
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा इरानसँगको वार्ता जारी राख्नुपर्नेमा जोड दिएको बताएका छन् । यद्यपि, उनले आणविक सम्झौता भएन भने आफूले इरानविरुद्ध कारबाही गर्न सक्ने चेतावनी दिएका हुन् ।
मध्यपूर्वमा बढ्दो तनाव र इरानको आणविक हतियार कार्यक्रमलाई सीमित गर्न वार्ता तीव्र पारिएको बेला बुधबार ह्वाइट हाउसमा दुई नेताबीच भेटवार्ता भएको थियो ।
नेतान्याहूले ट्रम्पलाई इरानको युरेनियम संवर्धनलाई मात्र नभई ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रम, हमास र हिजबुल्लाह जस्ता समूहले इरानलाई गरेको समर्थन पनि रोक्ने सम्झौतातर्फ अघि बढ्न दबाब दिने अपेक्षा गरिएको थियो ।
इरानले प्रतिबन्ध राहतको बदलामा आफ्नो आणविक कार्यक्रम सीमित गर्न इच्छुक रहेको संकेत गरेको छ । तर अन्य मागलाई अस्वीकार गरेको छ ।
ह्वाइट हाउसको बैठकअघि इरानी राष्ट्रपति मसूद पेजेश्कियानले आफ्नो देश अत्यधिक मागसामु नझुक्ने चेतावनी दिए ।
यसैबीच, नेतान्याहूको कार्यालयले दुई नेताहरूले इजरायलको सुरक्षा आवश्यकताबारे छलफल गरेको र निकट समन्वय र संलग्नता जारी राख्न सहमत भएको बताएको छ ।