३२ असार २०८३, बिहीबार
सुशासनका लागि चुनाव

मतको मूल्य बुझौँ र सही निर्णय गरौं

फागुन १, २०८२
काठमाडौं
मतको मूल्य बुझौँ र सही निर्णय गरौं

सुशासनको मुख्य माग राखी गत भदौमा जेनजीले आन्दोलन गरे। शासन प्रणाली प्रभावकारी नभएको भन्दै नवयुवाले गरेको आन्दोलनमा दुई दिनमै अप्रत्याशित जनधनको क्षति भयो। असल नियतको आन्दोलनमा घुसपैठ भएको र आगजनी, लुटपाट तथा ठूलो मानवीय क्षतिले देशकै प्रतिष्ठामा दाग लागेको छ।

विश्वमै शासन प्रणाली प्रभावकारी बनाई उन्नत जीवन जिउन जनदबाब दिने काम भई नै रहने गर्दछ। शासन प्रणाली राम्रो बनाउन जनहितमा केन्द्रित भई राष्ट्रको प्रतिष्ठा बढाउने महत्त्वपूर्ण कार्य गर्नु पर्ने हुन्छ। जनअवसरहरूको बढोत्तरी, इमानदारितासहितको सक्रियता, कर्तव्यबोध एवं पहुँचको आधारमा सुशासनको शुभारम्भ हुन्छ। जनताले नै बनाएको शासन प्रणालीले जनप्रिय तथा लोकप्रिय गन्तव्य तय गर्ने हुँदा जनआधारबाट सुशासनको मार्ग प्रशस्त गर्न सकिन्छ। भोको पेटले लोकतन्त्र दिगो हुँदैन, सक्रियताबिना गन्तव्य पुगिँदैन, जनगुनासो सम्बोधन नभई सन्तुष्टि र सुशासनको कार्यदिशा स्पष्ट हुँदैन। त्यसैले जनता जनार्दनको सामूहिक निर्णयले मात्र शासकीय प्रणालीको मार्ग तय गर्न सक्ने हुँदा चुनाव जनहितका लागि महत्त्वपूर्ण छ।

शासकीय क्रियाकलापको पारदर्शिता, जिम्मेवारीप्रतिको जवाफदेहिता, कानुनी शासनको बलियो आधारमा समता र न्यायिक प्रत्याभूति, सामाजिक न्यायका लागि पहुँच र सहभागिताको कार्यशैली, शान्ति अमनचयन संकटको प्रतिवाद गर्ने शक्ति, मानव अधिकारको प्रत्याभूति, क्रियाशील नागरिक कर्तव्य, वैश्विक सम्बन्धबाट प्रतिष्ठाको बढोत्तरी, आधारभूत आवश्यकता प्राप्तिको राज्यको संवेदनशील सम्बोधन प्रतिबद्धताजस्ता विषय अहिलेका नागरिक केन्द्रित सुशासनका आधार हुन्।

यी आधारहरूको क्रियाशील विश्वसनीय व्यवहारका लागि जनताको भरोसा हुने एवं विश्वास जित्न समयावधिमा चुनाव हुने लोकतन्त्रको अभ्यास छ। अहिले आन्दोलनले समयावधि नपुग्दै चुनाव गर्न लागिएको छ। आन्दोलनको अन्तर्य बुझी जनगुनासो, अपेक्षा र आवश्यकताको सम्बोधन गर्न जनता जनार्दनले सचेत मन र मस्तिष्कबाट निर्णयात्मक जनमतद्वारा सुशासनको मार्गदिशा तय गर्न सक्रिय हुनु पर्ने अवसर आएको छ। अर्कोतिर आन्दोलनको आवरणमा घुसपैठ र अपराधीकरणको स्वार्थ शक्तिको पहिचान र न्यायिक कठघरामा ल्याउने दबाब पनि त्यत्तिकै छ।

