०५ साउन २०८३, मंगलबार
चुनावी ग्राउन्ड जिरो- पोखरा

पोखराका पाको पुस्ताको दोधार : न पुरानाप्रति पूर्णसन्तुष्टि, न त नयाँको विश्वास !

पोखराका पाको पुस्ताको दोधार : न पुरानाप्रति पूर्णसन्तुष्टि, न त नयाँको विश्वास !

देशभर नयाँ कि पुरानो भनेर कित्ताकाट भइरहँदा पर्यटकीय राजधानी पोखराको पाको पुस्ता भने दोधारमा छ। पाको पुस्ता न पुराना दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत) सँग पूर्ण सन्तुष्ट हुन सकेको छ, न त नयाँ भनिएका (राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल, श्रम संस्कृति लगायत) दलप्रति विश्वस्त नै।

पुराना दलको नेतृत्व पंक्तिले देश बिगारेको गुनासोसँगै यो पुस्ताले नयाँ भनिएका दलहरूलाई पनि शंकाको नजरले हेरिरहेको छ।

पोखरा बजारमा भेटिएका ६७ वर्षीय उमापति शर्माले ‘कतै देश नै भँड्खालोमा त जाँदैन?’ भनेर चिन्ता व्यक्त गरे। ‘बाहिर रास्वपा भनेर हाइहुइ त गर्‍या छन्, तर मलाई त्यति भिजन भएजस्तो लागेन,’ शर्माले भने, ‘यिनका भिजन के हुन्, कस्तो शासन गर्न खोजेका हुन्, केही थाहा भएन। कतै देश नै भँड्खालोमा जाने त होइन भन्ने चिन्ता छ।’

उनले यसपटक कास्कीका तीनवटै क्षेत्रमा त्रिकोणात्मक (कांग्रेस, एमाले र रास्वपा) प्रतिस्पर्धा हुने विश्लेषण सुनाए।

पोखरा महानगरपालिका वडा नम्बर १७ का रामबहादुर अधिकारी विगतमा एमालेका मतदाता रहेछन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्डले कांग्रेसलाई पनि सखाप पारेको विश्लेषण गरे। ‘केपीको घमण्डले एमाले मात्र होइन, कांग्रेसलाई पनि चोट पर्यो,’ अधिकारीले भने।

null

नयाँ भनिएका दलप्रति पनि उनको खासै चासो छैन। रास्वपा उम्मेदवारबारे सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘खोइ को उठ्या छन् कुन्नि, मलाई थाहा छैन।’

पोखराको चिप्लेढुंगा बुद्धमार्गका रामबहादुर पौडेलले कांग्रेसको पुरानो नेतृत्वलाई खराब तत्वको संज्ञा दिए। ‘कांग्रेस बल्ल नयाँ भएर आएको छ, खराब तत्व सबै पाखा लागे,’ पौडेलले लोकान्तरसँग भने।

null

पोखरा महानगरपालिका वडा नम्बर ३१ भंगेरीकी ६० वर्षीया महिला पोखरा बजारमा पसल राखेर बसेकी छन्। उनले आफूले कांग्रेसलाई मत दिने बताइन्। ‘मेरो बुढोले कांग्रेस छाड्नुहुन्न, म नि त्यतै त हो नि अब...।’

पोखरा महानगरपालिका १६ चण्डिका टोलका चेतबहादुर खड्काले एमालेको पुरानो नेतृत्वसँग आक्रोश पोखे। एकपटक नयाँलाई हेर्ने कि भन्ने भाव आए पनि उनलाई नयाँ उम्मेदवार र उनका एजेन्डाबारे केही थाहा छैन।

null

‘पहिला यो कम्युनिस्टको गढ हो। तर, एमालेमा नेतृत्व गर्ने मान्छे ठीक भएन। त्यत्रा बच्चा मारे,’ खड्काले भने, ‘सबैलाई हेरियो, एकपटक नयाँलाई हेर्ने कि भन्ने त छ, तर उम्मेदवार को उठेको छ थाहा छैन।’

१६ नम्बर वडाकै बाटुलेचौरका जीतबहादुर खड्काले आफ्नो गाउँ एमालेको गढ भए पनि पहिलेजस्तो मत नआउने विश्लेषण गरे। नयाँ भनिएको रास्वपाका उम्मेदवार पनि त्यति राम्रो नभएको उनको बुझाइ छ।

null

‘यो ठाउँ पहिला त एमालेको गढ हो। अहिले चहलपहल खासै छैन। एमालेबाट रश्मि अधिकारी उठ्या छन्। रास्वपाका उम्मेदवार त्यति राम्रा छैनन्। पहिला त एमालेलाई नै भोट दिएको हो। अब के गरिन्छ, थाहा छैन,’ खड्काले लोकान्तरसँग भने।

