२३ असार २०८३, मंगलबार

क्रिकेट हाम्रा लागि खेल मात्रै होइन, पहिचान र स्वाभिमान पनि हो- ओली

माघ २४, २०८२
काठमाडौं
क्रिकेट हाम्रा लागि खेल मात्रै होइन, पहिचान र स्वाभिमान पनि हो- ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकप यात्रामा रहेको नेपाली क्रिकेट टोलीलाई सफलताको शुभकामना दिएका छन् ।

शनिबार अपरान्ह भिडियो सन्देशमार्फत उनले नेपालका लागि क्रिकेट एउटा खेल मात्रै नभएर प्रगतिको पहिचान र स्वाभिमान भएको बताएका हुन् ।

'अहिले मुम्बईमा टी-ट्वान्टी विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु । हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो,' उनले भिडियो सन्देशमा भनेका छन् ।

रोहित पौडेल नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्ने र नेपालको शिर ठाडो बनाउने ओलीले विश्वास व्यक्त गरेका छन् ।

यस्तो छ उनको शुभकामना सन्देश

देश-विदेशमा रहनुभएका सम्पूर्ण क्रिकेट प्रेमी नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,

सबैमा हार्दिक नमस्कार ! म एउटा पूर्वप्रधानमन्त्री अथवा एउटा राजनीतिज्ञको हिसाबले होइन, एउटा क्रिकेट प्रेमी, सर्वसाधारण नेपाली नागरिकको हिसाबले यहाँहरू समक्ष प्रस्तुत भइरहेको छु।

अहिले मुम्बईमा टी-ट्वान्टी विश्वकप खेल्न गएका हाम्रा नेपाली खेलाडीहरूलाई सम्झेर म अलिकति भावुक पनि भएको छु । हाम्रा लागि क्रिकेट एउटा खेल मात्रै होइन, हाम्रो प्रगतिको पहिचान पनि हो र स्वाभिमान पनि हो ।

त्यतिबेला खेलाडीहरूसँग गरेका कुराहरू, उहाँहरूसँग भएका छलफल, अन्तरक्रिया, मेरो मानसपटलमा अहिले पनि घुमिरहेका छन्।​

खेलाडीहरूको मेहनत र पसिनाका लागि हामीले रंगशाला जस्तै अन्य विभिन्न पूर्वाधारहरू निर्माण गरेर नै तिर्नुपर्छ र उहाँहरूलाई सहयोग पुर्याउनुपर्छ भन्ने हाम्रो धारणा रहिआएको छ।

त्यसबेलाका ती छलफलका दौरानमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रिय पारस खड्का र नेपाली क्रिकेटको आवाज बनेका एन्ड्रयु लियोनार्ड लगायतका व्यक्तित्वहरूलाई म सम्झिरहेको छु। उहाँहरूसँग लामो कुरा भएको थियो। उहाँहरूमा जुन उत्साह थियो, उमङ्ग थियो, आशा थियो, विश्वास थियो, त्यो आशा, विश्वास, उमङ्ग मेरो पनि आशा, विश्वास र उमङ्ग थियो। त्यो आत्मविश्वास मेरो पनि थियो। त्यसरी नै आज हामी अगाडि बढिरहेका छौँ।

हामी समृद्ध नेपाल, सुखी नेपाली, आजको हिसाबले भन्ने हो भने एउटा परिकल्पना, वास्तवमा राष्ट्रिय आकांक्षा, यसलाई पूरा गर्ने संकल्प गरिरहेका छौँ। यस संकल्पमा एउटा अभिन्न अंग र एउटा टाढैबाट देखिने कोसेढुंगा क्रिकेट पनि हो र क्रिकेटको सफलता यसको एउटा मापक पनि हो।

खेलाडी भाइबहिनीहरू, मुम्बईको त्यस भव्य क्रिकेट मैदानमा तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंहरूको साथमा मेचीदेखि महाकालीसम्मका र प्रवासमा रहेका समेत नेपालीहरूको साथ छ। हामी तपाईंहरूका साथमा छौँ।

विपक्षी जतिसुकै बलियो होस्, तपाईंहरूले विपक्षीको हिसाब गर्ने होइन। आफूमा कुनै प्रकारको हीनता बोधी ग्रन्थ पलाउन दिने होइन। नेपाली युवाहरूको रगत तपाईंहरूसँग छ। आत्मविश्वास तपाईंहरूसँग छ। तीव्र रफ्तारमा क्रिकेट क्षेत्रमा हामीले गर्दै गरेको प्रगतिको उचाइ चढ्दै गरेको श्रृंखला तपाईंहरूसँग छ। त्यस श्रृंखलाले तपाईंहरू त्यो आत्मविश्वासका साथ विजय हासिल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।

खेलमा हारजित एउटा कुरा हो। हारजित हुन सक्छ। सबै टिमहरूले जित्दैनन्। हारजित आफ्नो ठाउँमा छ। तर हामी जित्ने उद्देश्यका साथ सफलता तर्फ उन्मुख भएर आफ्नो खेल, कला र क्षमता प्रदर्शन गर्नेछौँ।

मैले विश्वास लिएको छु, प्रिय क्याप्टेन रोहित पौडेलको नेतृत्वको नेपाली टिमले यसपल्ट नयाँ कीर्तिमान राख्नेछ र नेपालको शिर ठाडो बनाउनेछ। यसपटकको तपाईंहरूको प्रदर्शनले देखाउनेछ कि क्रिकेट जगतमा नेपाल एउटा उदीयमान नक्षत्र हो, अ राइजिङ स्टार। यस कुरालाई ध्यानमा राखेर तपाईंहरू मैदानमा उत्रिनुहुनेछ र प्रदर्शन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।

धेरै-धेरै शुभकामना छ, धेरै-धेरै धन्यवाद छ। तपाईंहरू सफल हुनुस्, नेपाल सफल होस्।

धन्यवाद!

जय क्रिकेट

salt training

कमेन्ट गर्नुहोस्