
२०७२ वैशाख १२ गतेको दिन, मध्याह्नको समय । बारपाकको जमिन जोडले हल्लियो, मानौं पिङमा चढेको बच्चा बेस्सरी मच्चिँदैछ । स्थानीय पुरबहादुर घलेकी ७८ वर्षीया आमा घरभित्रै थिइन् । ढुंगामाटोले बनेको घर क्षणभरमा भग्नावशेषमा परिणत भयो ।
घरबाहिर रहेकाले परिवारका अन्य सदस्य बाँचे । पुरबहादुरले आमालाई बचाउन सकेनन् । एक्कासि गाउँका सबै घर सोत्तर हुँदा बारपाकले भूकम्प गएको त थाहा पायो । तर, त्यति बेलासम्म उनीहरूलाई थाहा थिएन, मध्य नेपालमा हजारौंको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पको केन्द्रविन्दु आफ्नै घरमुनिको जमिन हो ।
पुरबहादुरकी आमा मात्र होइन, गाउँका ७२ जनाले ज्यान गुमाए । बारपाकमा अहिले बनेको भूकम्प स्मृति पार्कमा मृतकहरूको नामसहितको लिस्ट राखिएको छ ।
आफ्नी आमासहित ६ जनाको नाम छुटेको पुरबहादुर बताउँछन् ।

‘त्यहाँ हाम्रो आमासहित ६ जनाको नाम छैन, गाउँमा समग्रमा ७२ जनाको मृत्यु भएको हो’, घलेले लोकान्तरसँग भने ।
त्यो विनाशकारी दिन बितेको झण्डै ११ वर्ष हुन लागेको छ । बारपाक त्यो त्रासदी भुलेर जुरुक्कै उठिसकेको छ । गाउँमा आकर्षक डिजाइनसहितका कंक्रिट महल ठडिएका छन् । तपाईं कुनै घर अगाडि उभिएर नियाल्नुहुन्छ भने, काठमाडौंभन्दा कुनै फरक अनुभूति हुँदैन ।

पुरबहादुरले भने टिनको घर बनाएका छन् । ‘पैसा हुनेले पक्की घर बनाए । नहुनेले टिनको घर बनाएका छन् । म पनि टिनको घरमा बसिरहेको छु,’ पुरबहादुरले थपे ।

स्थानीय टेकराज घलेले बारपाकमै पक्की घर बनाएका छन् ।
घरमा सटर राखेर किराना पसल पनि थापेका छन् । भूकम्पले टेकराजको घर पनि छाडेन । टेकराज १० वर्ष मलेसिया बसे । त्यही कमाइले बारपाकमा पक्की घर ठड्याएका हुन् ।
हामीले बारपाकजस्तो उच्च पहाडी भूगोलमा घर ठड्याउँदाको खर्चबारे जिज्ञासा राख्यौं, तर टेकराजले यकिन बताउन सकेनन् ।
‘एकैपटक पैसा जम्मा गरेर बनाएको भए पो यति लाग्यो भन्नु, पैसा जम्मा गर्दै, घर थप्दै गएको हो । यति नै लाग्यो भन्न सक्ने अवस्था छैन,’ टेकराजले भने ।

उनले घर बनाउन गोरखा नगरपालिकाको छेबेटार बजारबाट सिमेन्ट र छड ल्याए । तत्कालीन मूल्यअनुसार बजारमा किनेको सामान गाडीमा ढुवानी गर्दा एक खेपको १० हजार भाडा पर्थ्यो ।
‘अहिले त सिमेन्ट सस्तिएको छ, मैले बनाउँदा बोराकै ८/९ सय थियो,’ टेकराजले भने, ‘छेबेटार बजारमा किनेको सामान गाडी खोजेर यहाँसम्म ल्याएको हो । एक खेपको भाडा १० हजार तिर्थें ।’
उनले गिटी घरमै ढुंगा जम्मा पारेर कुटे । बालुवा दरौँदी खोलाको किनारबाट ल्याए । ‘बालुवा दरौंदीबाट ल्याएको हो । ट्याक्टरमा ल्याउँदा यहाँ आधा आइपुग्थ्यो, एक टिपको १० हजार तिरेँ,’ उनले भने, ‘अहिले त सिधै टिप्परले ल्याउँछ । एक टिपको २६ हजारसम्ममा ल्याउने गरेको थाहा पाएको छु ।’