नजिकै रास्वपाको सम्पर्क कार्यालय पनि रहेछ। त्यहाँ भेटिएका संगम चोकका दुर्गा खवासले बाहिर देख्दा रास्वपाको पक्षमा माहोल राम्रो रहेको जिकिर गरे। ‘हामीले सुन्दा र जान्दा त माहोल राम्रो छ,’ उनले भने।

null

पोखरा १६ लामाचौरका ९५ वर्षीय चित्रबहादुर थापाले राष्ट्रप्रमुख राजा र रास्वपाको प्रधानमन्त्री हुनुपर्ने मत राखे। ‘हाम्रो इच्छा घण्टी प्रधानमन्त्री र राष्ट्रपति राजा हुनुपर्‍यो,’ थापाले भने।

पोखरा ८ सिमलचौरका नरबहादुर थापाले आफू एमाले भए पनि केपी ओलीलाई नमान्ने बताए। ‘पार्टी सबै राम्रा हुन्, व्यक्ति नराम्रो भएर बिग्रिएको हो। हामी एमाले हौं, तर केपीलाई मान्दैनौं। त्यसले गर्दा देश बिग्रियो,’ थापाले भने।

null

पोखरा महानगरपालिका वडा नम्बर ३ का लीलाधर शर्मा पौडेलले चुनावप्रति नै वितृष्णा पोखे।

‘सबैको नाटक मात्र हो। गएर केही गर्ने होइन। बहुमत कसैले ल्याउँदैन। खिचडी सरकार आउँछ। सबैले मिलीजुली खान्छन्,’ अस्थिर सरकारप्रति उनको वितृष्णा पोखियो।

६७ वर्षीय पौडेलको वडा कास्की क्षेत्र नं ३ मा पर्छ। संविधान सभाको पहिलो निर्वाचनबाहेक लगातार एमालेले जीत हात पारेको यस क्षेत्रमा एमालेबाट दामोदर वैरागी मैदानमा छन्।

साथै, नेपाली कांग्रेसबाट मनोज गुरुङ उम्मेदवार छन्। रास्वपाले यस क्षेत्रबाट विना गुरुङलाई उठाएको छ। नेपाल कम्युनिस्ट पार्टीबाट गोपाल गिरी मैदानमा छन्।

उनलाई यसपटक चुनावी मैदानमा को–को उम्मेदवार उत्रिएका छन् भन्ने थाहा छैन। उनका अनुसार बजार क्षेत्रमा रास्वपाको माहोल देखिँदैन।

null

‘यसैले जित्छ भनेर भन्न सकिन्न। तर, मेरो अन्दाजमा कांग्रेसले जित्छ। घन्टीको माहोल छैन बजारमा,’ उनले भने।

२०७९ सालको निर्वाचनमा यस क्षेत्रबाट एमालेका वैरागी २२ हजार ९८० मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी रामजीप्रसाद बरालले १७ हजार ५३५ ल्याएका थिए।

तेस्रो स्थानमा रहेका रास्वपाका योगराज पौडेलले १२ हजार १८० मत ल्याएका थिए। गत निर्वाचनमा यस क्षेत्रबाट रास्वपाले समानुपातिकतर्फ १४ हजार १४३ मत पाएको थियो। एमालेले १९ हजार ३४६ र कांग्रेसले १५ हजार ८३१ मत पाएका थिए।

पोखरा १६ बाटुलेचौर मैदानमा भेटिएकी गंगा गौतमले मत हाल्ने उमेर भएदेखि एमालेलाई मत दिएकी छिन्। यो क्षेत्र कास्की २ मा पर्छ। उनलाई यो पटकको निर्वाचनमा खासै चासो छैन।

null

चुनावी माहोल बनिनसकेको उनको अनुभव छ। पहिलाजस्तो वडाका पार्टी कार्यालयमा पनि मान्छेको भीड देखेकी छैनन् उनले। माहोल भने घण्टीले बनाइरहेको उनले सुनाइन्।

हाल मत परिवर्तनको मनस्थिति बनाएकी उनले एमाले राम्रो पार्टी भए पनि नेतृत्व गलत भएको बताइन्।

मैदानबाट १०–१५ मिनेटको दूरीमा पर्छ, हरिपाउ। यो पनि १६ नं. वडाकै क्षेत्र हो। चौतारीमा भेटिएका नारायण्रसाद आचार्यले रास्वपाको माहोल राम्रो रहेको बताए।

null

उनले आफ्नो ठाउँमा एमाले उम्मेदवार आउँदा युवाहरूले प्रश्न गरेर पठाएको बताए। ‘केटाहरूले प्रश्न उठाए, अनि समस्या हुन्छ भनेर (उम्मेदवार) उठेर गए। गाउँमा घन्टीकै माहोल छ। घन्टीका केटाहरूले थर्काएका छन्,’ आचार्यले भने।

उनले भने निर्वाचनमा उठेका कांग्रेस र एमालेका उम्मेदवारलाई नियालिरहेका छन्। रास्वपाबाट उम्मेदवार को छ भन्ने उनलाई थाहा छैन।