विश्वले अवलम्बन गरेको लोकतान्त्रिक अभ्यासको सफलतालाई हामीले आत्मसात् गरी सुशासनयुक्त शासन प्रणाली बनाउने कर्ममा दलीय राजनीतिलाई हिँडाउन जनताको ध्यान केन्द्रित हुनुपर्छ। प्रविधिले वैश्वीकरणलाई साँघुरो बनाएको अवस्था, विद्युतीय शासनको सहजता, सञ्चार क्षेत्रमा भएको प्रगति, कार्यकुशलताबाट भएको उत्पादन, बहुक्षेत्रीय आर्थिक अवसर, यातायातको सहज पहुँच एवं प्रतिस्पर्धाको बजार व्यवस्था सुशासनका लागि विश्वव्यापी अवसर हुन्। यी अवसरको पूर्ण सदुपयोग गर्न शासन प्रणालीको नेतृत्व र जनलाभ दिन सक्ने आधारका लागि जनजागरुकता जरुरी छ। जनजागरुकताको मुख्य क्रियाकलाप आम चुनाव भएकाले सचेत भई चुनावी अधिकार प्रयोग गर्न र सुशासन ल्याउन बेलैमा होसियार हुनु पर्नेछ।

सुशासनको कुरा गर्दा रामराज्य हुनु पर्ने अर्थात् सबै खुसी भएको र गुनासो नभएको शासन व्यवस्थाको सोच देखिन्छ। बुद्धका पञ्चशील सिद्धान्तले दया, माया, करुणा, असल आचरण, सत्यको पक्षपोषण, अहिंसा एवं सात्त्विक भोजनजस्ता असल चारित्रिक व्यवहारबाट सुखी र समुन्नत जीवन हुने धारणाले सुशासनलाई पृष्ठपोषण गर्दछ। धार्मिक दर्शनशास्त्र र बौद्धिक मन्थनले सुशासन र समुन्नत जीवनको कार्यदिशा तय गर्न तथ्य र तर्कसहित जोड दिएका छन्। सुशासन ल्याउन जनताले सचेत मनले सक्रियता देखाउनु पर्ने बेला आएको छ। यस्तै तर्क र तथ्यका आधारमा आगामी चुनावमा सुखद मानव जीवनका लागि असल प्रयत्न गर्ने सोच र धारणा भएका क्रियाशील दल र प्रतिनिधि छान्न जनताको सही निर्णयको अपेक्षा राज्यले गरेको छ।

विकल्पहरूको बिस्कुनमा सही विकल्पलाई छान्नु जनताको लोकतान्त्रिक अवसर हो। चुनावलाई क्षणिक मजाको रूपमा लिइनु हुँदैन, भविष्यको गन्तव्य तय गर्ने आधारका रूपमा बुझ्नु पर्छ।

राज्य आफैँमा जनसङ्ख्या, प्रकृति र भूगोलको चित्रमा हुन्छ भने प्रकृतिकै स्वरूपबाट स्थापित मानव जीवनले आफ्नो जीवन समुन्नत गराउन लोकतान्त्रिक अवसरहरूको उपयोग सही तरिकाले गर्न जनता जागरूक हुनु पर्ने हुन्छ। आम चुनावको उपयोग गरी लोकतान्त्रिक पूर्वाधार बलियो बनाउनु एवं समुन्नत जीवनको कार्यदिशा तय गर्नु आजको आवश्यकता हो। चुनावअघिका दल तथा प्रतिनिधिका क्रियाकलापको सही र सत्य मूल्याङ्कन गरी आफ्नो भविष्य उज्ज्वल हुने आधार तय गरिनुपर्छ। अवसरलाई बुझिएन, प्रलोभनमा परियो, सही निर्णय गर्न सकिएन, चुनावलाई हल्का रूपमा लिइयो, बहकाउमा लागियो भने आफ्नो भविष्यसँगको खेलबाड आफैँबाट हुने अवस्था आउँछ। विगतका घटनाहरूबाट यस्तै भएको र पछि पछुताउनु परेको, पटक-पटक आन्दोलन गर्नु परेको, गालीगलौज, आक्रोश एवं उग्र भएका घटनाहरू धेरै भएका छन्।