‘अनि कामदार कहाँबाट ल्याउनुभयो ? सिधै ठेक्का दिनुभएको कि ज्यालामा काम लगाउनुभयो ?’
जवाफमा टेकराजले भने– ‘काम यहीँका मान्छेले गरेका हुन् । एक/दुई जना बाहिरबाट आएका पनि थिए । दैनिक ८०० रुपैयाँका दरले ज्यालादारीमा काम लगाएको हो । हामी आफैँ पनि खट्यौं ।’
उच्च भूभाग भएकाले बारपाकमा सिँचाइ छैन । धान फल्दैन । स्थानीयले कोदो, मकै, जौ र आलु लगाउने गरेका छन् । धान नफले पनि हरेक घरमा भात नै पाक्छ । त्यसका लागि बोराका बोरा चामल छेबेटारबाट ओसार्ने गरिएको छ । टेकराज घलेले आफ्नो पसलमा पनि चामल बिक्रीका लागि राखेका छन् ।

‘३० किलो सोना मन्सुली चामलको बोरालाई १५०० पर्छ । २५ किलो जिरा मन्सुलीको १९ सय,’ टेकराजले भने, ‘धान नफले पनि खाने भातै हो ।’
कोदोसहित अन्न पनि बिक्रीभन्दा आफैँलाई ठिक्क हुने गरेको उनले सुनाए ।
सम्मुखमा बुद्ध हिमाल अनि पारिलो पाखो, यहाँको पानी अमृतसरह छ । तर, मानिसहरू पानीभन्दा कोक, पेप्सी, स्प्राइटमा रमाउँछन् । हामी पुग्दा बारपाक बजारमै केही महिलाहरू गिटी बोकिरहेका थिए । उनीहरूको साथमा स्प्राइटको बोत्तल थियो । ‘पानी पो हो कि ?’ नजिक गएर नियाल्यौं, स्प्राइट नै रहेछ ।

गाउँमा पक्की घर ठडिने मुख्य स्रोत विदेशमा पुगेर कमाएको पैसा रहेछ । ‘यहाँको कमाइको मुख्य स्रोत के हो ?’ हाम्रो प्रश्नको जवाफमा टेकराजले भने, ‘धेरैले त विदेशमा कमाएको पैसाबाटै बनाएका हुन् । बारपाकका मान्छे नपुगेको देशै छैन ।’
‘गाउँमा युवा नै छैनन् त ?’ टेकराजले भने, ‘छन्, किन नहुनु ? यहाँ हुनेको तास खेलेर, रक्सी खाएर दिन बितेको छ । जिन्दगी चलेकै छ ।’
हामी पुग्दा बारपाकको मुख्य चोकमा सडक ढलान गर्ने काम हुँदै थियो । ‘यो सडक डिभिजन गोरखाको बजेटले ढलान भइरहेको हो,’ सडकका सुपरभाइजर राजेन्द्रकुमार गुरुङले भने ।

भूकम्पको केन्द्रबिन्दू भएकाले पछिल्लो समय बारपाक पुग्ने घरेलु पर्यटकको संख्या बढेको छ । ‘शुक्रबार र शनिबार त यहाँ गाडी राख्ने ठाउँ नै हुँदैन,’ गुरुङले भने ।

प्राय: पर्यटक बारपाक पुगेर उही दिन फर्किने गरेका छन् । बस्न चाहनेका लागि सामान्य होटल र होमस्टेको व्यवस्था छ ।
बारपाकमा गुरुङ र मगर समुदायको बसोबास छ ।