
सशस्त्र प्रहरी बल मोरङका प्रमुख, उपरीक्षक (एसपी) राजेश घिमिरेको हृदयघातका कारण निधन भएको छ। मोरङको विराटचोकमा नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच आयोजित डीआईजी स्तरीय समन्वय बैठकमा सहभागी भइरहेकै बेला उनी अचानक बेहोस भएर ढलेका थिए।
सशस्त्र प्रहरी बल नेपाल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सम्मिलित बैठकमा घिमिरे मोरङ कमान्डरको रूपमा सहभागी थिए।
सशस्त्र प्रहरी बल नं. १ बराह वाहिनी पकलीका डीआईजी कुमार न्यौपानेका अनुसार बैठकका क्रममा शुरूमा केही शारीरिक असहजता महसुस गरे पनि घिमिरेले ‘म ठिक भएँ’ भन्दै पुनः छलफलमा भाग लिएका थिए । तर, साँझपख पुनः अचानक बेहोस भएर ढल्दा उनको जिब्रो समेत काटिएको थियो ।
उनलाई तत्काल अस्पताल पुर्याएर सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भए पनि उपचारकै क्रममा शुक्रबार राति बजे मृत्यु भएको हो । चिकित्सकहरूका अनुसार उच्च रक्तचापका कारण उनलाई हृदयघात भएको देखिएको छ।
एसपी घिमिरेको हालै नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएको थियो। मोरङको कमान्ड सम्हाल्दै आएका उनी आज (शनिबार) मात्रै आफ्नो नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्ने तयारीमा थिए । नयाँ जिम्मेवारी सम्हाल्न जानु अघिल्लो दिन नै कार्यक्षेत्रमा खटिएकै अवस्थामा उनको निधन भएको छ।