०८ साउन २०८३, शुक्रबार

झापा ५ का मतदाताको सन्देश- ओलीसँग होइन, घेराबन्दी गर्नेसँग असन्तुष्टि छ

फागुन २, २०८२
झापा
झापा ५ का मतदाताको सन्देश- ओलीसँग होइन, घेराबन्दी गर्नेसँग असन्तुष्टि छ

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ यतिबेला मुलुककै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ । चार पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई अहिले चर्चाको केन्द्रमा राखेको छ ।

बाहिरी रूपमा जति यो निर्वाचन दलहरूबीचको लडाइँ जस्तो देखिएको छ, भित्री रूपमा भने एमालेभित्रको एउटा ठूलो ‘सिन्डिकेट’विरुद्धको विद्रोहका रूपमा विकसित भइरहेको छ । 

रोचक कुरा त के छ भने, झापा ५ का मतदाता केपी शर्मा ओलीसँग रिसाएका छैनन्, बरु उनलाई घेराबन्दी गरेर बस्ने कार्की र थापा परिवारको ‘जञ्जाल’बाट आजित भएका छन् ।  

यसपटकको चुनावमा ओलीको चुनौती विपक्षी उम्मेदवार मात्र होइनन्, बरु उनकै वरिपरि बस्ने ती केही नेताहरू हुन् जसले जनता र अध्यक्ष ओलीबीच ‘फलामे पर्खाल’ खडा गरेका छन् ।

विगतका चुनावमा ओली देशका विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्न व्यस्त हुन्थे । उनी आफ्नो निर्वाचन क्षेत्रमा बिरलै मात्र देखा पर्थे ।  धेरैजसो समय होटलमा बसेरै चुनावी अभियानको कमान्ड सम्हाल्ने ओली यसपटक भने बदलिएका छन् । उनी अहिले झापाका टोल–टोलमा पुगिरहेका छन्, मतदाताको घरदैलोमा उभिएका छन् र आमनागरिकका कुरा सुनिरहेका छन् । 

ओलीको यो सक्रियताले के स्पष्ट पार्छ भने, उनले आफ्नो गढभित्रको जोखिमलाई राम्ररी बुझेका छन् ।  झापा ५ एमालेको सबैभन्दा बलियो संगठन भएको क्षेत्र हो । एमालेको पछिल्लो महाधिवेशनबाट यसै क्षेत्रका मात्रै १४ जना नेताहरू केन्द्रीय कमिटी र अनुशासन आयोगमा निर्वाचित भएका छन् । 

एउटा मात्र निर्वाचन क्षेत्रबाट केन्द्रीय तहमा यति ठूलो प्रतिनिधित्व हुनु आफैंमा  ‘ऐतिहासिक उपलब्धि’ हो ।  तर, यही उपलब्धि नै अहिले एमालेका लागि गलपासो बनेको छ । ती १४ जना नेतामध्ये पाँच जना त केवल दुईवटा परिवारका मात्रै सदस्य छन् । अध्यक्ष ओली र सचिव हिक्मत कार्कीसहित दुई जना पदाधिकारी यही क्षेत्रका हुन् ।

यो क्षेत्रको राजनीतिलाई अहिले मुख्यमन्त्री हिक्मत कार्की र थापा दाजुभाइको (होमबहादुर थापा र उनका भाइ गोविन्द थापा ) परिवारले आफ्नो मुठ्ठीमा राखेको कार्यकर्ताहरूको गुनासो छ । हिक्मत कार्की एमालेका सचिव र कोशी प्रदेशका मुख्यमन्त्री हुन् । 

उनका दाजु दीपक कार्की केन्द्रीय सदस्य छन् भने दीपककी पत्नी एवं हिक्मतकी भाउजू लीला कट्टेल कार्की अनुशासन आयोगको सदस्य छन् ।  यसरी एकै परिवारका तीन जना सदस्यले पार्टीको उच्च तह ओगटेका छन् ।  

यता, थापा परिवारको अवस्था पनि उस्तै छ । कोशी प्रदेशसभा सदस्य रहेका होमबहादुर थापा र उनका भाइ गोविन्द थापा दुवै केन्द्रीय सदस्य छन् । अझ रोचक पक्ष त के छ भने, दमकका पूर्वमेयर रोमनाथ ओली, केपी ओलीका नातेदार पनि हुन्, उनी र थापा परिवारबीच पनि गहिरो पारिवारिक सम्बन्ध छ । रोमनाथ थापा परिवारका ज्वाइँ हुन् ।  कार्की, थापा र रोमनाथ ओलीको यो त्रिकोणात्मक पारिवारिक जालोले झापा ५ को राजनीतिलाई ‘हाइज्याक’ गरेको स्थानीयको आरोप छ ।

मतदाताहरू भन्छन्, ‘हामीलाई केपी ओली मन पर्छ, उनको काम मन पर्छ, तर उनलाई भेट्न कार्की र थापा परिवारको अनुमति लिनुपर्ने अवस्थाले हामीलाई रुष्ट बनाएको छ ।’ 

केही दिन अगाडि  एमालेका एक केन्द्रीय सदस्य झापा ५ को चुनावी अभियानमा सघाउन पुगेका थिए । उनले घरदैलोमा जाँदा अनौठा कुरा सुने  । ती केन्द्रीय सदस्यले एक टोलका स्थानीयले भनेको कुरा उद्धदृत गर्दै भने ‘ओली र हाम्रो सिधा पहुँच हुन कार्की र थापाहरूले रोकेका छन । उनीहरू आफूलाई ठेकेदार र सरदार सम्झिन्छन्, हामीलाई त पहुँच नै दिँदैनन् ।’

