
टी–२० विश्वकपको पहिलो खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गरेको छ।
गएराति मुम्बईको वानखेडे स्टेडियममा खेलिएको खेलमा कप्तान सूर्यकुमार यादवले ४९ बलमा अविजित ८४ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई जिताउनुका साथै दिग्गज ब्याट्सम्यान विराट कोहलीको एउटा ठूलो कीर्तिमान पनि तोडेका छन्।
सूर्यकुमार यससँगै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि सबैभन्दा धेरै १७ पटक 'प्लेयर अफ द म्याच' अवार्ड जित्ने खेलाडी बनेका छन्। यसअघि यो रेकर्ड १६ अवार्डसहित विराट कोहलीको नाममा थियो। कप्तानका रूपमा उनले यसै खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा आफ्नो १,००० रन पनि पूरा गरेका छन्।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा अमेरिकी टोली २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रनमा समेटियो।
अमेरिकाको हारमा उसको फितलो फिल्डिङ मुख्य कारक बन्यो । विशेषगरी सूर्यकुमार यादव १५ रनको स्कोरमा हुँदा पाएको जीवनदान अमेरिकाका लागि निकै महँगो साबित भयो।
यस जितसँगै भारतीय टोलीले टी–२० विश्वकपमा लगातार ९ खेल जित्ने कीर्तिमान समेत बनाएको छ ।