
अभिनेता रणवीर सिंहलाई हालै लरेन्स बिश्नोई गिरोहबाट आएको धम्कीको विषयमा प्रहरी सतर्क बनेको छ ।
यस प्रकरणमा दैनिक नयाँ–नयाँ अपडेट सार्वजनिक भइरहेका छन् । पछिल्लो जानकारीअनुसार बिश्नोई गिरोहसँग सम्बन्धित ह्यारी बक्सरले ह्वाट्सएपमार्फत् भ्वाइस नोट पठाउँदै रणवीर सिंहसँग १० करोड रूपैयाँ माग गरेका थिए । उनले प्रयोग गरेको नम्बर अमेरिकी रहेको पनि खुलेको छ ।
अभिनेतालाई यो धम्की निर्देशक रोहित शेट्टीको घरमा भएको फायरिङ घटनापछि तुरुन्तै पठाइएको थियो । मुम्बई क्राइम ब्रान्चको अनुसन्धानले भ्वाइस नोटमा ह्यारी बक्सरकै आवाज रहेको पुष्टि गरेको छ ।
उक्त सन्देश अमेरिकी नम्बरबाट पठाइएको हुँदा प्रहरीले अमेरिकी निकायसँग सम्पर्क गरिरहेको जनाएको छ ।
अनुसन्धानका क्रममा भ्वाइस नोट विदेशबाट भीपीएन प्रयोग गरेर पठाइएको पाइएको छ । यस प्रकरणमा अहिलेसम्म कुनै एफआईआर दर्ता गरिएको छैन, तर प्रारम्भिक अनुसन्धान शुरू भइसकेको छ । क्राइम ब्रान्चले रणवीर सिंहका म्यानेजरको बयानसमेत लिइसकेको छ ।
सन्देश प्राप्त हुनासाथ रणवीर सिंहले तुरुन्तै मुम्बबई प्रहरीलाई जानकारी गराएका थिए । घटनाको गम्भीरता मध्यनजर गर्दै प्रहरीले उनको घर बाहिर सुरक्षा व्यवस्था कडा बनाएको छ ।
निवासमा अतिरिक्त प्रहरी खटाइएसँगै अभिनेताको सुरक्षा थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।