त्यो कुरा उनले अध्यक्ष ओलीलाई सुनाएर गुनासो गर्नेका घरमा नै लिएर गएका थिए ।  ती मतदाताका कुरा सुनेपछि ओलीले केही काम परेमा अब देवेन्द्र दाहाललाई सम्पर्क गर्नू भनेर भनेका थिए । ती केन्द्रीय सदस्यले ओलीले भनेको कुरा सुनाउदै भने, ‘अबदेखि केही काम परे कार्कीलाई फोन नगर्नु, देवेन्द्र दाहाललाई फोन गर्नू ।’ 

ओलीले कार्कीको विकल्पमा दाहाललाई अघि सारेपछि स्थानीय कार्यकर्ताहरूले ‘दोस्रो विकल्प’ भेटिएको भन्दै खुसी व्यक्त गरेका थिए ।  ओलीको चुनावी कमान्डर भने देवेन्द्र दाहाल नै छन् ।

झापा ५ का स्थानीय मतदाता र पुराना कार्यकर्ताहरू पनि कार्की र थापाको व्यवहारले गर्दा एमालेको साख गिर्न लागेको बताउँछन् ।  गौराहदका यमलाल दाहाल (गोकुल)को बुझाइमा केपी ओलीले यस क्षेत्रमा धेरै विकासका काम गरेका छन्, । तर, ओलीले आफूलाई कार्की र थापाको ‘जञ्जाल’बाट मुक्त गराउन नसके यसपटक उनलाई संकट पर्न सक्ने गोकुलको तर्क छ ।

गौरादहकै मदन बरालले ओलीभन्दा पनि स्थानीय नेताहरूसँगको असन्तुष्टिका कारण एमाले कमजोर रहेको बताए । ओलीको नाम लिएर पटक-पटक पदमा पुगेकाले यो क्षेत्र बिगारेको उनी बताउँछन् । 

चुनावी कमान्डर दाहाल पनि केही स्थानीय समस्या रहेको र प्रदेश सरकारप्रति बढी असन्तुष्टि रहेको स्वीकार गर्छन् ।  दाहाल भन्छन्, ‘अघिल्लो पटक अध्यक्ष र जनताबीच संवादको कमी थियो, अहिले अध्यक्ष आफैं टोलमा गएपछि मतदाता उत्साहित छन् । कतिपय गुनासाहरूलाई अध्यक्षले सम्बोधन गरिसक्नुभएको छ ।’

यस क्षेत्रका अन्य केन्द्रीय सदस्यहरूको प्रोफाइल हेर्दा पनि एउटै घेराका मान्छेहरू मात्रै शक्तिशाली भएको देखिन्छ । ओलीका लामो समय स्वकीय सचिव रहेका इन्द्रप्रसाद भण्डारी, दमककी पूर्वउपमेयर गीता अधिकारी र निर्मला पाठक शिवाकोटी पनि केन्द्रीय सदस्य छन् । 

गीता अधिकारीलाई दमकमा मेयर हारेपछि ओलीले योजना आयोगको सदस्य बनाएका थिए । गौराहदकी सुनिता बराल, जलवर्षा राजवंशी र मेनुका काफ्ले पनि यही क्षेत्रका हुन् ।  यीमध्ये अधिकांश नेताहरू ओलीको नजिकको घेराभित्रका मानिन्छन्  । 

केन्द्रीय सदस्य अग्नि खरेलको अवस्था भने फरक छ । लामो समय ओलीकै समूहमा रहेका उनलाई ओलीले सचिवमा उम्मेदवार नबनाएपछि उनले विद्रोह गरेर ईश्वर पोखरेल समूहबाट चुनाव लडेका थिए । सचिवमा पराजित भए पनि उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

यतिबेला कोशीका मुख्यमन्त्री कार्की भने अध्यक्ष ओलीको ‘डिजिटल इन्स्ट्रक्सन’ पालना गर्नमै व्यस्त छन् ।  ओलीले गत माघ २ गते सामाजिक सञ्जालमा दैनिक १० वटा स्टाटस लेख्न र विपक्षीसँग लड्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार कार्कीले अहिले फेसबुकमा उम्मेदवारका फोटोसहित दैनिक दर्जनौं स्टाटस लेख्ने गरेका छन् । 

तर, भर्चुअल संसारमा जति सक्रिय भए पनि धरातलमा भने कार्की र थापा परिवारले खडा गरेको ‘पहुँचको पर्खाल’ नै ओलीका लागि ठूलो टाउको दुखाइ बनेको झापाका एमालेका नेताहरू बताउँछन् ।

झापा ५ का मतदाताले केपी ओलीलाई होइन, बरु ओलीलाई ‘हाइज्याक’ गर्ने ती परिवारहरूलाई ठेगान लगाउन यसपटक आफ्नो मतलाई हतियार बनाउन सक्ने संकेत दिएका छन् । फागुन २१ को चुनावमा कस्तो नतिजा आउला भन्ने ओलीको रणनीतिमा पनि भर पर्ने देखिन्छ । 

salt training

कमेन्ट गर्नुहोस्