आम चुनावलाई हाँसीमजाकका रूपमा नबुझौँ, आफैँले आफ्नो हितका लागि सुखद जीवनको पूर्वाधार बनाउने समयका रूपमा लिऔँ। आफ्नो सुखद भविष्यको तालाचाबी आफैँसँग भएको मनन गरौँ। समयको महत्त्व नबुझे वा सचेत नभए वैयक्तिक अवसरहरू गुम्ने छन्। शान्ति र अमनचयनमा अवरोध हुन सक्ने अवस्था आउन सक्छ। अनियमितता र अपराधले समाज ग्रसित हुन सक्छ। आर्थिक रूपान्तरणमा अवरोध भई विपन्नताको दिशामा जान सकिने अवस्था आउन सक्छ। मानव अधिकार, शान्ति सुरक्षा र वैश्विक सम्बन्धमा अप्ठ्यारो पर्न सक्छ। मानिस अवसर र पहुँचबाट वञ्चित भई प्रबुद्ध वर्गको छायामा पर्न सक्ने अवस्था आउन सक्छ। शासकीय क्रियाकलाप लोकप्रिय र जनप्रेमी नहुँदा निराशा र विद्रोहको भावना जागृत हुन सक्छ।

अन्योल, अत्याचार, अपराध, हिंसाजस्ता विषयहरूको बढोत्तरीले मानव समाज प्रभावित हुन सक्छ। यी जल्दाबल्दा विषयमा समयमा सचेत भइएन भने हामीले नै हाम्रो भविष्य अन्योल बनाउन सक्छौँ। जनताको जोडबलबाट मुलुक बनाउने अवसर आएको छ। दल र दलको नेतृत्वलाई कसी लगाउने बेला पनि आम चुनाव हो। जनताले स्वच्छ रूपमा मतदान गरी भोलिको शान्त र समृद्ध देश बनाउनु छ। आफ्नो देशमा भएको अवसर नदेखी विदेशिनु पर्ने र थ्री-डीका कामहरू गरी ज्यान जोखिममा मोल्नु पर्ने पीडाको निकास दिनु पर्ने छ। भ्रष्ट शासन प्रणालीको न्यूनीकरण गर्ने र दण्डहीनता हुन नदिन बलियो कानुनी शासन बनाउनु छ। यी कर्म तथा कार्यका लागि जनताको जनमतबाट दिशा निर्देश गरी नेपाली र नेपाललाई समृद्ध बनाई विश्वमा चिनाउनु छ।

भदौको आन्दोलनको मुख्य एजेन्डा सुशासनको क्रियाकलापमा जोडिने हुँदा राजनीतिक दल र उम्मेदवारहरू उक्त एजेन्डा सम्बोधन गर्ने कार्यदिशासहित अघि बढ्नु पर्ने हुन्छ। हामीले विगतमा भोगेका नमिठा घटनाहरूको न्यूनीकरण, मानव मूल्य मान्यताको प्रोत्साहन, आर्थिक सक्रियता र वैश्विक अवसरको हिस्सेदार हुने, कानुनी राज्यको प्रत्याभूति एवं राज्य संयन्त्रमा सबैको पहुँच, सामाजिक न्याय भएको शासन प्रणाली, जनताप्रतिको जिम्मेवारी र जवाफदेहितालगायत उन्नत जीवन जिउने मार्गचित्रसहित जनतामाझ जानुको विकल्प छैन।

विकल्पहरूको बिस्कुनमा सही विकल्पलाई छान्नु जनताको लोकतान्त्रिक अवसर हो। चुनावलाई क्षणिक मजाको रूपमा लिइनु हुँदैन, भविष्यको गन्तव्य तय गर्ने आधारका रूपमा बुझ्नु पर्छ। राज्यको प्रतिष्ठाको बढोत्तरी गर्न हामीमाझ रहेका विकृति र विसङ्गतिप्रति ज-जसको गैरजिम्मेवारी वा अवरोध भए त्यसको अन्त्यका लागि जनता कठोर हुनैपर्छ। जनतालाई लोकप्रिय शासन चाहिएको छ। लोकको शासन विधिको शासन बनाउने हामी जनताले नै हो। लोकतन्त्रको असल अभियान, असल शासनका लागि मतदाता सही मतदानमा अग्रसर हुने अभियानमा जनता लाग्नै पर्छ। सही निर्णय गरी सम्भाव्य गन्तव्यमा पुग्न हामी सबै आम चुनावमा लागौँ र आन्दोलनको विस्फोटको व्यवस्थापन गर्न राज्यलाई सक्षम बनाऔँ।

salt training

कमेन्ट गर्नुहोस्