२२ जेठ २०८३, शुक्रबार

केरा वा खजुर : बिहान खाली पेट के खाँदा बढी फाइदा हुन्छ ?

माघ २८, २०८२
काठमाडौं
केरा वा खजुर : बिहान खाली पेट के खाँदा बढी फाइदा हुन्छ ?

अधिकांश मानिस दिनको सुरुआत चिया वा कफीबाट गर्छन् । तर विज्ञका अनुसार दिनको सुरुआत सही भोजनबाट गरियो भने पाचन प्रक्रिया राम्रो रहन्छ, ऊर्जा स्तर सन्तुलित हुन्छ र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ । 

सामान्यतया बिहानको सुरुआत फलफूलबाट गर्नु उपयुक्त मानिन्छ । तर हरेक फल फरक हुन्छ र खाली पेटमा खाँदा शरीरमा फरक–फरक प्रभाव पार्छ । केरा र खजुर जस्ता प्रायः खाइने दुई फलले पनि फरक पोषण प्रदान गर्छन् ।

रातभरको लामो उपवासपछि पाचन प्रणाली संवेदनशील हुन्छ । त्यसैले बिहान उठ्नेबित्तिकै सजिलै पच्ने, पेटका लागि हल्का र अम्लता नबढाई निरन्तर ऊर्जा दिने खानेकुरा खानु उपयुक्त हुन्छ ।  

केरा  
केरामा पोटासियम, म्याग्नेसियम र प्राकृतिक चिनी प्रशस्त मात्रामा पाइन्छ । यसले ऊर्जाको राम्रो स्रोत बनाउँछ । तर खाली पेट केरा खानु सबैका लागि उपयुक्त नहुन सक्छ ।
फाइदा 

  • तुरुन्त ऊर्जा प्रदान गर्छ ।
  • पोटासियमले मुटु र मांसपेशीको कार्यमा सहयोग गर्छ ।
  • धेरैजसो मानिसलाई सजिलै पच्ने हुन्छ ।

सम्भावित असर 

  • म्याग्नेसियमको सन्तुलन बिग्रन सक्छ ।
  • प्राकृतिक चिनीका कारण अचानक ऊर्जा बढेर फेरि छिट्टै घट्न सक्छ ।
  • संवेदनशील व्यक्तिमा अम्लता वा पेट फुल्ने समस्या हुन सक्छ ।

खाने उत्तम तरिका 
केरालाई ड्राइ फ्रुट्स, बीउ (सीड्स) वा ओट्ससँग मिलाएर खानु राम्रो हुन्छ । बिहान उठ्नेबित्तिकै खानेभन्दा केही समयपछि खानु उपयुक्त मानिन्छ ।

खजुर  
परम्परागत र आयुर्वेदिक विधिअनुसार खजुरलाई खाली पेट खान उपयुक्त फलमध्ये एक मानिन्छ ।

फाइदा 

  • तुरुन्त ऊर्जा दिन्छ ।
  • फाइबर प्रशस्त भएकाले पाचन सुधार गर्छ र कब्जियतबाट जोगाउँछ । पेटका लागि हल्का हुन्छ र अम्लता हुने सम्भावना कम हुन्छ ।
  • आन्द्राको स्वास्थ्य सुधार गरी मेटाबोलिज्म बढाउन मद्दत गर्छ ।
  • आइरन र एन्टिअक्सिडेन्ट पाइने भएकाले बिहान थकान वा ऊर्जा कमी महसुस गर्नेका लागि लाभदायक हुन्छ ।

खाने उत्तम तरिका 
विज्ञका अनुसार २–३ वटा खजुर रातभर पानीमा भिजाएर बिहान खानु उपयुक्त हुन्छ । यसले पाचन सुधार्नुका साथै पोषक तत्वको अवशोषण राम्रो हुन सक्छ ।

के खाने त ?
अधिकांश मानिसका लागि खाली पेट खजुर खानु स्वस्थ विकल्प हुन सक्छ । यसले पाचनमा सहयोग पुर्‍याउँछ र लामो समयसम्म ऊर्जा दिन्छ । केरा पनि पौष्टिक भए तापनि पाचनसम्बन्धी समस्या नआओस् भनेर यसलाई पछि वा अन्य खानेकुरासँग मिसाएर खानु राम्रो हुन्छ ।

मधुमेहका बिरामीले भने फलफूलको मात्रा नियन्त्रित गर्नुपर्छ । अम्लता वा पेट फुल्ने समस्या हुने व्यक्तिलाई केराबन्दा खजुर सजिलै पच्न सक्छ ।

केरा र खजुर दुवै स्वास्थ्यका लागि लाभदायक फल हुन् । तर सही समय र संयोजनमा खानु महत्त्वपूर्ण हुन्छ । खाली पेटमा खजुर सामान्यतया बढी लाभदायक मानिन्छ भने केरा बिहान सन्तुलित भोजनको हिस्सा बनाएर खानु उपयुक्त हुन्छ ।

डिस्क्लेमर :यो सामग्री सामान्य जानकारीका लागि मात्र हो । कुनै पनि स्वास्थ्य समस्या वा आहारमा परिवर्तन गर्नु अघि चिकित्सक वा डायटिसियनसँग परामर्श लिनुहोस् ।
 

salt training

कमेन्ट गर्नुहोस्