
दक्षिण कोरियामा जन्मदर बढाउने उद्देश्यले ‘भियतनाम वा श्रीलंकाबाट युवा महिला ल्याउने’ सुझाव दिएका एक सरकारी अधिकारीलाई सत्तारूढ दलबाट निष्कासन गरिएको छ ।
दक्षिणी जिंदो काउन्टीका प्रमुख किम ही–सूले गत साता आयोजित एक टाउन हल बैठकमा ग्रामीण क्षेत्रका युवा पुरुषसँग ती महिलाको विवाह गराउन सकिने अभिव्यक्ति दिएका थिए ।
उनको यो अभिव्यक्ति दक्षिण कोरिया विश्वकै न्यून जन्मदरको समस्यासँग जुधिरहेको समयमा आएको हो । अनुमानअनुसार यही अवस्था कायम रह्यो भने करिब पाँच करोड जनसंख्या रहेको दक्षिण कोरियाको जनसंख्या आगामी ६० वर्षमा आधा हुन सक्नेछ ।
टेलिभिजनमार्फत प्रसारण भएको किम ही–सूको उक्त अभिव्यक्तिप्रति तीव्र आलोचना भएको थियो । यसपछि भियतनाम सरकारले कूटनीतिक विरोधसमेत जनाएको थियो ।
केही दिनसम्म देशभर जनआक्रोश बढेपछि अन्ततः किम ही– सूलाई सत्तारूढ डेमोक्रेटिक पार्टीबाट निष्कासन गरिएको हो ।