो उडाउँदै' लोकगायक हिरण्य भोजपुरे र पाण्डव सुनुवारले गाएको यो गीत नसुन्ने पुरानो पुस्ताका शायदै व्यक्ति होलान् । हामीले पनि बालापनदेखि नै सुनेको गीत हो यो ।

तर, धादिङको नौबीसेदेखिबाट मकवानपुरको भैँसेसम्म झर्दा पनि न बाटोमा धूलो उड्यो, न त ट्याक्सी नै देखियो । बाटो सानो भए पनि लगभग सबै पिच नै थियो । फाट्टफुट्ट मात्र गाडी भेटिए । खाली बाटोका कारण यात्रा अगाडि बढाउन कुनै सास्ती भएन ।

बीचबीचमा दायाँबायाँका बस्ती छिर्दै हामी अगाडि बढ्यौं ।

null

उम्मेदवार नचिन्ने'घण्टीका मतदाता'देखि एमालेलाई नेतृत्वकै कारण चुनौतीसम्म

धादिङ छाडेर मकवानपुर टेकेदेखि नै कैयन व्यक्तिसँग औपचारिक/अनौपचारिक कुराकानी गर्‍यौं । कतिपयलाई उम्मेदवार को-को उठेका छन्, चिन्नुहुन्छ ? भनेर मात्र पनि सोध्यौं । तर, दामन पुगेपछि बल्ल एकजना भेटिए, जसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा उम्मेदवार प्रशान्त उप्रेतीको नाम लिए ।

त्यसभन्दा अघि घण्टी भन्ने जति पनि व्यक्ति थिए, सबैले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको मात्र नाम लिए । कि पुराना दलसँग वाक्क भएर, कि त रवि र बालेनलाई एकपटक हेरौं न त भनेर मात्रै मत दिन लागेको उनीहरूको तर्क हुन्थ्यो ।

अर्को रोचक पक्ष भनेको, एमाले उम्मेदवार महेश बर्तौला, कांग्रेस उम्मेदवार बुद्ध लामा र नेकपा उम्मेदवार लवशेर विष्टको नाम लिने जति सबैले उनीहरूको व्यक्तिगत प्रशंसा नै गरे । पुरानालाई भोट दिन्नौं भन्नेले पनि व्यक्तिगत रूपमा तीनै उम्मेदवार राम्रो रहेको बताए । तर, कि पुराना पार्टीसँग वाक्क भएर, कि त एकपटक नयाँलाई हेरौं न त भनेर मत परिवर्तन गर्न लागेको उनीहरूको तर्क हुन्थ्यो ।

विशेषगरी, एमाले उम्मेदवार महेश बर्तौलाको सवालमा एमाले नेतृत्वप्रतिको वितृष्णा बढी झल्कियो । व्यक्तिगत रूपमा महेश बर्तौलाको प्रसंशा गर्नेहरूले पनि एमाले नेतृत्वका कारण मत दिन नसक्ने बताएका थिए । कांग्रेस र नेकपाको हकमा त्यो स्तरमा नेतृत्वको आलोचना सुनिएन ।

राजनीतिक विश्लेषण र मतको जोडघटाउ अर्को अंकमा

salt training

कमेन्ट गर्नुहोस्