०४ साउन २०८३, सोमबार
गृहको निर्णय

अब उम्मेदवारले ‘सनरुफ’ गाडी प्रयोग गर्न नपाउने

फागुन ७, २०८२
काठमाडौं
अब उम्मेदवारले ‘सनरुफ’ गाडी प्रयोग गर्न नपाउने

अब कुनै पनि उम्मेदवारले ‘सनरूफ’ गाडी (छतबाट टाउको निकाल्न मिल्ने) प्रयोग गर्न नपाउने भएका छन् ।

बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमान्ड पोस्ट, जिल्ला सुरक्षा समितिका प्रमुखहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

उम्मेदवारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ‘सनरूफ’ गाडी प्रयोग गर्न नदिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता, सहसचिव आनन्द काफ्लेले लोकान्तरलाई जानकारी दिए ।

चुनावी प्रचारका क्रममा विभिन्न दलका उम्मेदवारले यस्ता गाडी प्रयोग गर्दै आएका थिए । 

उनीहरूले गाडीको छतबाट टाउको निकालेर हात हल्लाउने, मतदातासँग हात मिलाउने लगायतका गतिविधि गर्ने गरेका थिए । 

यसले उम्मेदवारको सुरक्षा जोखिम बढाउने गृहको चिन्ता छ । 

बैठकमा केन्द्रीय सुरक्षा समिति र केन्द्रीय कमान्ड पोस्टका अधिकारीहरू भौतिक रूपमा उपस्थित थिएन भने जिल्ला सुरक्षा समितिका प्रमुख (प्रमुख जिल्ला अधिकारी) भर्चुअल जोडिएका थिए ।

बैठकले निर्वाचन सुरक्षाका लागि अहिलेसम्म भएका कामको समीक्षा गरेको छ । निर्वाचनका लागि माहोल उचित रहेकाले उच्च मनोबलसहित काम गर्न सम्बन्धित सबै सुरक्षा अधिकारीलाई बैठकले निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी, जिल्ला सुरक्षा समितिको बैठक दैनिक रूपमा बस्ने, आवश्यक रणनीति बनाउने र निर्वाचनका लागि अधिकतम सुरक्षाको  प्रत्याभूति गराउने काम गर्न निर्देशन दिइएको छ ।

निर्वाचनमा हुने दण्डहीनता (मतदातालाई अवरोध गर्ने, बुथ कब्जा गर्ने लगायत)का गतिविधि हुन नदिन उच्च सतर्कतासहित परिचालन हुने पनि बैठकले निर्देशन दिएको प्रवक्ता काफ्लेले बताए । 

salt training

कमेन्ट गर्नुहोस्