लामो समय कानूनको प्राध्यापन गरेका संविधानविद् डा. युवराज संग्रौला झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छन् । संवैधानिक र कानूनी क्षेत्रमा एउटा पहिचान बनाएका संग्रौलालाई ‘हेभिवेट स्वतन्त्र उम्मेदवार’को रूपमा स्थानीयले चित्रण गरेका छन् ।
विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना झापा २ बाटै उम्मेदवार छन् । घिमिरे ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित भएका थिए भने राना रास्वपाबाट समानुपातिक सांसद थिइन् ।
देवराजसँग थोरै मतले पराजित अधिवक्ता स्वागत नेपाल यसपटक राप्रपाबाट उम्मेदवार बनेका छन् । यसअघिको चुनावमा स्वतन्त्र उम्मेदवारले सत्तागठबन्धन भन्दा झण्डै दोब्बर मत ल्याएका कारण झापा २ ले धेरैलाई आश्चर्यमा पारेको थियो ।
त्यही क्षेत्रमा अहिले पूर्वमहान्यायाधिवक्ता समेत रहेका संग्रौला स्वतन्त्र उम्मेदवार छन् । मतदातासँग भेटघाटमा रहेका संग्रौलाले शनिबार झापामा लोकान्तरसँग कुरा गर्दै आफ्नो विचारलाई जनताले पत्याएको बताए ।
‘नेपालको राजनीतिमा बौद्धिक वर्गलाई आकर्षण गर्ने र राजनीतिको परिभाषा बदल्न भनेर स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा छु’, संग्रौलाले लोकान्तरसँग भने ।
थारो अर्थतन्त्रलाई गतिशील बनाउने र रोजगार सिर्जना गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए । ‘म जहाँ जान्छु मतदाताले तपाईंलाई चिनेका छौं, निर्भिक रूपमा बोल्ने मान्छे भनेर भनेका छन्’ पंखा चुनाव चिन्ह पाएका संग्रौलाले भने ।
उनले झापालाई अमेरिकाको सिलिकन भ्याली जस्तै आर्थिक रूपमा चलायमान बनाउन सकिने एजेन्डा मतदातासँग लगेका छन् ।
झापा २ बाट उम्मेदवारी दिएका दलका उम्मेदवार परीक्षण भइसकेकाले मतदाताले यसपटक आफूलाई भोट दिने संग्रौलाको दाबी छ । कानून पढाइ हुने ‘काठमाडौं स्कूल अफ ल’का संस्थापक समेत रहेका संग्रौलाको उम्मेदवारीले झापा २ मा चर्चा थपेको छ ।
‘यो क्षेत्रमा उम्मेदवार रहनु भएका नयाँ दलका उपसभामुख, पुरानो दलका सभामुख हुनुहुन्थ्यो । उहाँहरूले भदौ २४ पछिको अवस्थामा संसद्को बैठक बोलाएर समस्या समाधान गर्ने र देशलाई निकास दिने पहलकदमी लिनबाट चुक्नुभयो’, संग्रौलाले भने, ‘व्यक्तिगत आरोप लगाउँदिन तर, त्यो पदको सम्मान गर्न नसक्ने व्यक्तिलाई झापाका चेतनशील मतदाताले यसपटक छान्दैनन् भन्ने मेरो विश्वास हो ।’
लामो समयसम्म कानूनको प्राध्यापन गरेको तथा संविधान, कानूनको ज्ञाता भएकाले अहिलेको अवस्थामा संसद्मा गएर संविधानको सुधार गर्न भूमिका खेल्ने उनले दाबी गरे ।
‘मेरो उम्मेदवारीको ग्राभिटीका कारण दलका उम्मेदवारले मविरुद्ध विभिन्न प्रचार गरेका छन् । तर यहाँका बौद्धिकहरूको एकछत्र समर्थन मलाई छ’, संग्रौलाले भने ।
झापा २ का मतदाताले किन तपाईंलाई भोट दिने ?
चुनाव धेरै महँगो भएको गुनासो बढिरहेको समयमा खर्चको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
तपाईंको मुख्य प्रतिस्पर्धी को हो ?
यी लगायत प्रश्नको जवाफ हेर्नुहोस् भिडियोमा :