‘केपीको एकोहोरो अहंले त्यत्रा मान्छे मरे। सरकारमा उही छ नि! मैले होइन भन्न नैतिकताले मिल्छ?’ उनले भने, ‘एकलौटी शासन भयो। अब नयाँ पुस्तालाई चान्स दिने भन्ने पनि छ।’

कतै नयाँ पुस्ताप्रति मतदाताले आश गरिरहँदा पोखरा १ विन्दावासिनीका कृष्ण गिरी भने कुनै पनि दलप्रति आशावादी छैनन्। नागरिकले आशा गरिरहेका नयाँ दलप्रति उनी आलोचनात्मक सुनिए। ‘हामीसँग वाचा गरेका काम केही गर्दैनन्। पुरानाले त गरेनन्, नयाँले पनि गर्दैनन्। नयाँ आउँछन्, भिजन केही छैन। यो देश यस्तो तालले बन्दैन,’ गिरीले भने।

null

पोखरा १ सिंहनाथटोलमा भेटिएका माछापुच्छ्रे ४ का लेखनाथ पौडेलले रास्वपाप्रति आशंका व्यक्त गरे। ‘मान्छे देख्या छैन, गुण थाहा छैन। तीतेपाती हो कि करेला हो, वनमारा हो कि रूख हो, केही थाहा छैन,’ पौडेलले भने।

अहिले देशमा बाह्य हस्तक्षेप रहेको भन्दै उनले सचेत हुनुपर्ने बताए। पौडेलले मत हाल्ने वडा कास्की क्षेत्र नम्बर ३ मा पर्छ।

पोखरा ११ फूलबारी जनताचोककी दुर्गा श्रेष्ठले आफ्नो क्षेत्रमा एमाले धेरै रहेको बताइन्। अघिल्लोपटक घण्टीमा मत दिएको बताउने उनले यसपटक कुनै निर्णय गरिसकेकी छैनन्।

null

पोखरा ११ मा भेटिएका विष्णुप्रसाद आचार्यलाई यसपटक मत दिन मन छैन। मतपत्रमा 'नो भोट' को विकल्प नरहेकोमा उनको गुनासो छ। उनले 'नो भोट' चाहनुको कारण अस्थिर सरकार हो। तैपनि उनी उम्मेदवार हेरिरहेका छन्। रास्वपाप्रति उनको खासै आकर्षण देखिँदैन।

‘भोट दिनुपर्‍यो दिनलाई त, अहिलेको स्थितिमा कुनैले पनि बहुमत ल्याउने छैनन्। मत व्यक्ति हेरेर राम्रोलाई दिने। धर्मसंकटमा छौं। यहाँ विज्ञ पनि छन्,’ विष्णुप्रसादले भने।

उनले उल्लेख गरेका विज्ञ हुन्, कास्की क्षेत्र २ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङ।

सँगै रहेका हरि बरालले आफूहरू कांग्रेस भए पनि छिमेकी (उज्यालो पार्टीका उम्मेदवार) लाई मत दिने कि कांग्रेसलाई भनेर दोधारमा रहेको बताए।

उनले पुराना नेताबाट आजित भएर युवाहरूले मत परिवर्तन गर्ने भनिरहेको बताए। बराल आफू भने उम्मेदवार हेरेर मत दिने मनस्थितिमा छन्।

पोखरा महानगरपालिका कास्कीका ३ वटै क्षेत्रमा बाँडिएको छ। अलि ठूलो भूभाग चाहिँ क्षेत्र नम्बर २ मा पर्छ। क्षेत्र नम्बर १ मा पोखराका १०, १२, १३ र १४ नम्बर वडा तथा रुपा र मादी गाउँपालिका पर्छन्।

null

यसैगरी क्षेत्र नम्बर २ मा पोखराका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ समेटिँदा क्षेत्र नम्बर ३ मा पोखराका वडा नम्बर १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ तथा अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिका पर्छन्।

कास्की १ मा एमालेबाट मनबहादुर क्षेत्री अधिकारी, कांग्रेसबाट तिलकबहादुर रानाभाट, नेकपाबाट राजकाजी गुरुङ, रास्वपाबाट खडकराज पौडेलसहित १६ दलीय र १ स्वतन्त्र उम्मेदवार मैदानमा छन्।

क्षेत्र नम्बर २ मा एमालेबाट रश्मि आचार्य, कांग्रेसबाट माधवप्रसाद बास्तोला, नेकपाबाट हेमबहादुर थापा पराजुली, रास्वपाबाट उत्तमप्रसाद पौडेलसहित १२ दलीय र ५ स्वतन्त्र उम्मेदवार मैदानमा छन्।

यसैगरी, कास्की ३ बाट एमालेका दामोदर पौडेल वैरागी, कांग्रेसका मनोज गुरुङ, नेकपाका गोपाल गिरी, रास्वपाका बिना गुरुङ लगायत १५ दलका उम्मेदवार मैदानमा छन्।

salt training

कमेन्ट गर्नुहोस्